मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पारिवारिक विरासतसँगै काँग्रेसमा उदाएका आलम

बिहीबार, ०७ कात्तिक २०७६, ११ : ०४
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौँ – १२ वर्षअगाडिको मुद्दामा नेपाली काँग्रेसका नेता तथा सांसद महोम्मद अफ्ताव आलम एकाएक पक्राउ परेपछि नेपाली समाज मात्रै हैन सिंगो नेपाली राजनीतिक वृत नै तरंगित भयो ।  घटनाक्रमको क्रुरताको बयान प्रकाशित भएपछि कतिपयले आलमको तुलना हिटलरसँग समेत गर्न थाले भने आलमको प्रतिरक्षामा स्वयं उनको पार्टी नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवा नै पनि खडा भए । यद्यपि, व्यापक सार्वजनिक आलोचना भएपछि देउवा यतिखेर व्याक भइसकेका छन् ।

राजपुर नगरपालिकाको फरदवा गाउँमा संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा प्रमाण नष्ट गर्नका लागि मृतक र घाइतेलाई इँटाभट्टामा जलाएको अभियोगमा असोज २६ गते आलम पक्राउ परेका हुन् । हाल उनीमाथि अनुसन्धान जारी छ ।


पारिवारिक विरासतसँगै उदाएका आलम

आलमको जन्म २०१९ आषाढ ५ गते राजपुर फरहदवा, रौतहटमा भएको हो । बुवा मोहम्मद सिद्धिकी वेदी र आमा मजिवुनबाट जन्मिएका आलमका एक छोरी र दुई छोरा छन् । आलमले विज्ञान संकायबाट स्नातक तहसम्मको अध्ययन गरेका छन् ।

रौतहट काँग्रेसका नेता रामचन्द्र गिरीका अनुसार २०३१ मा रौतहट नेविसंघबाट राजनीति सुरु गरेका आलम ०३४  नेविसंघ रौतहटको जिल्ला सभापति भएका थिए । त्यसपछि उनी नेविसंघको केन्द्रीय राजनीतिमा आए ।

उनी २०४४ देखि ४८ सालसम्म काँग्रेसका भ्रातृ संगठन नेविसंघको केन्द्रीय उपाध्यक्षका रुपमा रहे । त्यसबेला संघका अध्यक्ष बालकृष्ण खाँण थिए । योबीचमा आलम काँग्रेसका पुराना नेता शेख इद्रिसको सचिवालयमा पनि सक्रिय थिए । नाताले शेख इद्रिस आलममा हजुरबुवा हुन् । नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा हाम्फाल्दै  आलम जिल्ला राजनीतिमा केन्द्रित भए । उनले ५१ सालदेखि ६७ सालसम्म काँग्रेस रौतहटको जिल्ला सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

राजनीतिमा आलमको तीब्र छलाङ्ग शेख इद्रिसको विरासतको रुपमा पनि भएको देखिन्छ । खासगरी इद्रिसको घट्दो उमेरसँगै आलममाथि जिम्मेवारी थपिँदै गयो । शेख इद्रिस २००९ सालको संसद (सल्लाहकार सभा) मा थिए । पछि ०१५ सालमा  भएको पहिलो आम निर्वाचनमा शेख इद्रिस सांसद भएका थिए ।

काँग्रेसका स्थापक नेता बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईसँग शेखको राम्रो सम्बन्ध थियो । तीनै नेताको राम्रो साथ पाएका शेखले मधेससँगै पार्टीमा पनि राम्रो पकड बनाएका थिए । त्यसमा पनि शेख कृष्णप्रसाद भट्टराईसँग निकट थिए ।

आलमको शक्ति

राम्रो आर्थिक अवस्था भएका शेखले काँग्रेस अप्ठ्यारोमा पर्दा ठूलो सहयोग गर्ने गरेका थिए । काँग्रेसका संस्थापक नेता महेन्द्रनारायण निधिपछि काँग्रेसको मधेश राजनीतिमा शेख निर्णायक मानिन्थे । उनको निधनपछि राजनीतिमा शेखको विरासत मानिने आलम काँग्रेसमा प्रदेश २ बाट निर्णयक बने ।

मधेश क्षेत्रमा उपसभापति विमलेन्द्र निधिपछि आलमलाई प्रभावशाली नेताका रुपमा चित्रित गरिन्छ । त्यो कुरा उनले प्रमाणित पनि गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो गएको निर्वाचन । मधेश केन्द्रित दलको गठबन्धन र तत्कालीन एमालेको जनलहरमा पनि काँग्रेसले रौतहटका १६ वटा पालिका मध्ये ८ वटामा जित हात पारेको थियो ।

यता प्रतिनिधिसभा चुनावमा पनि काँग्रेसले रौतहटका ४ वटा निर्वाचन क्षेत्र मध्ये २ मा सफलता हात पारेको थियो ।  रौतहट क्षेत्र नम्बर २ बाट आलम विजयी  भएका थिए भने ४ बाट देवप्रकाश तिमिल्सेना । ८ स्थानीय तह र २ वटा प्रतिनिधिसभामा समेत काँग्रेसले कब्जा जमाउनुमा मुख्य भूमिका आलमकै थियो । आलमको प्रभाव जिल्लामा मात्र सीमित छ्रैन, काँग्रेसको केन्द्रीय राजनीतिमा पनि उनको त्यतिकै प्रभाव छ ।

राजनीतिमा आलम : चार पटक सांसद–मन्त्री

तीन पटक संसदीय निर्वाचनमा विजयी हुँदा नै आलम चार पटक मन्त्री भइसकेका छन् । हाल आलम चौथो पटकको संसदीय निर्वाचनमा समेत विजयी भएका हुन् ।

पहिलो पटक ०५४ सालको प्रतिनिधिसभा उपनिर्वाचनमा उम्मेद्वारी दिएर आलम विजयी भए । सोही क्रममा उनी तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा श्रम तथा यातायात सहायकमन्त्री भए ।

यस्तै ०५६ को प्रतिनिधि सभाको निर्वाचनमा पनि आलम आफ्नो पक्षमा नतिजा पार्न सफल भए । ०५७ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी वनमन्त्री भएका थिए । पछि फेरि ०५८ मा शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा पनि आलमले भूमिसुधारमन्त्रीको जिम्मेवारी पाए ।

०६४ सालको संविधान सभा निर्वाचनमा पनि उनी विजयी भए र ०६६ मा माधव नेपालको नेतृत्वमा बनेको सरकारमा श्रम तथा यातायातमन्त्री बने । श्रम तथा यातायात व्यवस्था मन्त्री भएको बेला आलम यातायात व्यवस्था विभागमा भ्रष्टाचार नियन्त्रणका लागि राखिएको सीसीटीभी निकाल्न खोजेर विवादमा परेका थिए ।

यसैगरी वैदेशिक रोजगारमा जाने कामदारबाट कल्याणकारी कोष वापत संकलन गरिने रकमको समेत दुरुपयोग गरेको आलममाथि आरोप थियो ।

तर ०७० सालमा भएको दोस्रो संविधान सभाको निर्वाचन भने उनको बसमा रहेन । उनकै भतिजा मुस्ताक आलम मैदानमा उत्रिएपछि उनी पराजित भएका थिए । ०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा उनी फेरि विजयी भए  ।

पार्टी राजनीति हार्दा पनि शक्तिमा

काँग्रेसको केन्द्रीय राजनीतिमा रहेका शेख इद्रिसकै राजनीतिमा आडमा आलम नेपाली काँग्रेसमा केन्द्रीय नेताका रुपमा उदाए । ०६७ सालमा काठमाडौंमा भएको काँग्रेसको १२ औँ महाधिवेशनमा समावेशी कोटाअन्तर्गत मुस्लिमतर्फबाट आलम केन्द्रीय समस्यमा निर्वाचित भएका थिए ।

यस्तै  १३ औँ महाधिवेशनमा पनि आलमले मुस्लिमका तर्फबाट उम्मेदवारी दिएका थिए । कोइराला परिवारको छत्रछायाँमा रहेको फर्मुल्लाह मन्सुर देउवा पक्षमा प्रवेश गर्दै उनीविरुद्ध उठेपछि आलम पराजित भए ।

त्यसो त केन्द्रीय सदस्यमा पराजित भए पनि आलमको राजनीतिक शक्ति भने क्षीण भएन । गिरिजाप्रसाद कोइरालाको निधनपछि उनका उत्तराधिकारीको पनि आलम विश्वास पात्र बने । पछिल्लो समयमा उनी महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहको खेमासँग नजिक छन् ।

काठमाडौँको बानेश्वरमा आफ्नै निवास बनाएर बसेका आलम वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मधेशका मामलामा आफूलाई शक्ति केन्द्रको रुपमा स्थापित गर्न सफल थिए । कतिसम्म भने मधेशको राजनीतिबारे कुनै पनि छलफल र निर्णयहरु गर्नुपर्दा पौडेल पक्षका नेताहरु बानेश्वरस्थित आलमकै निवासमा जमघट हुने गर्दथे ।

यस्तै पार्टीमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौलासँग पनि आलमको राम्रै सम्बन्ध छ । संगठन विस्तारमा जुटेका सिटौलाले प्रदेश दुईमा प्रभाव विस्तारका लागि आलमसँग ‘राम्रो दोस्ती’ राखेका थिए । सोही सिलसिलामा उनी समेत आलमसँग छलफल र सल्लाह गर्ने गर्दथे । साम, दाम र दण्डभेदका माहिर खेलाडी आलमलाई काँग्रेसका प्रमुख नेताहरुले मधेशमा आफ्नो राजनीति विस्तार र प्रभुत्व स्थापित गर्नका लागि सधैं साथ लिँदै आएका छन् ।

मृतक र घाइतेलाई इँटाभट्टामा जलाएको आरोपमा अनुसन्धानमा रहेका आलममाथिको अभियोग प्रमाणित भएमा आलमको सक्रिय राजनीतिक जीवन ध्वस्त त हुने नै छ, उनको अवसान भएको खण्डमा मधेशमा काँग्रेसको राजनीतिमा पनि ठूलै धक्का लाग्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप