शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कार्यालय समय तीन थरी विभाजन गरौँ, वान–वे विस्तार गरौँ !

राजधानीलाई ट्राफिक जामबाट मुक्त तुल्याउन सीताराम हाछेथुका पाँच सुझाव
बुधबार, ०६ कात्तिक २०७६, १३ : ४१
बुधबार, ०६ कात्तिक २०७६

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक जामको समस्या भयावह बन्दै गइरहेको छ । सीमित स्रोत र साधनका बाबजुद ट्राफिक प्रहरीले सवारी आवागमन सहज तुल्याउन निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहे पनि ट्राफिक प्रहरीको मात्र प्रयासले राजधानीको सवारी आवागमन सहज हुने अवस्था देखिएको छैन ।

काठमाडौँ उपत्यकामा ३ लाख सवारी साधन हुँदा बनाइएको सडक नियमका आधारमा अहिले १२ लाख सवारी साधन व्यवस्थापन गर्नु कम चुनौतीपूर्ण विषय होइन । सवारी साधन थपिँदै गए पनि भौतिक पूर्वाधार, सडक व्यवस्थापनको अवस्था र नियमहरु जस्ताको तस्तै छन् । जसले गर्दा ट्राफिक प्रहरीमात्रको प्रयासले सवारी जाम घटाउन सक्ने अवस्था नरहेको पूर्वप्रहरी निरीक्षक सीताराम हाछेथु बताउँछन् । प्रहरी सेवामा रहँदा लामो समय ट्राफिक प्रहरीका रुपमा काम गरेका उनी कुशल ट्राफिक व्यवस्थापक मानिन्छन् ।

राजधानीको ट्राफिक व्यवस्थापनमा लामो अनुभव सँगालेका उनी सरकारले चाहे दुई महिनामै ट्राफिक जामको समस्या समाधान गर्न सकिने दावी गर्दछन् । ‘सरकारले चाहे गर्न नसकिने होइन,’ उनले भने, ‘ट्राफिक प्रहरीले सडकमा सवारी साधन व्यवस्थापन गरिहाल्छ नि भनेर बस्यो भने केही वर्षमै राजधानीका सडक अस्तव्यस्त बन्ने खतरा बढ्दो छ ।’

हाछेथुले राजधानीको सडकमा सवारी आवागमन कसरी सहज बनाउन सकिन्छ भन्नेबारे केही ‘टिप्स’ पनि सुझाएका छन् । सरकारले चासो दिएमा एकै दिनमा गर्न सकिनेदेखि लिएर दुई महिनासम्ममा सम्पन्न हुने कार्ययोजनासहितका ‘टिप्स’ उनले रातोपाटीमार्फत अघि सारेका छन् ।

सीताराम हाछेथुका पाँच टिप्स

१. कार्यालय समय परिमार्जन

हाछेथुले सरकारी कार्यालय, स्कुल, कलेज तथा बैङ्क तथा अर्धसरकारी कार्यालयलाई तीन तहमा वर्गीकरण गरी कार्यालय समय परिमार्जन गर्न सुझाएका छन् । यससम्बन्धी निर्णय सरकारले एकै दिनमा गर्न सक्ने र भोलिपल्टैदेखि कार्यान्वयन गर्न सकिने उनको भनाइ छ । यसका लागि सरकारले एक रुपैयाँ पनि खर्च गर्न नपर्ने, मन्त्रिपरिषदबाट निर्णय गरेकै भरमा लागू गर्न सकिने उनले बताए ।

राजधानीमा रहेका ‘मल्टिप्लेक्स’ सिनेमा घरको उदाहरण दिँदै उनी भन्छन्, ‘एउटै छानामुनी तीन÷चारवटा सिनेमा हल छन्, ती सबैमा फिल्म सुरु हुने समय अलग अलग हुन्छन् ।’

यसो गर्नुमा भीड व्यवस्थापनको वैज्ञानिक आधार रहेको उनको भनाइ छ । ‘एउटै छानामुनी रहेका हलहरुमध्ये एउटा हलमा ११ बजे फिल्म सुरु हुन्छ, दोस्रोमा ११ः३० मा सुरु हुन्छ, तेस्रोमा १२ बजे सुरु हुन्छ । यसो गर्दा आधा घण्टाको फरकमा ती हलले एक हजार दर्शक, उनीहरुको सवारी साधनलाई सजिलै व्यवस्थापन गर्न सक्छन् ।’

उनले प्रश्न गरे, ‘तपाईं सोच्नुस् त, एक हजार मानिस एकैपटक मल्टिप्लेक्समा पुग्ने हो भने व्यवस्थापन कसरी गर्न सकिएला ?’ आधा घण्टाको अन्तरालमा ३÷४ सय मानिस व्यवस्थापन गर्न सहज हुने भएकाले नै मल्टिप्लेक्सहरुले अलग अलग ‘शो टाइम’ बनाएर आफ्ना दर्शक र उनीहरुको सवारी साधन व्यवस्थापन सहज तुल्याएको उनको भनाइ छ ।

उनले स्कुल तथा कलेज ९ बजेसम्म पुगिसक्नुपर्ने, बैङ्क तथा अर्धसरकारी कार्यालय ९ः३० बजे खुल्ने र सरकारी कार्यालय १०ः३० बजे खुल्ने गरी कार्यालय समय परिमार्जन गरेमा राजधानीको ट्राफिक व्यवस्थापन धेरै हदसम्म सहज हुने बताए । स्कुल तथा कलेजको छुट्टी हुने समय पनि यसैगरी अलग तुल्याउनुपर्ने उनको भनाइ छ । स्कुल ३ बजे, बैङ्क तथा अर्धसरकारी कार्यालय ४ बजे र सरकारी कार्यालय ५ बजेसम्म सञ्चालन गर्न उनले सुझाएका हुन् ।

२. वान–वे विस्तार गर्ने

हाछेथुले सरकारको एक रुपैयाँ पनि खर्च नभइ ट्राफिक व्यवस्थापन सुधार गर्न सकिने अर्को टिप्सका रुपमा ‘वान–वे’ (एकतर्फी बाटो) विस्तार गर्न सुझाव दिएका छन् । यो तरिका सरकारले चाहेमा तत्कालै लागु हुन सक्ने उनले बताए ।

राजधानीमा हाल टुँडिखेल तथा सहिदमञ्च वरिपरि तथा मैतीदेवीबाट पुतलीसडकसम्मको सडक ‘वान–वे’ छन् । विदेशमा ट्राफिक व्यवस्थापन सहज तुल्याउन ‘वान–वे’ विस्तार गरिएको उदाहरण दिँदै रातोपाटीसँग उनले भने, ‘यो तरिका अपनाएर अतिरिक्त खर्चबिना नै ट्राफिक व्यवस्थापन सहज तुल्याउन सकिन्छ ।’ चरणवद्ध रुपमा ‘वान–वे’ विस्तार गर्नुपर्ने उनको भनाइ छ ।

टुँडिखेल वरिपरिको ‘वान–वे’लाई विस्तार गर्दै पहिलो चरणमा केशर महल, दरवारमार्ग, घण्टाघर, भद्रकाली, सहिद गेट, एनएसी, जमलसम्म एक तर्फी यातायात सञ्चालन गर्न सकिने उनले बताए ।

दोस्रो चरणमा यसलाई केशरमहल, जयनेपाल, पुतलीसडक, थापाथली, त्रिपुरेश्वर, सुन्धारा हुँदै विस्तार गर्न सकिने उनको भनाइ छ । यसो गर्दा अहिले दुई लेन रहेका सडकमा चार लेन सवारी साधन एकै दिशामा गुड्न सक्ने जिकिर गर्दै उनले भने, ‘सडक विस्तार गर्न नसक्दा एकतर्फी यातायात सञ्चालन गरेर सडकमा गति कायम गर्न सकिन्छ, जसले गर्दा सवारी जाम स्वतः घट्छ ।’

३. ट्राफिक लाइट

उपत्यका प्रवेश गर्ने मुख्य नाका, मुख्य चोकहरुमा ट्राफिक लाइट जडान गर्दा सवारी व्यवस्थापनमा सहज हुने हाछेथु बताउँछन् । राजधानीका कतिपय चोकमा अझै पनि ट्राफिक प्रहरीले हात हल्लाएर सवारी साधनलाई रोक्ने र जाने सङ्केत गर्नुपरेको उदाहरण दिँदै उनले भने, ‘जतिबेला राजधानीमा ३–४ लाख सवारी साधन थिए, त्यो बेला यो तरिका ठिक थियो होला, अहिले त १२ लाख सवारी साधन गुड्छन् । यति धेरै सवारी साधनलाई ट्राफिक प्रहरीले हात हल्लाएर इशारा गर्ने होइन, प्रविधि प्रयोग गरेर व्यवस्थित तुल्याउनु पर्दछ ।’

सरकारले चाहेमा ट्राफिक लाइट विस्तार गर्नु ठूलो कुरा नभएको र त्यति धेरै खर्चिलो पनि नहुने उनको भनाइ छ । ‘एक महिना मै ट्राफिक लाइट जडान गर्न सक्ने मान्छे नेपालमै छ,’ उनले भने, ‘सरकारले एक दिनमा बागमतीको पानी ३ करोड लिटर प्रशोधन गर्ने योजना बनाउन सक्छ, थानकोट–नौबिसे सुरुङ निर्माणमा १९ अर्ब खर्च गर्न सक्छ भने ट्राफिक लाइट थप्न नसक्ने कुरै छैन ।’

प्रधानमन्त्रीले हालै शिलान्यास गरेको सुरुङ मार्गमा दैनिक ६०–७० हजार मानिस ओहोर–दोहोर गर्ने उल्लेख गर्दै हाछेथु भन्छन्, ‘हामी देशको राजधानीको मुटुमा सवारी व्यवस्थापनको कुरा गरिरहेका छौँ, यहाँ दैनिक लाखौँ मानिस ओहोर–दोहोर गर्छन् । यसमा किन ध्यान नदिने ?’

एउटा चोकमा ट्राफिक लाइट राख्न एक करोड रुपैयाँ लाग्ने उदाहरण दिँदै उनले १०० वटा चोकमा ट्राफिक लाइट राख्न एक अर्ब रुपैयाँ भए पुग्ने बताए । सरकारले अर्बौंका योजनाहरु कार्यान्वयनमा ल्याइरहेको समयमा एक अर्ब रुपैयाँ खर्चिएर राजधानीको ट्राफिक व्यवस्थापन सुधार आउँछ भने त्यसबाट पछि हट्न नहुने उनको तर्क छ ।

४. फ्लाइओभर र आकाशे पुल

हाछेथुले राजधानीका विभिन्न स्थानमा ‘फ्लाइओभर’ र आकाशे पुल बनाउनुपर्ने सुझाव दिएका छन् । पैदल यात्रुको भीड हुने क्षेत्रमा आकाशेपुल र विभिन्न दिशाबाट जोडिने साँघुरो सडकमा ‘फ्लाइओभर’ बनाएर यातायात व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

५. करिडोरको स्तरवृद्धि

उनले राजधानीका विभिन्न खोला किनारमा बनेका करिडोरको स्तरवृद्धि गर्नुपर्ने बताए । हाल ट्रयाक खुलेका करिडोर स्तरवृद्धि गरेर सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ । ‘कतिपय ठाउँमा पुलमुनि ट्रयाक खुलेको छैन, ती स्थानमा स्तरवृद्धि गर्दै निर्वाध यातायात सञ्चालन हुने व्यवस्था गर्न सकेमा ट्राफिक जाम निकै कम हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप