बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालकृष्णदेखि गगनसम्मको गर्जन : कम्युनिस्ट सत्ता निर्माणमा लागेको सरकारविरुद्ध लड्ने ताकत निर्माणमा जुटौँ

बिहीबार, ०७ कात्तिक २०७६, १९ : ५०
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं – नेपाली काँग्रेसका नेताहरुले वर्तमान सरकार नेपालमा कम्युनिस्ट सत्ता निर्माणमा लागेको आरोप लगाएका छन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले  दसैँ, तिहार, छठ एवम् नेपाल सम्वतका अवसरमा बिहीबार राजधानीमा आयोजना गरेकाे कार्यक्रममा उनीहरुले कम्युनिस्ट सत्ता निर्माण गर्ने सरकारको कार्यशैलीको प्रतिकारका लागि एकजुट हुन पनि आह्वान समेत गरे । 

कार्यक्रममा काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार बहुमतको आधारमा कम्युनिस्ट राज्य निर्माणको बाटाेमा अग्रसर रहेकाे दावी गर्दै त्यसतर्फ काँग्रेस संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याए ।

अर्का नेता शेखर कोइरालाले वर्तमान अवस्थामा लोकतन्त्र कमजोर रहेकाे तर्क गर्दै सरकार सत्ता कब्जा गर्ने नियतले अघि बढेको आरोप लगाए । 

राष्ट्रिय अनुसन्धान, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण लगायत सरकारका अंगहरुलाई प्रधानमन्त्री केपी ओलीले आफूमातहत ल्याएर सर्वसत्तावादतर्फ उन्मुख भएको उदाहरण पेश गरेकाे उनले उल्लेख गरे ।

त्यसैगरी काँग्रेस सचेतक पुष्पा भुसालले  काँग्रेस कम्युनिस्टभन्दा फरक हो भन्ने मान्यता स्थापित गर्नका लागि प्रजातन्त्र संरक्षणको दायित्वबोधका साथ सबै प्रजातन्त्रका पक्षधरहरु एकठाउमा उभिनुपर्ने बताइन् । 

अर्का  नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी सरकारको भ-याङ चढेर नेपालमा कम्युनिस्ट सत्ताको निर्माण गर्न उद्दत रहेको दावी गरे। संविधानले दिएको क्षेत्राधिकारभन्दा बाहिर गएर सबै संस्थालाई नियन्त्रणमा लिने बाटोमा अघि बढेको सरकारले संसदलाई आफ्नो छाया बनाएको उनको भनाइ थियो । 

सरकारले न्यायालयलाई पनि थर्कमान बनाएको दाबी गर्दै उनले भने,'नेकपा सरकार सरकारको भ-याङ चढेर नेपालमा कम्युनिस्ट सत्ताको निर्माण गर्दैछ । सरकार संविधानले दिएको क्षेत्राधिकार भन्दा बाहिर गएर सबै संस्थाहरुमा विस्तारै नियन्त्रण गर्ने बाटोमा लागेको छ । अदालत सरकारसँग डराएको अवस्था छ । संसदलाई सरकारले आफ्नो छाया जस्तो बनाएको छ । जनताको अधिकारलाई संसदभित्रबाट एक पछि अर्को कानुन बनाएर  खोस्दैछ ।'

उनले नेपालमा कम्युनिस्टको सत्ता निर्माण गर्ने कुरालाई काँग्रेसले स्वीकार गर्न नसक्ने भन्दै प्रतिकारका लागि तयारी अवस्थामा रहन समेत सबैलाई आग्रह गरे ।

'हिजो राजाविरुद्धको लडाईँमा त्यो हानी र क्षति व्यहोर्न तयार भएर तपाईँहरु सडकमा आउनुभएको थियो । म अहिले नै सडकमा आइहाल्नुहोस् भन्दिन । तर मनोविज्ञान त्यो बनाएर बस्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु', उनले भने, 'त्यो हानी व्यहोर्न तयार हुनुपर्छ । क्षति व्यहोर्न तयार हुनुपर्छ । राजाको सत्ता निर्माण गर्ने कुरा रोकेर आएको काँग्रेसले कम्युनिस्टको सत्ता निर्माण गर्ने कुरालाई स्वीकार गर्न सक्दैन । यसविरुद्ध लड्छ भन्ने ताकत हामीले निर्माण गर्नुपर्नेछ र हाम्रो ताकत भयो भने नेपाल कम्बोडिया बन्दैन ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप