शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

महरालाई किन भेट्न चाहँदैनन् शीर्ष नेताहरु ?

बुधबार, ०६ कात्तिक २०७६, १५ : ४६
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौं । एक महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई भेट्न पार्टीका शीर्ष नेताहरुमध्ये कोही पनि गएका छैनन् ।

पक्राउ परेलगतै अस्वस्थ्य भएका महरा नर्भिक अस्पतालमा उपचार गराइरहेका छन् । विगतको भन्दा स्वास्थ्यमा केही सुधार भए पनि उनको उपचार जारी छ । प्रतिपक्षी दल कांग्रेसका नेता कृष्ण सिटौला, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्नि सापकोटा, मातृका यादव, देव गुरुङ लगायतका नेताहरुले महरालाई भेटेको भएपनि नेकपाका शीर्ष तहका नेता अर्थात् सचिवालयका सदस्यमध्ये कोही पनि नगएको महराका छोरा राहुलले बताए ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीको घरमा गएर जवर्जस्ती करणी गरेको आरोप महरामाथि लागेको छ । सो घटनाको बारेमा प्रहरीले जाँचबुझ गरिरहेको छ भने सरकारी वकिल कार्यालयले बयान पनि लिइरहेको छ । 

महरामाथि लागेको आरोप प्रमाणित भएको छैन । तर पार्टीका शीर्ष नेताहरु बदनाम हुने डरले भेट्न नगएको पार्टी स्थायी समितिका एक नेताले बताए । ती नेताले भने, ‘नेकपाले सरकारको नेतृत्व गरिरहेको छ, महराजीमाथि आरोप लागेको छ, छानविन चलिरहेको छ, कोही शीर्ष नेता भेट्न गए भने अनुसन्धानलाई प्रभावित पार्न आएको भनि आरोप लाग्न सक्छ । त्यही डरले शीर्ष तहका नेताहरु उहाँलाई भेट्न नगएको हुनसक्छ ।’
महरा पार्टीको शीर्ष नेतामध्येका एक हुन्, अपराध जस्तो गरे पनि अस्वस्थ्य भएका छन् भने मानवीय हिसाबले पनि उनलाई भेट्न जानुपर्ने कतिपय नेताको टिप्पणी छ । 

महरालाई एनजीयोग्राफी गराइएको छ । थोरै सुधार देखिए पनि प्रेसर नियन्त्रण हुन नसकेको उनका छोरा राहुलले बताए ।  

त्यसो त एक सूत्रका अनुसार महरासँग कुराकानी र भेटघाट गर्न नेकपाका केही उच्च नेताहरुले प्रयास गरेको तर स्वयं महरा नै भेट्न नचाहेको पनि बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप