शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देशको अहिलेको अर्थतन्त्र : अधिकांश सूचकमा सुधार, तथ्याङ्क यसो भन्छ

बिहीबार, ०७ कात्तिक २०७६, १६ : ०४
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं । देशको अर्थतन्त्रले अहिले कस्तो गति लिइरहेको छ भन्ने आम चासो र जिज्ञासा छ । यही चासो र जिज्ञासालाई नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कले निवारण गरेको छ । 

राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार हाल देशको अर्थव्यवस्था मिश्रित खालको छ । चालु आर्थिक वर्ष (२०७६÷०७७) को दुई महिनालाई आधार मान्ने हो भने अर्थतन्त्र    केही सकारात्मकतातर्फ उन्मुख देखिएको छ । यद्यपि, केही सूचकले भने कहालीलाग्दो स्थिति सृजना गर्ने अवस्था पनि देखाएको छ । 

अर्थतन्त्रका राम्रा सूचक 
आयात घट्नु निर्यात बढ्नु : देशको अर्थतन्त्र आयातमुखी अर्थतन्त्र हो । आयात र निर्यातको खाडल कहालीलाग्दो छ । यद्यपि, पछिल्लो केही महिनामा आयात निर्यातको खाडल थोरै भएपनि साँघुरिदै गएको देखिन्छ । आयात १.२ प्रतिशतले घटेको छ भने निर्यात २५.९ प्रतिशतले बढेको छ । विज्ञहरु यसलाई अर्थतन्त्रको सकारात्मक सुधार मान्छन् । 

सोधानान्तर स्थिति बचतमा : देशमा भित्रने रकमको तुलनामा बाहिरिने रकम बढेपछि सोधानान्तर स्थिति घाटामा जान्छ । तर अहिले सोधानान्तर स्थिति ८ अर्ब ८३ करोड रुपैयाँ बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति .२५ अर्ब ४५ करोडले घाटामा रहेको थियो ।

विदेशी विनिमयको सञ्चितिमा वृद्धि : कुल विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तको १० खर्ब ३८ अर्ब ९२ करोडबाट वृद्धि भइ २०७६ भदौ मसान्तमा १० खर्ब ७८ अर्ब ९४ करोड  रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ भदौ मसान्तमा ९ अर्ब ४४ करोड कायम भएको छ ।

अमेरिकी डलरको सञ्चिति घटेपनि  समग्रमा वृद्धि देखिन्छ । आर्थिक वर्ष २०७६÷७७ को दुई महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ९.६ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

अर्थतन्त्रका नकारात्मक सूचक
मूल्य वृद्धि नियन्त्रण बाहिरः यसपटक मूल्य वृद्धि नियन्त्रणभन्दा बाहिर जाने देखिएको छ । चालु आर्थिक वर्षको दुई महिनामा औसत महंगी ६.५६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो । यस आधारमा हेर्ने हो भने महंगी दोब्बर पुगेको छ । 

रेमिट्यान्समा गिरावटः नेपालको अर्थतन्त्रको एउटा स्रोत रेमिट्यान्स पनि हो । तर पछिल्लो समय रेमिट्यान्सको आप्रवाह खुम्चिएको छ । रेमिट्यान्स आप्रवाह ०.३ प्रतिशतले कमी आइ १ खर्ब ५३ अर्ब ७३ करोड  रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २२.३ प्रतिशतले बढेको थियो ।

सरकारी खर्चमा सुस्तताः सरकारी खर्चमा सुस्तता हुनु भनेको कार्यप्रगति नहुनु हो । संघीय सरकारको कुल खर्च ४३ अर्ब १२ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.६६ अर्ब ३३ करोड रहेको थियो ।

अस्तव्यस्त सेयर बजारः २०७५ भदौ मसान्तमा १२५६.५ विन्दुमा रहेको नेप्से सूचकाङ्क २०७६ भदौ मसान्तमा ८.४ प्रतिशतले ह्रास भइ ११५०.७ कायम भएको छ । धितोपत्र बजार पँुजीकरण वार्षिक बिन्दुगत आधारमा २.३ प्रतिशतले ह्रास भइ २०७६ भदौ मसान्तमा रु.१४६१ अर्ब ५४ करोड कायम भएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप