करोडौँ मूल्य पर्ने भारतीय गाडीमा नेपाली प्लेट

काठमाडौँ । राजस्व अनुसन्धान विभागले चोरीको २ वटा करोडौं रुपैयाँ पर्ने गाडी बरामद गरेको छ । विभागले बुधबार राती बालाजु र कोटेश्वरबाट गाडी बरामद गरेको हो ।
गाडीसँगै विभागले नुवाकोटका ३ जना व्यक्तिलाई समेत पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाको नाम गोप्य राखिएको छ ।
सेतो रङ्गको भारतीय नम्बर प्लेटको गाडीमा उनीहरुले परिवर्तन गरेर रातो नेपाली नम्बर प्लेट राखेका छन् ।
विभागले बरामद गरेको गाडी हो – २०१९ को टोयोटा फर्चुनर । एउटा गाडीको नेपाली बजार मूल्य १ करोड ६३ लाख रहेको छ ।
बरामद दुवै गाडी २१ ‘लट’ को हो । बा२१च ४७१६ र बा२१च ५५६२ नम्बरको गाडी विभागले बरामद गरेको विभागका महानिर्देशक दीर्घराज मैनालीले पुष्टि गरे ।
महानिर्देशक मैनालीले भने, ‘विभागले अहिलेसम्मकै महङ्गो गाडी बरामद गरेको हो । ६÷७ महिना अघिदेखि विभागले पछ्याइरहेको थियो ।’
बा२१च ४७१६ र बा२१च ५५६२ नम्बर अर्कै व्यक्तिको नाममा रहेको बताइएको छ । हतार–हतारमा सेटिङमा कागजपत्रहरु मिलाएर उनीहरुले २ वटै गाडी ९० लाखमा बेच्न लागेको स्रोतले बताएको छ ।
पक्राउ परेका तीनै जनामाथि सोधपुछ भइरहेको विभागले जनाएको छ ।