केन्द्रीय संस्करण

समाजवादी अर्थराजनीतिक पद्धति

person explore access_timeकात्तिक ७, २०७६ chat_bubble_outline0

परिभाषा 
     कुनै पनि खास समाजको चरित्र, संस्कृति र प्रवृत्ति भनेको अर्थराजनीतिले निर्धारण गर्छ । अर्थात् हरेक वस्तु वा सामाजिक सत्ताको चरित्र अर्थराजनीतिद्वारा निर्देशित हुन्छ । मुलुक वा समाजलाई कुन दिशातर्फ डोर्याउने भन्ने सवाल पनि अर्थराजनीतिले नै किटान गर्छ । यो सार्वभौम राजनीतिक सत्य हो । यसकारण हाम्रो वर्तमान  संस्कृति र प्रवृत्ति चाहिँ कुन अर्थराजनीतिले दिशानिर्देश गरिरहेको छ ? यसमा आधारभूत रूपमा स्पष्ट हुनैपर्छ । वस्तुतः पुँजीवादी अर्थराजनीतिले पुँजीवादी संस्कृति र समाजवादी अर्थराजनीतिले समाजवादी पद्धतिको वकालत गर्छ । यो वर्गीय अर्थराजनीतिक सार्वभौमिकता हो ।
 

   मूलतः वर्तमान राष्ट्रिय अर्थराजनीतिले कता निर्देश गरिरहेको छ, यो सबैभन्दा महत्त्वपूर्ण सवाल हो । नेपाली अर्थराजनीतिको सारभूत चरित्र पुँजीवादमा आधारित देखिन्छ । राजनीतिकरूपमा यो सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्त भए पनि सिद्धान्ततः यसको संस्कृतिगत र पद्धतिगत मूल चरित्र दलाल पुँजीवादी रहेको छ । यो अझै पनि व्यवहारतः सामन्तवादी सांस्कृतिक चरित्र वरिपरि घुमिरहेको छ, जुन वास्तविक सत्य हो । खास गरेर अर्थराजनीतिद्वारा पद्धति कायम हुन्छ । पद्धतिद्वारा प्रवृत्ति निर्धारण हुन्छ अनि यही आम प्रवृत्ति दल, समुदाय र व्यक्तिमा अभिव्यक्त हुन्छ । यसकारण पुँजीवादी अर्थराजनीति राजनीतिकरूपमा आत्मकेन्द्रित व्यक्तिवाद, लम्पट उपभोगवाद, आसेपासेवाद र अराजकतावादको पराकष्ठमा देखापर्छ । तसर्थ यस आलेखमा पुँजीवादी अर्थराजनीतिको राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पद्धतिगत चरित्रको सन्दर्भमा विश्लेषण गर्ने प्रयास गरिएको छ । 

राजनीतिक÷सैद्धान्तिक पद्धतिः 
     सिद्धान्ततः नेपाली राष्ट्रिय राजनीतिको पद्धति र चरित्र पुँजीवादी रहेको छ । यो राजनीतिक रूपमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अभिव्यक्ति भइरहेको छ । यद्यपि यसको चरित्र दलाल पुँजीवादी रहेको छ । वस्तुतः पुँजीवादी अर्थराजनीति भनेको निकृष्ट व्यक्तिगत स्वार्थद्वारा निर्देशित हुन्छ । यसमा संसदीय लोकतन्त्र, आवधिक चुनाव, स्वतन्त्र न्यायालय, स्वतन्त्र कर्मचारीतन्त्र अनि स्वतन्त्र पत्रकारिताको वकालत गरिन्छ । तर विगतमा प्रगतिशील विरासत बोकेको उपर्युक्त राजनीतिक मुद्दाहरू आज अमूक, औसत र यथास्थितिवादी नारा मात्र बनिरहेको छ । यसैगरी स्वतन्त्र र निस्पक्ष मानव अधिकार, विधिको शासन, कानुनी राज्य र मौलिक अधिकार जस्ता लोकतन्त्रको आदर्शहरू आज अग्रगामी, यथास्थितिवादी र पश्चगामी सबैलाई मिल्ने साझा नारा भएको छ । यसैमा काफी आशङ्का गर्ने ठाउँ देखिन्छ । सिद्धान्ततः संविधानको धारा उपधाराहरूमा राम्रो व्याख्या र विश्लेषण गरिए पनि व्यवहारतः यो जनता झुक्याउने ब्रह्मास्त्र बनिरहेको छ । 
   

 आज सबै लोकतान्त्रिक मूल्यमान्यताहरू दलाल पुँजीद्वारा निर्देशित उपभोगवादी अर्थराजनीतिको कब्जामा रहेको छ । समग्र राजनीतिक आदर्श र मूल्यहरूलाई अपव्याख्या र भ्रष्टीकरण गरिएको छ । आवधिक चुनावमा चरम विकृति र विसङ्गतीले घर गरेको छ । अति खर्चालु चुनावी प्रक्रिया र स्वार्थ केन्द्रित अर्थराजनीतिक सांस्कृतिक सम्बन्धले राजनीतिमा अन्तरनिहित इमान–जमान र विश्वासहरू कौडीमा लिलाम हुनेक्रम बढिरहेको छ । विचार, आदर्श र इमानदारितालाई व्यावहारिक राजनीतिबाट विस्थापन गरिँदैछ । परिणाम स्वरूप क्रान्तिकारी वैचारिक आदर्शलाई आत्मसात गर्ने नेता कार्यकर्ताहरू पाखा लाग्नेक्रम बढ्दो छ । राष्ट्रिय राजनीति विकृत नाफामुखी व्यवसाय, जागिर र नियुक्ति बन्दोबस्ती गर्ने शक्तिशाली र प्रतिष्ठित औद्योगिक प्रतिष्ठानको कुशल व्यवस्थापक जस्तो भएको छ । 

     यसले नाफा, अकुत सम्पत्ति कमाउधन्दा, भ्रष्टाचार, कमिसन र दलाली जस्ता गलत संस्कृतिलाई संस्थागत गरिरहेको छ । सिद्धान्त, विचार, पद्धति र इमानदारिता भन्दा आर्थिक ज्याकपटधारी डनहरूले प्रश्रय पाइरहेको छ । ठेकेदार, व्यवसायी, दलाल र कमिसनखोरहरूले राजनीतिक दहीमाथिको तर मार्नेक्रम बढ्दोछ । अर्थात मौकामा चौका कसले हान्न सक्छ भन्ने भाष्यको आधारमा मूल्याङ्कन गरिँदैछ अनि भूमिका र अवसर दिइँदैछ । यस्तै अर्थराजनीतिक सेरोफेरामा अवसरहरू गोजीको निजी वस्तु जस्तो मनोगतशैलीमा निगाहस्वरूप तजबिजमा बाँड्ने विडम्बनापूर्ण परिपाटीलाई टुलुटुलु हेरेर बस्नुपर्ने तितो बाध्यता छ । पद्धतिमा भन्दा पनि नेताको निगाह र सनकमा समग्र अर्थराजनीतिक गतिविधिहरूलाई कैद गरिँदैछ । यो हाम्रो अर्थराजनीतिको दुखद्, दुर्बल र लाजमर्दो पक्ष हो । 

आर्थिक पद्धतिः 
     वस्तुतः केन्द्रीय राजनीतिले आफू मातहतको सम्पूर्ण सत्ताको चरित्र निर्धारण गर्छ । अर्थात खास समाजको अर्थतन्त्रलाई अर्थराजनीतिले निर्देश गरिरहेको हुन्छ । दलाल पुँजीवादी अर्थराजनीतिले दलाल पुँजीको सेवा गर्छ । दलाल पुँजी भनेको नाफा, एकाधिकार र गैरन्यायिक वितरण पद्धतिमा आधारित असमान आर्थिक सम्बन्ध हो । यसमा समान पहुँच र अवसर हुँदैन । मुठ्ठीभर देशी तथा विदेशी दलाल पुँजीपतिहरूको एकाधिकार हुन्छ । यसले निजित्व र आत्मकेन्द्रित व्यक्तिवादी प्रवृत्तिको वकालत गर्छ । यसमा जसरी र जे गरेर पनि नाफाआर्जन गर्ने लम्पट आर्थिक सम्बन्ध हुन्छ । समानता र न्यायको व्यावहारिक अभ्यास नहुनुको साथै काम वा परिश्रम गर्ने संस्कृति हुँदैन । अस्वस्थ्य प्रतिस्पर्धा अन्तर्गत अरूलेभन्दा धेरै कमाउने चरम स्वार्थी मनोविज्ञान हावी हुन्छ । यसले विवेक, मानवता र  आदर्शलाई गुमाउँदै जान्छ । स्वार्थगत प्रतिस्पर्धाकै कारण सम्पूर्ण विधि र कानुनी छेकवारहरू निष्काम हुन्छ । तब भ्रष्टाचार, कमिसन, दलाली, अपराध, तस्करी, लुट, चोरी, डकैती, हत्या, ठगी, सुदखोरी, किर्ते, षडयन्त्र, जालझेल, प्रलोभनजन्य विकृति–विसङ्गतीहरू आम संस्कृतिकै रूपमा समाजमा झाँगिने गर्छ । 
 

    यसरी सबैतिर राष्ट्रिय अर्थराजनीतिको प्रभाव निर्णायक हुने भएपछि कि त यो अर्थराजनीतिले निर्दिष्ट गरेको पद्धति र प्रवृत्तिहरू स्वीकार गर्नुपर्ने विवशता हुन्छ, कि त यसविरुद्धको अभियान छेड्नुपर्छ । वास्तवमा दलाल पुँजीले कृषिको आधुनिकीकरण र औद्योगिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र विकासभन्दा पनि दलालपुँजीको सेवा गर्छ । बहुराष्ट्रिय कम्पनीहरूले अर्थतन्त्रमा पकड कायम गर्नु यसैको उपज हो । यसले उत्पादनमूलकभन्दा सेवामूलक पुँजी विकासको वकालत गर्छ । आज कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण अनि औद्योगिकीकरण भन्दा थुम्की–थुम्कीमा भ्युटावर, पोखरी वा आहालहरूको सजावट, ठूलो र अग्लो मूर्ति, त्रिशूल र शालिक बनाउने होड, गुफा र ओडारहरूको पहिचान, चुच्चे ढुङ्गा, खोला र रूखमाथि होटेल रिसोर्ट अनि उद्यानहरूमा व्यापक लगानी भइरहेको छ । तर यिनीहरू उत्पादनमूलक पुँजी विकासको सूचकाङ्क होइन । यो सेवामूलक अर्थतन्त्र हो, जुन जताबाट मूल्याङ्कन गर्दा पनि गौण नै हुनेगर्छ । यसबाट पनि हाम्रो अर्थराजनीतिले कता दिशानिर्देश गर्दैछ भन्ने प्रष्ट हुन्छ । यो असाध्यै गम्भीर सवाल हो । 

 सामाजिक तथा सांस्कृतिक पद्धति :
     संस्कृति पनि केन्द्रीय अर्थराजनीतिद्वारा निर्देशित हुन्छ । अर्थात अर्थराजनीतिक पद्धति अनुरूप नै समाज र संस्कृतिको स्वरूप र चरित्र निर्धारण हुनेगर्छ । पुँजीवादी अर्थराजनीतिले प्रगतिशील, वैज्ञानिक, वस्तुवादी,  व्यावहारिक र न्यायपूर्ण संस्कृतिको वकालत गर्दैन । यो चरम आडम्बरी, ढोँगी, श्रद्धा–सम्मान र औपचारिकतामा सीमित हुन्छ । अर्थात सम्मान र श्रद्धामुखी हुन्छ । बधाई र शुभकामनाको स्वार्थगत छाहरीमा सिङ्गो क्रियाकलापहरू कैद हुनपुग्छ । बधाई दिन र लिन छुट्दा असफल र कमजोरी नै होला जस्तो भएको छ । भोलि सन्ततीले गाली गर्ला भनेर डराउनुपर्ने अवस्था छ । उपभोगवादी, फेसनेबल, देखासिखी, भाते–स्वादे, भोगविलासी, नक्कल, रमिते र पर्यटक मानसिकताले घर गरिरहेको छ ।

लतकै रूपमा भ्युटावर, गुफा, ओडार, ¥याफ्टिङ, हाइकिङ, स्विमिङ, ट्रेकिङ, वाकिङ, बोटिङ, सिपिङ, सर्फिङ, क्लाइम्बिङ र रोमिङमा रमाउने सांस्कृतिक मनोविज्ञान अचाक्ली बढिरहेको छ । तर यो उत्पादनमुखी आर्थिक पद्धति होइन । वस्तुतः उत्पादनमूलक अर्थराजनीतिक संस्कृतिबिना समाजवादमा सङ्क्रमण सम्भव हुँदैन ।

     यता सामाजिक तथा सांस्कृतिक पर्वहरू जस्तै जन्मदिन, अन्नप्रासन, छेवर, वर्तबन्ध, विवाह र मृत्यु लगायत सामाजिक कार्य अत्यन्तै उपभोगवादी, आडम्बरी र खर्चालु बन्दैछ । यो अति औपचारिक, भड्किलो, रवाफिलो, खर्चालु र देखावटी हुुँदैछ । यसैगरी स्वार्थमुखी, पैसामुखी, प्रचारमुखी, आसेपासेमुखी, भनसुनमुखी, नातामुखी, सोर्सफोर्समुखी, शक्तिमुखी, चोचो–मोचोमुखी, प्रभावमुखी, चाकरीमुखी, सम्मानमुखी, श्रद्धामुखी, बधाईमुखी र शुभकामनामुखी पद्धतिगत चरित्र अभिन्न रूपमा जोडिएको हुन्छ । यो विकराल रूपमा अतिथिमुखी, मालामुखी, खादामुखी, उपहारमुखी, कोसेलीमुखी, पुरष्कारमुखी, सम्मानमुखी र आदरमुखी बन्दै गएको छ । अर्थात लम्पट हिरोवादी, सर्वोच्चवादी, मपाइँवादी र बहादुरवादी पन बढेको छ । यता भावनावादी, दयावादी, निगाहवादी, करुणावादी, मायावादी, स्नेहवादी र स्तुतिवादी चिन्तन् हाबी देखिन्छ । अझ प्रष्ट भाषामा भन्दा जसले बढी आडम्बर, ढोँग र औपचारिकतालाई कलात्मक ढङ्गले अपनाउँछ ऊ स्वतः सफल हुने विडम्बनापूर्ण अवस्था छ । यसैगरी चाकरीवाद, चाप्लुसीवाद, श्रद्धावाद, भनसुनवाद र प्रचारवाद जस्ता औसत आडम्बरी प्रक्रिया पुँजीवादी अर्थराजनीतिको मौलिक विशेषता हुन् । मूलतः यो परम्परागत सामन्तवादकै विकसित वा परिमार्जित रूप हो । यो समाजवादी पद्धति होइन ।

समाजवादी पद्धतिः 
     यो दृष्टिकोणीय आधारमा पुँजीवादी पद्धति भन्दा सारभूतरूपमै भिन्न हुन्छ । यसमा समाजवादी अर्थराजनीतिक उत्पादन सम्बन्ध मुख्य हुन्छ । समाजवादी पद्धति असाध्यै लामो निरन्तर आन्दोलनको ऐतिहासिक प्रक्रियामा विकास हुनेगर्छ । यो रातारात जादुगरले छडी घुमाए जस्तो रूपान्तरण भइहाल्ने विषय होइन । यसमा राजकीय उपस्थितिसहितको सामूहिक स्वमित्व हुन्छ । समानता र न्यायमा आधारित सामाजिक पद्धति अपनाइन्छ । राज्यरूपको हरेक निकायमा उत्पीडित वर्गीय अधिनायकत्व हुन्छ । वर्ग, जाति, क्षेत्र र लिङ्गकै आधारमा शोषण, अन्याय, हेलाहोचो र विभेद हुँदैन । काखपाखवाद र आसेपासेवादलाई पूर्णरूपमा निरुत्साहित गरिएको हुन्छ । राज्यसत्ताको सबै सामाजिक सत्तामा न्याय र समानताको राजकीय थिति र विधि लागू गरिन्छ । निरन्तर सङ्घर्षको प्रक्रियामार्फत नागरिकहरूको निजी सोच, चिन्तन् र मनोविज्ञानलाई सामूहिकताको दिशातर्फ रूपान्तरण गरिन्छ । सबै सचेत र सङ्गठित रूपमा समाजवाद निर्माणको महान आन्दोलनमा सहभागी हुन्छन् ।
 

   समाजवादी अर्थराजनीतिक उत्पादन सम्बन्धमा सामूहिक उत्पादन पद्धति र सामूहिक स्वामित्व हुन्छ । निजी स्वामित्वलाई निरुत्साहित गरिन्छ । आधारभूतरूपमै समानता र न्यायको सिद्धान्त लागू गरिन्छ । क्षमता अनुसारको काम र काम अनुसारको दामको नीति अङ्गीकार गरिन्छ । सामाजिक तथा सांस्कृतिक सम्बन्ध पनि समाजवादी उत्पादन पद्धतिमा आधारित हुन्छ । प्रगतिशील, वैज्ञानिक, वस्तुवादी र व्यावहारिक जनसंस्कृति अपनाइन्छ । अर्थात उत्पादनको निम्ति गरिने वर्गसङ्घर्षबाट जनसंस्कृति निर्माणको मान्यता राखिन्छ, जुन आडम्बरी, ढोँगी र औपचारिक हुँदैन । बढी खर्चालु, भड्किलो, रवाफिलो र देखावटी पन हुँदैन । अधिक मानसम्मान लिने दिने परम्परालाई निस्तेज गरिन्छ, जसलाई आज इज्जत प्रतिष्ठाको विषय बनाइएको छ । समाजवाद निर्माणको ऐतिहासिक प्रक्रिया पूरा गर्न प्रगतिशील जनसंस्कृति अनिवार्य  हुन्छ । उन्नत, सभ्य र विवेकपूर्ण संस्कृति विकासमा जोड दिइन्छ । यसमा तेरोमेरो निकृष्ट स्वार्थी मनोविज्ञानलाई निरुत्साहित गर्दै समाजवादी उन्नत चेत र चिन्तन् विकास गरिन्छ । औपचारिकतावाद, मान–सम्मानवाद, श्रद्धावाद, चाकरीवाद, बधाईवाद, चियापान र शुभकामनावादलाई क्रमिकरूपमा निरुत्साहित गरिन्छ । हरेक वस्तु वा सत्ताका रूपान्तरण आन्दोलनको निरन्तर ऐतिहासिक प्रक्रियामा मात्र हुन्छ भन्ने मान्यता समाजवादी संस्कृतिको मूलभूत चरित्र हो । 
निष्कर्षः
सारतः केन्द्रीय अर्थराजनीतिक प्रणाली मातहत तपशीलको विधि र प्रक्रिया किटान हुनेगर्छ । यही विधि र प्रक्रियाले नै प्रवृत्ति र आचरण निर्धारण गर्छ । यही प्रवृत्ति र आचरण नै व्यक्ति–व्यक्तिमा अभिव्यक्त हुन्छ । तब यो कुनै खास समाजको आम संस्कृति बन्दछ । अन्ततः यो संस्कार र संस्कृतिको रूपमा समुदाय वा व्यक्तिमा अभिव्यक्त हुनेगर्छ । तसर्थ, समकालीन अर्थराजनीतिको विशेषता मुख्य प्रश्न हो । नेपाली अर्थराजनीति दलाल पुँजीमा आधारित रहेको छ ।

यस्तो अर्थराजनीतिमा जसरी पनि पैसा कमाउने, चुनाव जित्ने, शक्ति र स्रोतसाधनमा पकड वा एकाधिकार कायम गर्ने चिन्तन हाबी हुन्छ । जसरी पनि पैसा कमाएर पद र पावर हत्याउने अनि प्रतिष्ठा कमाउने साथै रोमान्स गर्ने हैकम र उपभोगवादी स्वार्थगत रणनीतिक आर्थिक सम्बन्ध हुन्छ । यसैको उपज शोषण, भ्रष्टाचार, कमिसन, दलाली, तष्करी र ठगी संस्थागत हुँदै जान्छ । सामाजिक सांस्कृतिक सम्बन्ध असाध्यै उपभोगवादी, आडम्बरी, ढोँगी, शिष्टाचार, औपचारिक, खर्चालु, देखावटी, रवाफिलो र भड्किलो प्रवृत्तिमा अभिव्यक्त हुन्छ । यो सफलता, प्रतिष्ठा, गौरव र भाइरल बनाउने अभीष्टबाट निर्देशित हुन्छ । यसलाई गलत टिप्पणी गर्नेहरू गतिशीलतालाई पकड्न नसक्ने जडताको आरोप खेप्दै पाखा लाग्ने अचम्मको स्थिति पैदा हुन्छ । किनकि यो केन्द्रीय अर्थराजनीतिक चरित्रविरुद्ध हुनजान्छ । 
   

  त्यसैले अर्थराजनीतिक प्रणालीमा आमूल रूपान्तरण वा मुहान शुद्धीकरण प्राथमिक सवाल हो । तव मात्र राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक पद्धतिलाई रूपान्तरण गर्न सकिन्छ । यो कसैको मनोगत चाहना, भावना र सस्तो लोकप्रियताको बलमा रातारात परिवर्तन हुँदैन । वस्तुतः यसका लागि समाजवादी आर्थिक उत्पादन सम्बन्धद्वारा निर्देशित निरन्तर आन्दोलनको लामो ऐतिहासिक प्रक्रिया गुजार्नै पर्छ । त्यसैले वर्तमान आसेपासे, भ्रष्ट र विकृत पुँजीवादी अर्थराजनीतिक पद्धति र प्रवृत्तिद्वारा समाजवादको कल्पना गर्नु वैचारिक दरिद्रता, दिवास्वप्न र बनिबनाउ चाहना मात्र हो ।

समाजवादका लागि समाजवादी अर्थराजनीतिद्वारा निर्देशित कम्युनिस्ट अनुशासन र मूल्यसहितको वैज्ञानिक पद्धतिद्वारा निर्देशित आम संस्कृति र प्रवृत्ति स्थापित गर्नुपर्छ । यो आन्दोलनको लामो ऐतिहासिक प्रक्रियाबाट मात्र सम्भव हुन्छ । यसमा कम्युनिस्टहरू विचारमा स्पष्ट र आचरमा जागरुक बन्नु अनिवार्य छ । अन्यथा समाजवाद कुरा र भाषणमा मात्र सीमित हुने खतरा देखिन्छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...