मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

धमाधम पक्राउ पर्दै ‘पावरफुल’ व्यक्ति, यस्ता छन् अभियोग

चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाको फाइल प्रहरीले पल्टाउन थाल्यो
बुधबार, ०६ कात्तिक २०७६, १६ : १२
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कामकारवाहीका बारेमा चौतर्फी आलोचना भइरहेको समयमै अपराध तथा आपराधिक गतिविधिविरुद्ध नतिजा देखिने गरी सरकार कम्मर कसेर अघि बढेको प्रतीत हुन थालेको छ । 

पछिल्लो समय धमाधम ‘पावरफुल’ व्यक्तिहरु पक्राउ हुनुलाई यसको उदाहरण मान्न सकिन्छ । सभामुख कृष्णबहादुर महरादेखि गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेश थापासम्म प्रहरी फन्दामा परिसकेका छन् । 

नेपालको राजनीतिक इतिहासमा यति ‘पावरफुल’ व्यक्ति कानुनी कारवाहीमा तानिएका उदाहरण विरलै पाइन्छ ।

पक्राउ पर्नेहरुमा सांसददेखि नेता पनि छन् । विगतमा आपराधिक क्रियाकलाप गरेर ढाकछोप गर्दै आए पनि स्वयं प्रधानमन्त्री ओलीबाट ‘हरियो झण्डा’ पाएर प्रहरीले सक्रियता बढाएपछि उनीहरु पक्राउ पर्न थालेका हुन् ।

विगतमा राजनीतिक आवरणमा आपराधिक क्रियाकलाप गर्दै ढाकछोप गरेर आए पनि अहिले प्रहरीले छोपिएका अपराध खोतल्न थालेपछि अन्य नेताहरु समेत त्रसित भएका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले ‘विगतमा चलखेल र दबाबका भरमा लुकाइएका धेरै घटनाको फाइल प्रहरीले पल्टाउन थालेको’ बताए । 

पछिल्लो समय आपराधिक क्रियाकलाप गरेर राजनीतिको आडमा ढाकछोप गर्दै आइरहेका सांसद, नेता जो कोहीलाई पनि प्रहरीले पक्राउ गर्न सफल भएको छ । 

प्रवक्ता पोखरेलका अनुसार राजनीतिक आडमा बसेर अपराधिक क्रियाकलाप गर्ने जो कोही पनि पक्राउ पर्नेछन् ।

 उनले भने, ‘प्रहरी अब चुप लागेर बस्नेवाला छैन । जसले गल्ती गर्छ ऊ कानुनी कठघरामा आउनु पर्छ नै ।’

पछिल्लो समय ६ जना उच्च ओहोदाका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । हेरौँ कुन व्यक्ति के मुद्दामा पक्राउ परे ?

कृष्णबहादुर महरा, निवर्तमान सभामुख
संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार आरोप लागेपछि निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले असोज १९ गते नियन्त्रणमा लियो । 

प्रहरीले महरालाई बालुवाटारस्थित सरकारी निवासबाटै पक्राउ गरेको हो । काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि प्रहरीले महरालाई पक्राउ गरेको हो । 

सभामुख महराबाट आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । 

असोज १२ गते राति महराले आफूलाई बलात्कारको प्रयास गरेको भनी शाहीले १४ गते मंगलबार मिडियामार्फत सार्वजनिक गरेकी थिइन् ।

तर, त्यसको भोलिपल्टै बयान फेर्दै उनले महरा आफ्नो बाबु समान रहेको र आफूमाथि बलात्कारको प्रयास नगरेको बताएकी थिइन् । 

यद्यपि, उनले महराविरुद्ध असोज १८ गते बानेश्वर प्रहरीमा जाहेरी दिएकी थिइन् । आरोप लागेसँगै असोज १४ गते मंगलबार महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

त्यसो त आफूले महराविरुद्धको जाहेरी प्रहरीको दबाब र करकापमा दिएको भन्दै रोशनीले त्यसका विरुद्ध अदालतमा निवेदन समेत दिइसकेकी छन् ।

नरेश थापा, गृहमन्त्रीका भाइ
दुई वर्षअघि राजधानीमा भएको एउटा हत्याकाण्डका मुख्य अभियुक्तसँग मिलेर फिरौती संकलनमा सक्रिय रहेको आरोपमा नरेश थापा भदौ २६ गते पक्राउ परे । उनी गृहमन्त्री रामबहादुर थापाका साइँला भाइ हुन् । 

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको २०७४ असोज २३ गते हत्या भएको थियो । घरबाट कार्यालय जाँदै गर्दा शान्तिनगरमा गाडीभित्रै गोली प्रहार गरी उनको हत्या भएको थियो । 

उक्त हत्याका मुख्य योजनाकार समीरमान बस्नेतलाई तीन महिनापछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भारतबाट पक्रेर ल्याएको थियो । यिनै समीरसँग नरेशको सम्पर्क जोडिएको देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । 

पछिल्लो समय सुन्धारास्थित केन्द्रीय कारागारमा रहेका समीरले थुनाभित्रैबाट फिरौती संकलन तीव्र बनाएको सूचना पाएपछि सीआईबीले गत साउन अन्तिम साता उनका सहयोगीहरू पवन खड्का र सुरेन नगरकोटीलाई समातेको थियो ।

प्रहरी उच्च स्रोतका अनुसार, समीरले फिरौती संकलनमा खटाएका यी दुई व्यक्ति पक्राउ परेसँगै गृहमन्त्रीका भाइ नरेश अनुसन्धानमा तानिएका थिए । 

पवन र सुरेन पक्राउपछि प्रहरीले उनीहरूको ‘कल डिटेल रेकर्ड’ समेत झिकाएर अनुसन्धान गरेको थियो । ‘कल डिटेल रेकर्ड’मा गृहमन्त्रीका भाइ नरेश र पवनबीच ‘मिलेर काम गर्नुपर्छ’भन्ने आशयका सन्देश आदानप्रदान भएको देखिएको थियो । 

नरेश यतिबेला धरौटीमा रिहा भइसकेका छन् । काठमाडौं जिल्ला अदालतले नरेशलाई असोज १ गते एक लाख धरौटीमा रिहा गरेको हो ।

जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलासले मुद्दाको पुर्पक्षका लागि एक लाख धरौटी माग गरेको थियो । धरौटी वापत नगदै बुझाएर थापा घर फिरेका हुन् । थापाविरुद्ध आपराधिक लाभ र संगठित अपराधको अभियोगमा मुद्दा चलाइएको छ । 

मोहम्मद अफ्ताव आलम, सांसद
निवर्तमान सभामुख महरा पक्राउ परेको एक हप्तापछि प्रतिनिधिसभा सदस्य मोहम्मद अफ्ताव आलम रौतहटको गौरबाट पक्राउ परे । 

२०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा सांसद आलमलाई असोज २६ गते रौतहट प्रहरी र प्रहरी मुख्यालयको संयुक्त टोलीले पक्राउ गरेको हो ।

पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन रौतहटमा भएको विस्फोटको घटनामा आलमको प्रत्यक्ष संलग्नता रहेको भन्दै घटनाका पीडितहरु र स्थानीयहरुले समेत यतिबेला मुख खोलेर बोल्न थालेका छन् । 

२०६४ चैत २७ गते राति रौतहटको राजपुरमा बम बनाउने क्रममा विस्फोट भएको थियो । निर्वाचनमा आतंक फैलाएर आफ्नो पक्षमा माहोल बनाउन बम बनाउने क्रममा भएको भनिएको उक्त विस्फोटमा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र १३ जना गम्भीर घाइते भएका बताइएको छ । 

घटना ढाकछोप गर्न घाइते सबैलाई राजपुरस्थित ईंटाभट्टामा जिउँदै जलाएर बेपत्ता बनाएको आरोप पीडित परिवारका सदस्यले लगाउँदै सांसद आलमसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएका थिए ।

उक्त घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरी संलग्नलाई कारबाही गर्न २०६९ सालमा सर्वोच्च अदालतले आदेश दिएको थियो । बम विस्फोटको घटनामा पक्राउ परेका दुई जनाले दिएको बयानका आधारमा सांसद आलमको पनि संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । आलम नेपाली कांग्रेसको तर्फबाट रौतहट क्षेत्र नंं २ बाट निर्वाचित सांसद हुन् ।

आलमको पक्राउ लगत्तै नेपाली कांग्रेस रौतहटले प्रतिरोधमा सडक संघर्ष थालेको थियो । कतिसम्म भने नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले त आलमविरुद्ध प्रतिशोधपूर्ण कारवाही भएको भन्दै सार्वजनिक रुपमै आलमको समर्थनमा उत्रिएका थिए । उनको त्यो भनाइको सर्वत्र आलोचना भएपछि देउवाले ‘घटनाको निष्पक्ष छानविन हुनुपर्ने र त्यसमा कांग्रेसले सघाउने’ भन्न बाध्य भएका थिए ।

प्रमोदकुमार साह, सांसद
जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टरमा तोडफोड र कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा असोज २८ गते सांसद प्रमोदकुमार साह पक्राउ परे । 

राष्ट्रिय जनता पार्टीका सांसद साहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकै दिन सांसद साहलाई जिल्ला अदालत धनुषा पठाइयो । जिल्ला प्रहरी कार्यालय धनुषाको अनुरोधमा अदालतले सांसद साहविरूद्ध पक्राउ पूर्जी जारी गरेको केही घन्टामै साह पक्राउ परेका हुन् । साह काठमाडौंबाट जनकपुर फर्किन लाग्दा पक्राउ परेका थिए ।

सर्लाहीबाट निर्वाचित सांसद साहले असोज २७ गते समयमै जहाज नआएको भन्दै बुद्ध एयरको जनकपुरस्थित काउन्टरमा तोडफोड र कर्मचारीलाई अभद्र व्यवहार गरेका थिए ।

११ः४० मा उडान हुनुपर्ने बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म नआएपछि उनले आक्रोश पोख्नेक्रममा त्यसो गरेका थिए । उक्त घटनापछि मुद्दा खेपेका सांसद साह यतिबेला साधारण तारेखमा रिहा भएका छन् ।  जिल्ला अदालत धनुषामा भएको थुनछेक बहसपछि कात्तिक १ गते साहलाई साधारण तारेखमा रिहा गरिएको हो ।

पार्वत गुरुङ, सांसद
ज्यान मार्ने उद्योग गरेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी गरिएका प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ कात्तिक ३ गते जिल्ला अदालत काठमाडौंमा हाजिर भए । 

जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार सांसद गुरुङ कार्यालय समय सुरु हुनेबित्तिकै अदालत हाजिर भएका थिए । अदालतले उनको बयान लिएको छ ।

दोलखाका वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा सांसद गुरुङसहित ७ जनाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।

प्रतिवादीहरु फरार रहेको भन्दै अदालतमा मुद्दा पेश भएपछि जिल्ला अदालतले सांसद गुरुङविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

दिपेन्द्रकुमार यादव, नेकपा नेता
कीर्ते गरेर ठगी गरेको आरोपमा फरार रहेका नेकपा नेता दिपेन्द्रकुमार यादव (दिपु) असोज २९ गते पक्राउ परे । जनकपुरधामस्थित सहयोगी विकास बैंक लिमिटेड सञ्चालक समितिका सदस्य रहेका यादवलाई जनकपुरधाम–८ बलवा टोलस्थित उनकै निवासबाट धनुषा प्रहरीले पक्राउ गरेको हो । 

यादवमाथि जनकपुरधाम १० कालालबाबु रौनियारको धितो राखिएको जग्गाको रकम चुक्ता नगरेको अभियोग छ ।

८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादवकहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । ऋणवापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि उनले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।

पीडित रौनियारको बर्दिवास स्थित ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ । जिल्ला अदालत धनुषाले गत साउन १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी फरार थिए । 

यादव धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभा निर्वाचनमा नेकपाबाट उम्मेदवार बनेका थिए ।

पक्राउ परेका यादवमाथि थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

दीपक मनाङ्गे, प्रदेश सांसद
यसअघि प्रहरीले फरार रहेका दीपक मनाङ्गे (राजीव गुरुङ) लाई गत वर्ष वैशाख ६ गते पक्राउ ग-यो । प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूको तीनधारास्थित घरबाट नै गुरुङलाई पक्राउ गरेको हो ।

पक्राउ परेका गुरुङ हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनले सांसदको सपथ समेत लिएका छन् । 

सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा मनाङ्गेलाई ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार थिए । 

ज्यान मार्ने उद्योगमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो । अदालत बाहिर रहेर मुद्दाको पुनरावेदन गर्न पाउने गरी अदालतले आदेश दिएसँगै उनले प्रदेशसभा सदस्यको जिम्मेवारी सम्हालेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप