शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा

शनिबार, ०९ कात्तिक २०७६, १६ : १६
शनिबार, ०९ कात्तिक २०७६

चितवन । चितवनको भरतपुर महानगरपालिकालाई ‘सहयोगापेक्षी सडक मानवमुक्त’ महानगर घोषणा गरिएको छ । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले घोषणापत्र वाचन गरी नेपालकै पहिलो ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् । 

मानव सेवा आश्रमको सहयोगमा महानगर, स्थानीय प्रशासन लगायत विभिन्न संघसंस्थाले संयुक्त रुपमा शनिबार भरतपुरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषणा गरेका हुन् । 

 कार्यक्रममा प्रतिवद्धता जाहेर गर्दै महानगर प्रमुख रेनु दाहालले घोषणासँगै यसलाई निरन्तरता दिनु चुनौतीपूर्ण रहेको बताइन् । उनले यसलाई सार्थक बनाउन सबैको साथ र सहकार्यको आवश्यकता रहेको बताइन् । 
उनले चितवनमा सडकमानवको समस्या पहिचानका लागि स्क्रिनिङ सेन्टर निर्माण गर्ने समेत बताइन् । 

उनले हाललाई सडकमा भेटिएका सहयोगापेक्षीलाई मानव सेवा आश्रममा राख्ने र मानव सेवा आश्रमको घर भाडा महानगरले तिरिदिने बताइन् । उनले मानव सेवा आश्रमलाई महानगरले सवारी साधन दिने समेत बताइन् ।
घोषणापूर्व नारायणगढको क्याम्पाचौरबाट शोभायात्रा निकालिएको थियो । शोभायात्रा बजार परिक्रमा गरी महानगर परिसरमा आएर कार्यक्रममा परिणत भएको हो । कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरुले प्रतिवद्धता मन्तब्य राखेका छन् । शोभायात्रामा सयौंको संख्यामा सहभागीहरु रहेका थिए । 

सरकारी कार्यालय, संघसंस्था अस्पताल सबैले आ–आफनो व्यानरमा सहभागिता जनाएका थिए । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७ गतेदेखि बेलुका ८ देखि ११ बजेसम्म महानगरका विभिन्न क्षेत्रका सडकपेटी एवम् सार्वजनिक स्थलहरुमा उद्धार एवम् परामर्श सेवा शुरू गरिएको थियो । 

यस क्रममा अहिलेसम्म ३०० जनालाई उद्धार गरिएको महानगरले जनाएको छ । उद्धार गरिएकामध्ये वास्तविक संरक्षण दिने खालका जम्मा १० जना भेटिएको र अन्य घर ठेगाना नखुलेका काम गर्न सक्ने रहेको अभियान सञ्चालन गर्दै आएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप