परिश्रमको फल : सात किलोको बन्दा काउली, एक किलोको गाजर
मनाङ । हिमाली जिल्ला मनाङको परिचय पछिल्लो समय फेरिन थालेको छ । पर्यटन र पशुपालनमात्र नभइ अहिले तरकारी खेतीतर्फ समेत स्थानीय बासिन्दा आकर्षित हुन थालेका छन् । विगतमा फापर, जौ, आलु, गहुँमात्र उत्पादन हुने ठाउँमा स्थानीय किसानको मेहनत र परिश्रमका कारण अहिले तरकारीसमेत मनग्य फल्ने गरेको छ ।
मनाङ ङिस्याङ्ग गाउँपालिका वडा नम्बर ५, भ्राकाको मस्र्याङ्दी नदी किनारमा फलेका बन्दा, गोलभेडा र गाजर हेर्दा जो कोहीको मन लोभिन्छ ।
सोही वडा अध्यक्ष तथा पर्यटन व्यवसायी कर्म छिरिङ गुरुङको बारीमा लगाएको बन्दा काउली एउटै करिब ५ देखि ७ केजीसम्म र गाजर पनि एउटै करिब १ केजी बराबरको फलेको छ ।
रातोपाटीसँग कुरा गर्दै वडा अध्यक्ष गुरुङले भने, ‘मैले आफूलाई पुग्नेमात्र होइन, केही बेच्नेगरी तरकारी लगाएको थिएँ, तर सडकले गर्दा बजार पु-याउन सकिएन ।’
आफ्नो बारीमा पूर्ण रुपमा अर्गानिक तरकारी उत्पादन भएको बताउँदै उनले अघिल्लो पुस्ताले तरकरीको नाममा आलुमात्र रोप्ने गरेकामा अहिले मनाङका धेरै स्थानमा विभिन्न तरकारी खेती हुने गरेको बताए ।
समुन्द्री सतहबाट ३ हजार ४ सय ८० मिटरमा उचाईमा रहेको भ्राकामा फलफूलको रुपमा स्याउ फल्ने गरेको छ । माथिल्लो मनाङबाट लमजुङ बेशीशहरसम्म पुग्न करिब १० घण्टा सवारी साधनबाट यात्रा गर्नु पर्दछ । त्यसैले पनि उत्पादन भएका तरकारी र स्याउ बजारसम्म लगेर बिक्री गर्न समस्या हुने गरेको उनको भनाइ छ ।
व्यावसायिक स्याउ खेती
मनाङ ङिस्याङ्ग गाउँपालिका वडा नम्बर १ मा एग्रो मनाङ प्रालिले व्यवसायिक रुपमा स्याउ खेती गरेको छ । करिब ७ सय ५० रोपनी बराबरको क्षेत्रफलमा इटालियन जातका स्याउ रोपिएको कम्पनीका प्रबन्ध निर्देशक समराज गुरुङले बताए । नेपाललाई आत्मनिर्भर बनाउँदै हिमालमा फलेको अर्गानिक स्याउ खुवाउने उद्देश्यका साथ खेती गरिएको उनको भनाइ छ ।
स्याउको सुकुटी, जुस, भोड्कालगायत उत्पादन भइरहेको र निकट भविष्यमै बजारमा लाने लक्ष्य लिएको गुरुङले बताए ।
ताचैंको होमस्टे पर्यटकको मन जित्दै
जिल्लाको नासों गाउँपालिका वडा नम्बर ८ मा रहेको ताचै होमस्टे (घरबास) ले स्वदेशी र बिदेशी पर्यटकहरुको मन जित्न थालेको छ ।
बेशीशहर—चामे सडक खण्डको एक्लेभट्टी भन्ने स्थानबाट करिब ४० मिनेटको पैदल दूरीमा उक्त होमस्टे पुग्न सकिन्छ । गुरुङ र घले समुदायको बाक्लो बस्ती रहेको ताचैमा हाल २६ घरमा होमस्टे संचालन भईरहेको ताचै होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याद घलेले बताए ।
पर्यटकीय जिल्ला भएकाले पनि मनाङमा बाह्य तथा स्वदेशी पाहुनाहरुको बाक्लो उपस्थिति हुने गरेकाले गुरुङ समुदायको रितीरिवाज र परम्पराअनुसार स्वागत सत्कार र बिदाई गरिने घलेको भनाइ छ ।
एक तथ्यांकअनुसार एक वर्ष करिव २९ हजार विदेशी मनाङ पुगेका थिए । हजारौं संख्यामा नेपालीसमेत उक्त जिल्लामा भ्रमण गर्न जाने थालेका छन् ।
समृद्धिको यात्रामा मनाङ
तिलिचो ताल, थोरङला पास, आईस लेक, अन्नपूर्ण पदमार्गको यात्रा गर्न विदेशीमात्रै नभएर स्वदेशी पर्यटकसमेत उल्लेखनीय रुपमा जाने गरेका छन् । जिल्ला जाने पर्यटकको रोजाईमा पर्ने फापर, आलु र स्याउमा मनाङ आत्मनिर्भर हुन धेरै समय लाग्दैन । हुम्दे विमानस्थलमा नियमित उडान हुने हो भने पर्यटकको चाप अझै बढ्ने अध्यक्ष तथा पर्यटन व्यवसायी कर्म छिरिङ गुरुङको भनाइ छ ।
वि.स २०६९ सालमा जिल्लाको सदरमुकाम चामेमा सडक पुगेपछि मनाङमा विकासको गति तिव्र भएको छ । कृषि, पशुपालन, पर्यटनलाई एकै साथ अघि बढाउने कार्यमा सरकार, स्थानीय तह र सर्वसाधारणबीच सहकार्य हुन सके मनाङ समृद्ध हुन समय लाग्दैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति समूहकी संस्थापक सुनिता दनुवारको हृदयघातबाट मृत्यु
-
लामिछानेसहितका प्रतिवादीका अदालतमा बयान सुरु हुँदै
-
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा पाकिस्तानको ‘ह्वाइट वास’
-
नयाँ दिल्लीमा स्वास्थ्य परीक्षण गराएर परराष्ट्रमन्त्री राणा आज स्वदेश फर्कँदै
-
रौतहटमा १ वर्षमा मानव अधिकार उल्लंघनका ५६५ घटना
-
चुरियामाई सुरुङ जीर्णोद्धारपछि सर्वसाधारणका लागि आज खुल्दै