शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदीय समितिमा चिनियाँ उपमन्त्रीको टोली : सभापति श्रीवास्तवले राखे चीन घुम्ने प्रस्ताव

बिहीबार, ०७ कात्तिक २०७६, १३ : १५
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौँ । प्रतिनिधिसभाको उद्योग वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरुसँग चिनियाँ बजार अनुगमनका लागि राज्य प्रशासन उपमन्त्री ट्याङ जुन नेतृत्वको टोलीले बिहीबार छलफल गरेको छ । 
छलफलमा मन्त्री जुनसँगै बजार अनुगमन गर्ने उच्च निकायका अन्य ४ प्रतिनिधि सहभागी थिए । 

छलफलमा उपमन्त्री जुनले हालै भएको चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताए । उनले दुई देशमा हुने गरेको बजार अनुगमनको अनुभव साटासाट गर्दा दुबै पक्षलाई लाभदायक हुने भएकाले भेटघाटका लागि आएको बताए ।  

समितिका सभापति विमल प्रसाद श्रीवास्तवले चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गरेकोमा धन्यवाद ज्ञापन गर्दै यसबाट दुई देशको सम्बन्ध विस्तारमा सुधार पुगेको उल्लेख गरे । 

उपमन्त्री जुनले गएको वर्ष नयाँ मन्त्रालयको रुपमा बजार अनुगमनका लागि राज्य प्रशासन मन्त्रालय स्थापना भएर काम सुरु गरेको बताए । 

उनले यस मन्त्रालयको काम उद्योग दर्ता गर्नु, बजारको एकाधिकार अन्त्य गर्नु रहेको बताउँदै खाद्य सुरक्षा, औषधिजन्य पदार्थ तथा अन्य उपकरणहरुको सुरक्षामा चासो राख्ने जानकारी दिए । 

मन्त्रालयले उद्योगको उत्पादनको मापदण्ड तयार गर्ने काम पनि गर्ने बताउँद उनले उपभोक्ता अधिकारको रक्षा गर्न मुख्य भूमिका पनि निर्वाह गर्ने जानकारी दिए ।  

उनले भने, ‘कसरी व्यापारलाई विस्तार गर्न सकिन्छ र कसरी उपभोक्ताको अधिकारलाई रक्षा गर्न सकिन्छ भन्नेमा हामी केन्द्रीत छौँ । बजारको वातावरण कसरी स्वच्छ राख्न सकिन्छ भन्नेमा मन्त्रालय र सरकार केन्द्रीत रहेको छ । उद्योगमा बाह्य लगानी भित्राउने हो भने हामीले त्यसको बजार कसरी व्यवस्था गर्ने भन्नेमा अगाडि नै ध्यान दिन्छौँ । अघिल्लो वर्ष विश्व बैंकले हाम्रो बजारको वातावरणको अध्ययन गरेको थियो । विश्वको ६० प्रतिशत बजारमा चिनियाँ सामान पाइन्छ । विश्व बंैकको ताजा रिर्पोट अनुसार बजारको वातावरण व्यवस्थापनमा चीन ३३ स्थानमा आइपुगेको छ ।’ 

उनले उपभोक्ता अधिकारका लागि चीनले विशेष प्रणालीको स्थापना गरेको बताउँदै मन्त्रालय तहमा उपभोक्ता अधिकारका बारेमा छलफल हुने जानकारी दिए । 

यस्तै जनताको तर्फबाट उपभोक्ता अधिकार मञ्च स्थापना गरिएको बताउँदै उनले नेपालमा जस्तो बजार हेर्नका लागि संसदीय समिति जस्तो छुट्टै संयन्त्र भने नरहेको बताए । 

उनले उद्योग तथा उपभोक्ता समितिले उपभोक्ता अधिकार रक्षाका लागि के गर्छ भन्नेबारे जान्न चाहेको पनि बताए ।  

उनले भने, ‘हाम्रो भ्रमणको उद्देश्य तपाईँले बजार अनुगन र उपभोक्ता अधिकारका लागि कसरी काम गर्नुहुन्छ भनेर बुझ्नु र त्यो काम हेरेर हामी पनि सिक्न सक्छौ कि भन्ने आशा गरेका छौँ ।’ 

उपमन्त्री जुनलाई समितिका सदस्य मुकुन्द न्यौपानेले संसदीय समितिले बजार अनुगमन तथा उपभोक्ताको अधिकारका लागि कसरी काम गर्छ भन्ने जानकारी गराए । 

सांसद न्यौपानेले समितिले उपभोक्ताका समस्याहरु के छन् भनेर हेर्ने,  ठूला चाडपर्व आएको बेला व्यापारीले बजारमा ठगी गरेका छन् कि छैनन् भनेर निगरानी गर्ने, बजार अनुगमन गर्ने र आवश्यकता अनुसार समितिमा मन्त्रीलाई बोलाएर सरकारलाई आवश्यक कारवाहीका लागि निर्देशन दिने जानकारी गराए । 

चीनको समृद्धि हामीले हेर्न चाहेका छौँ : सभापति श्रीवास्तव
चिनियाँ प्रतिनिधि मण्डलसँगको कुराकानीमा समितिका सभापति बिमल प्रसाद श्रीवास्तवले चीनको विकास र समृद्धिबाट खुसी रहेको बताउँदै नेपालको विकासका लागि चिनियाँ सहयोगको अपेक्षा गरेको बताए ।  

उनले चीनको उन्नति प्रगति हेर्न समितिका सदस्यहरुले चाहना राखेका उल्लेख गर्दै चीन भ्रमणका लागि आग्रह गरे । 

साथै दुई पक्षबीच भइरहेको आपसी सहयोग विस्तारको आवश्यकता पनि रहेकोमा जोड दिए । 

यस्तै समितिले कानून बनाउन ८ वटा विधेयक पास गरेर पठाएको बताउँदै बजारमा सामाग्रीको मूल्य, गुणस्तर, विषादी आदि बारेमा अध्ययन गरेर त्यसबारे सरकारलाई निर्देशन समेत गर्ने गरेको जानकारी दिए । 

सभापतिको कुरा सुनेपछि चिनियाँ उपमन्त्री जुनले आफ्नो मन्त्रालय र यो संसदीय समितिबीच आपसी सम्बन्ध स्थापना गर्न हामी सकारात्मक रहेको बताए । 

उनले खाद्य सुरक्षा लगायतका विषयमा समितिले गर्ने काम र आफ्नो मन्त्रालयले गर्ने काममा समानता रहेको बताए । 

उनले समितिका सदस्यहरुलाई हार्दिकतापूर्वक चीन भ्रमणमा स्वागत गर्ने बताउँदै भ्रमणका लागि कुटनीतिक नियोगमार्फत थप छलफल गर्ने उल्लेख गरे । 

भेटघाटको अन्त्यमा चिनियाँ टोली श्रीवास्तवलाई बेइजिङबाट ल्याइएको उपहार दिएर बिदाइ भएको थियो ।  चिनियाँ टोली समितिको हलबाट बाहिरिने बित्तिकै एक सांसदले सभापति श्रीवास्तवलाई सोधे, ‘हामीले उपहार लिने मात्रै ? उनीहरुलाई चाहिँ केही उपहार दिनुपर्दैन, यो के तरिका हो ? अर्कोपटक देखि यस्तो नहोस् ।’ 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप