केन्द्रीय संस्करण

दीपैदीपको महापर्व तिहार !

person explore access_timeकात्तिक ९, २०७६ chat_bubble_outline0

  बडादशैँको बिदाइलगत्तै नेपालीका घरआगनमा तिहारको रमझम छाउन थालेको छ । ‘पर्व’ धर्तीका सबैथरी प्राणीको उत्सव र प्रेरणाको मार्गदर्शन हो । यसले चराचर प्राणीहरूकै अस्तित्व, गरिमा र उपयोगिताको बोध गराउँछ । ‘तिहार’ तिथि र बारबाट निर्माण भएको तद्भव शब्द हो ।

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने चाड वा महोत्सव नै लोकजीवनमा तिहारको नामले परिचित छ । यसलाई अर्को शब्दमा यमपञ्चक, दीपावली, आलोकमय चाड वा देउसी र भैलोको साङ्गीतिक महफिलयाम भनेर जान्दछौँ । जसमा काग, कुकुर, गाई, गोरु र भाइ तिहार मनाइन्छ । मूलतः धनधान्य र ऐश्वर्यकी देवी लक्ष्मीको आराधना, अर्चना तथा पूजा पनि यो बेलाको मूल पक्ष हो । त्यसैले त मातृशक्तिकी प्रतीक महालक्ष्मीलाई घरघरमा गाईको गोबरले तुलसी मठदेखि हामीहरूको ढुकुटी र पूजास्थलसम्म आह्वान गरी साक्षात् लक्ष्मीका पाइला बनाएर प्रवेशमार्ग निर्माण गरिन्छ । 

 ‘तमसोमा ज्योतिर्गमय’ अर्थात् अँध्यारोबाट उज्यालोतिर भन्ने देव वाणी आत्मसात् गर्दै औँसीको कालिमालाई चुनौती दिन घरघरमा दीपावली, दीपमाला, दीपमालिका गरी उज्यालो पर्वको उत्सव भरेर समाजलाई सरसफाइ, आस्तिकता, सहभावका ऊर्जा प्रदान गर्ने यो पावन पर्वको विशेष महत्त्व छ । हाम्रा देवपूजन र पितृपूजनमा सबभन्दा पहिले दीप प्रज्ज्वलन गर्नू भन्ने शास्त्रीय मान्यता छ । वास्तवमा उज्ज्यालोमै हाम्रा सम्पूर्ण इन्द्रियहरू कर्मपथमा क्रियाशील हुन सक्छन् ।

त्यसैले त हाम्रा आचार्यहरूले बत्तीमा कुन कुन तत्व निवास गर्छन् भनी दिग्दर्शन कति घतलाग्दो ढङ्गले गराएका छन् ‘प्रदोषे दीपकश्चन्द्रः, प्रभाते दीपको रविः । त्रैलोक्येदीपको धर्मः, सुपुत्र : कुलदीपकः ।।’ अथौत्– रातको समयको बत्ती चन्द्रमा हो भने बिहानीको दीप सूर्य हो । तीनै लोक (स्वर्ग, मत्र्य र पाताल) का दीपक धर्म हो भने कुल वा वंशको बत्ती सुपुत्र हुन् । यसरी बत्तीको विविध स्वरूपलाई औँल्याउ‘दै सूर्य, चन्द्र, धर्म र असल सन्तानको बिम्ब बनाएर मनीषिहरूले यसको घतिलो रहस्यसमेत खुला पारेका छन् । यमपञ्चकको पहिलो दिन यमदूतको सबल सञ्चार– प्रतिनिधि कागको पूजा गरिन्छ ।

हाम्रो नीतिमा विद्यार्थीका पाँच लक्षणमध्ये ‘काकचेष्टा’ वा कागको जस्तो चलाखीपनलाई महत्त्वपूर्ण गुणले हेरिएको छ । त्यसैगरी हाम्रो परम्परामा ‘काक न्याय’ भनेर समदृष्टिको सङ्केत गरिएको छ । वास्तवमा काग हामीलाई आइपर्ने प्राकृतिक विपद्देखि शुभ– अशुभ सन्देश सुनाउने भरपर्दो प्राणी हो भन्ने परम्परा छ । घरमा आएर कहिलेकाहीँ एक्कासि कराएर यसले साङ्केतिक भाषामा केही न केही एकछिनपछि सुनिने समाचारको जानाकारी दिन्छ । त्यसैले ऊ कराउ‘दा हामी ‘शुभ बोल शुभ बोल’ भनेर अनुरोध गर्दछौँ । कागले एकातिर अन्नबालीको सुरक्षा गर्न विभिन्न बिसादि कीराहरूको संहार गरेर उपकार गर्छ भने अर्कातिर विभिन्न खालका तत्काल घट्न सक्ने प्राकृतिक प्रकोपहरूको पनि बुझिने गरी सूचना प्रवाह गर्छ ।

आफ्नो वर्गमा अत्यन्त मधुर प्रेम गर्ने काग जातिको एकता मान्छेका लागि अनुकरणीय छ, अनि कुनै खानेकुरा पाउँदा साथीहरूलाई समेत खबर गरेर मात्र खान्छ पनि बरु मीठो कुरा पाउँदा कतिपय मानिस लुकेर नबाँडी खान्छन् । त्यसैले रामायणका एक पात्र काकभुशुण्डी आपूm मान्छे हुनुभन्दा कागै बन्न रुचाएको रोचक प्रसङ्ग पनि छ । यही कागतिहारको दिन आयुर्वेद चिकित्सा विज्ञानका प्रणेता धन्वन्तरी जो समुद्रमन्थनबाट उत्पन्न चौध रत्नहरूमध्ये एक भएको हुँदा उनको जन्मजयन्ती मनाउने प्रचलन छ । आयुर्वेदलाई पाचौँ वेद पनि भन्छन् । आयुर्वेद चिकित्सा शास्त्रका रोगविज्ञ पण्डित धन्वन्तरीलाई कसैले सूर्य शिष्य भनेर व्याख्या गरेका छन् भने कसैले विक्रमादित्यका नवरत्नमध्ये प्रमुख रत्न भनी टिप्पणी गरेका छन् । वास्तवमा ‘धन्वन्तरी’ भनेको शल्य चिकित्सामा पारङ्गत प्रतिभा भन्ने जनाउँछ । समुद्र मन्थनका क्रममा यिनी अमृत तत्त्व लिएर देवदानव समुदायमा देखा परेका महान् पात्र हुन् । 

 तिहारको दोस्रो दिन कुकुर तिहार जसलाई ‘नरक चतुर्दशी’ पनि भनिन्छ । मिथकीय भाषामा भन्नुपर्दा भगवान् श्रीकृष्णले कामरूपको राजा नरकासुरलाई संहार गरेको दिन भएकैले यो दिनलाई ‘नर्के नुहाउने’ भन्ने चलन चलेको हो । कुकुर यमराजको ढोकामा रहने पक्का पाले हो र भैरवको वाहन पनि ।

त्यसैले त ‘श्वान– निद्रा’ विद्यार्थीको लक्षण हुनुपर्छ भनिएको छ । कुकुरमा सुँघ्ने शक्ति अपूर्व हुन्छ । त्यसै भएर आजभोलि अपराधी पत्ता लगाउन, विस्फोटक पदार्थहरू खोज्न, डाका समात्न र विशिष्ट व्यक्तिहरू सम्मिलित हुने कार्यक्रममा यसको भरपुर उपयोग गरिएको छ । हाम्रा गाउँघरतिर स्याल, बाँदर, काक्राचोर, कुखुराचोर लखेट्न यसले ठूलो मद्दत पुर्याएको छ । घर, आगन, रछ्यान र कतिपय स्थानमा वातावरणीय सरसफाइ गर्न सहयोग गर्ने यो गुणकारी पशु हो । यसै भएर यो दिन यिनीहरूलाई नुहाईधुवाई गरिदिएर पूजा गरी माला लगाई रोटी, भात र अन्य परिकार दिने चलन छ ।

 तिहारको तेस्रो दिन ऐश्वर्य र श्री सम्पत्तिकी देवी लक्ष्मीको पूजा हुन्छ । पहिला कुवेर र इन्द्रको पूजा गरेपछि षोडषोपचारले महालक्ष्मीको पूजा गर्ने विधान छ । यो दिनलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मीको सम्मान गर्दै यी स्तवनमार्फत प्रार्थनाका वचन बोल्नु हाम्रा लागि श्रेयस्कर हुन्छ । जस्तै ‘‘विश्वरुपस्य भार्याऽसि, पद्मे पद्मालये शुभः । महालक्ष्मी नमस्तुभ्यं सुखरात्रं कुरुष्व मे ।। वर्षा काले महाधारे, यन्मया दुष्कृतं कृतम् । सुखरात्र प्रभावेण, तन्मेऽलक्ष्मीव्र्यपोहतु ।। आदि स्तवनले लक्ष्मीलाई दण्डवत् प्रणाम गर्नु अनिवार्य छ । स्वर्गका राजा इन्द्रले महालक्ष्मीको आराधना यसरी गरेका थिए– ‘नमस्तेऽस्तु महामाये, श्रीपीठे सुर पूजिते । शङ्खचक्र गदा हस्ते महालक्ष्मी नमस्तु ते ।। नमस्ते गरुडारुढे, कोलासुर भयङ्करी । सर्व पाप हरे देवी, महालक्ष्मी नमोस्तु ते ।। यस दिन लक्ष्मीलाई आमन्त्रणा गर्न र घरभित्र प्रवेश गराउन लक्ष्मीको पाइला बनाएर घरलाई लिपपोत गर्ने चलन छ । मानसिक र शारीरिक निर्मलता नभएको ठाउँमा लक्ष्मी नबस्ने हुँदा यो पावन दिन उपवास बस्ने र कतै पनि कैलोमैलो नराख्ने यत्न मानिसहरू गर्दछन् । किनकि धनधान्यकी महादेवी लक्ष्मीलाई कसिङ्गर भएको अशुद्ध ठाउँ मन पर्दैन ।

यही दिन व्यापक रूपमा घरका चोटाकोठा, कौसी, बरण्डामा दीपका लहर मिलाएर प्रज्ज्वलित गरिन्छ । धूप दीपको बास्ना शङ्खघण्ट र डमरुका तुमुल नाद अनि सङ्गीतात्मक भजन कीर्तनले लक्ष्मीलाई प्रसन्न पारिन्छ । सेल रोटी, पुरी, स्वारी, पेडा, बर्फी र अन्य परिकारका मिष्ठान्नहरूको सुवासले बस्ती बस्ती स्वर्गझैँ आभाष हुन्छ । भैलिनीहरू यही दिन राजा बलिको सम्झना गर्दै ‘भैलो’ खेल्छन् । भद्र वा कल्याण होस् भन्ने आसयमा भैलो गान गाइएको हो । 

 चौथो दिन गोमाता, गोरु, गोवर्धन पर्वत र बलि राजाको पूजा गरिन्छ । अघिल्लो रात नै यी सबैलाई भोलिका लागि निमन्त्रणा भनेर बत्ती बाली सूचना दिने चलन छ । गाईलाई लक्ष्मीको अर्को अवतार भनेर सम्मान गरिन्छ । गाईकै अङ्गमा तेत्तीस कोटी देवता वास गर्छन् भन्ने शास्त्रीय बोली पनि छ । गाईका दूध, दही, घिउ, गउँत र गोबर हाम्रा देवकार्य तथा पितृकार्यका अनिवार्य तत्व हुन् । गोरु हाम्रो जस्तो कृषिप्रधान देशको लघु भारवाहनको यातायात साधन र खेतबारी मलिलो बनाएर जोत्ने इमानदार प्राणी हो ।

त्यसैले यसको रक्षा र जतन गर्नु पूजाको रहस्य हो । श्रीमद्भागवत्को कथाअनुसार एकपल्ट आफूले पूजा नपाएको झोकमा गोपजनसित रुष्ट भएका इन्द्रले गोकुललाई समाप्त पार्न घनघोर वर्षा गराए । तर सात दिनसम्म सो पर्वतलाई उचालेर कृष्ण भगवान्ले रक्षा गरेको हु‘दा त्यसैको स्मृतिस्वरूप हाम्रो लोकजीवनमा गोबरको पर्वतलाई पुज्ने प्रचलन भएको पाइन्छ । तिहारको पाँचाँै दिन आआफ्ना दिदीबहिनी भएका ठाउँमा गएर टीकाटाला गर्ने परम्परा छ । कार्तिक महात्म्यमा सविस्तार यसको उल्लेख छ । यसरी दाजुभाइ र दिदीबहिनी बीचको सम्बन्धलाई सुमधुर बनाउने यो पर्व प्रेम, सद्भाव, सहृदयता र आत्मीयतालाई उन्नयन गर्दै पशुपक्षीहरूमा समेत समभाव जनाउने महान् तिथिबार हो । यो दिन आआफ्ना टोली बनाई देउसिरे अर्थात् ‘देवश्री’ खेल्ने प्रचलन पनि छ । 

 सारांशमा भन्नुपर्दा तिहारजस्ता पर्व अँध्यारोबाट उज्ज्यालोतिर, स्वार्थबाट परमार्थतिर, मृत्युबाट अमरत्वको बाटो अनुशरण गर्ने शुभ याम हो । यस्ता पर्वलाई गर्वपूर्ण बनाउन हामी मितव्ययी, संयमी, आध्यात्मिक र मानवतावादी बनेर दर्प र अभिमानलाई चकनाचुर पार्न सक्नुपर्छ ।

देउसी र भैलोको नाममा उत्छृङ्खल क्रियापलाप गरी पश्चिमा र्याप, डिस्को तथा हिपहपमा मदिराले मत्त भएर छँटाउने, बढी खर्च गरेर ऋणलाई तृण बराबर सम्झी साहु ढँटाउने किमार्थ गर्न हुँदैन । जसरी यमराजले यमुनासित टीकाटाला गरेर अकाल मृत्युबाट बच्न हामीलाई सन्देश दिएका छन् । त्यसको मर्मलाई बुभ्mने कसरत गर्नु हाम्रो मौलिकता हो । संस्कृति जीवन्त बने नै हाम्रो अस्तित्व बाँच्छ । अनि काग, कुकुर, गाई, गोरुजस्ता अनन्त प्राणीको अस्तित्व आत्मसात् गर्दै सत्, चित् र आनन्दकी प्रतिमूर्ति महालक्ष्मीको आराधनामा आस्तिक भाव जगाउन लागौँ ।

यस्ता पर्व मीठा कुरा खाने अनि रसरङ्ग मात्र गर्ने भौतिकवादी चिन्तन मात्र नभएर यो सृष्टिको सुन्दरतालाई बचाएर वातावरणीय परिवेशलाई निर्मलीकरण गर्नु पनि हो । यसरी दीपैदीपको यो महापर्वले हाम्रा आधिभौतिक, आधिदैविक र आध्यात्मिक तीनै खाले ताप निदान गर्दछ । त्यसैले यसलाई प्रकाश वा उज्यालो पर्व, दीपमालिका, दीपावली वा चेतनाको चाड मानिन्छ । अन्धकाररुपी अज्ञानतालाई जित्ने प्रेरणा यो दीपैदीपको महापर्वले दिन्छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...