बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

प्रतिपक्षी शत्रु होइन, सही बाटो देखाउने मार्गदर्शक हो : लेखराज भट्ट

शुक्रबार, ०८ कात्तिक २०७६, २० : ०२
शुक्रबार, ०८ कात्तिक २०७६

कञ्चनपुर – नेपाल कम्युनिष्ट पार्टीका स्थायी सदस्य लेखराज भट्टले मुलुकको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । नेकपा कञ्चनपुरले शुक्रबार भीमदत्तनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता भट्टले निर्वाचनका बेला प्रतिष्पर्धी भए पनि विकासका सवालमा सहयात्री हुनुपर्नेमा जोड दिए । 

प्रतिपक्षी दल भनेको शत्रु नभई सही बाटो देखाउने मार्गदर्शक भएको नेता भट्टको भनाइ छ । “सत्तापक्षका राम्रा कामको प्रशंसा र कमजोरी भए बाटो देखाउने काम गर्नु प्रतिपक्षको दायित्व हो”, उनले भने, “यो संस्कृतिको विकास गर्दै लैजानुपर्छ ।”

उनले सुदूरपश्चिमको विकासका लागि एकजुट भएर नगए अझै धेरै पछि पर्ने धारणासमेत राखे । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले सुदूरपश्चिम प्रदेश सरकार विकासको गतिमा अगाडि बढेको बताए । 
“विकास एकैदिनमा रातारात हुने विषय होइन”, उहाँले भन्नुभयो, “त्यसका आधार स्तम्भ तयार गरेर प्रदेश सरकार अगाडि बढिरहेको छ ।” उनले यही महीना यहाँ वित्तीय सम्मेलन र आगामी चैतमा सुदूरपश्चिममा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने पनि बताए ।

मन्त्री बोहराले प्रदेश सरकार कानून बनाउनतर्फ पनि अग्रसर रहेको उल्लेख गर्दै कानून निर्माणमा धैर्यता कायम गरौँ भने। उनले भने, “विधि र प्रक्रियाकै कारण ढिलाइ हुन्छ ।” 

नेकपा सुदूरपश्चिमका अध्यक्ष कर्ण थापाले सुदूरपश्चिम कुनै दृष्टिकोणले पछाडि नपरेको बताउनुभयो । यो प्रदेश जलस्रोत, जडीबुटीको अथाह सम्भावना बोकेको उल्लेख गर्दै उनले विशिष्ट भूगोलको रुपमा रहेको यो प्रदेशको विकासका लागि सबै एक जुट हुनुपर्ने आवश्यकता रहेको बताए । 
“सुदूरको समृद्धिका लागि सबै हातेमालो ग¥यौँ”, उनले भने, “अब योजनासहित अगाडि बढ्नुपर्छ ।” कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, नेकपा सुदूरपश्चिम प्रदेशका प्रमुख सचेतक तारा लामा तामाङ, प्रदेशसभा सदस्य लालबहादुर खड्का, मानबहादुर सुनार, पूर्वसांसद, नेपाली काङ्ग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता र स्थानीय तहका निर्वाचित नगर प्रमुख तथा उपप्रमुखलगायत नेताको उपस्थिति रहेको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप