बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

लाटोकोसेरोका १२ रोचक पक्ष

सोमबार, १५ जेठ २०७४, १६ : ५५
सोमबार, १५ जेठ २०७४

जापानमा मात्रै होइन, युरोपमा समेत बुद्धिजीवी मानिसलाई लाटोकोसेरोको संज्ञा दिइन्छ । तर, नेपालमा काम नलाग्नेलाई उल्लु (लाटोकोसेरो) जस्तो भनेर गाली गरिन्छ । त्यही लाटोकोसेरो किसानका साथी हुन् भनेर धेरैलाई थाहा छैन । अरूलाई त भएन/भएन किसानलाई समेत थाहा छैन ।

लाटोकोसेरो किसानका साथी

लाटोकोसेरो किसानका साथी भन्ने गरिन्छ । तर, कसरी भए ? लाटोकोसेरोविद् राजु आचार्यले प्रस्ट्याए, ‘लाटोकोसेरोले फुल पारेर कोरल्छ । बच्चा पारेपछि हुर्काएर उडाउन चार महिना लाग्छ । चार महिनामा एउटा लाटोकोसेरो परिवारले तीन हजार मुसा खान्छ । मुसा किसानका शत्रु हुन् । उसले धान, मकै, गहुँलगायत अन्नबाली खाइदिन्छ । मुसा नियन्त्रण गर्ने भएकाले संसारभरि लाटोकोसेरोलाई किसानका साथी भनिएको हो ।’

हामी जब सुत्छौं, अनि मात्रै लाटोकोसेरो बाहिर निस्कन्छ । लाटोकोसेरोले के खान्छन् भन्ने हामीलाई थाहा छैन । उसले मुसाबाहेक सर्प, भ्यागुता, कीराफट्याङ्ग्रासमेत खान्छ । लाटोकोसेरोले कीराफट्याङ्ग्रासमेत खाइदिएपछि किसानलाई हाइसन्चो हुने नै भयो । लाटोकोसेरो धेरै पाइने ठाउँको खेतिपाती राम्रो हुन्छ ।

दक्षिण अफ्रिकामा लाटोसेरोलाई गुँड

नेपालमा लाटोकोसेरो संरक्षणका लागि सरकारीस्तरबाट केही काम भएको छैन । दक्षिण अफ्रिकामा सरकारले नै लाटोकोसेरोलाई काठको कृत्रिम गुँड बनाएर किसानलाई बाँड्दै आएको छ । किसानले गुँड खेतबारीमा राखिदिन्छन् । वनकै लाटोकेसेरोले त्यहाँ फुल पार्छ । कोरल्छ । बच्चा हुर्काउँछ ।

त्यतिबेला किसानले विषादिमा जति खर्च गर्थे, कृत्रिम गुँड राख्न थालेपछि ५० प्रतिशत कमी आएको लाटोकोसेरोविद् आचार्यले जानकारी गराए ।

पर्यावतरण सन्तुलित राख्ने

लाटोकोसेरोको उपस्थितिले सम्बन्धित ठाउँको वातावरण स्वस्थ छ कि छैन भनेर जान्न सघाउँछ । जर्मनीबाट वनविज्ञानमा स्नातकोत्तर गरेका लाटोकोसेरोविद् आचार्यले भने, ‘हामी इकोसिष्टमबारे जानकार छौं । जस्तै घाँस हुन्छ, घाँसमा कीराफट्याङ्ग्रा, मुसा, सर्प आदि हुन्छन् । त्यसलाई लाटोकोसेरोले खान्छ । लाटोकोसेरोलाई खाने कमै हुन्छ । इकोसिष्टममा माथिको प्रजाति भएपछि तलको पनि हुन्छ । तसर्थ, जहाँ लाटोकेसेरो पाइन्छ, त्यहाँको वातावरण स्वच्छ हुन्छ ।’

पर्यटन प्रवद्र्धनमा लाटोकोसेरो

संसारमा २ सय २५ प्रजातिका लाटोकोसेरो पाइन्छन् । नेपालमा २२ प्रजातिका लाटोकोसेरो भेटिएका छन् । चरामात्रै हेर्न आठ प्रतिशत पर्यटक नेपाल आउँछन् । पहिले पाँच प्रतिशत थियो । चरामध्ये लाटोकोसेरो पनि एक हो । तसर्थ, लाटोकोसेरोले पर्यापर्यटनमा सघाउ पुर्याउँदै आएको छ ।

धार्मिक तथा सांस्कृतिक मान्यता

लाटोकोसेरोलाई लक्ष्मीको वाहन मानिन्छ । ‘पहिले हामीसँग पैसा थिएन । त्यतिबेलाको पैसा भनेको अन्न हो,’ प्रकृतिका साथीहरू नामक संस्थाका कार्यकारी निर्देशकसमेत रहेका आचार्यले सुनाए, ‘त्यतिबेला वस्तु विनिमयप्रथा थियो । अन्न जोगाउनु भनेको पैसा जोगाउनु हो । देवी भनेको पैसाका प्रतीक हुन् ।’

गुरुङ संस्कृतिमा लाटोकोसेरोको त्यत्तिकै महत्व छ । कुनै बेला संसारभरि अँध्यारो थियो । लाटोकोसेरोले तपस्या गरेर सात घाम मागे । माग प्ूरा भएपछि रात परेन । सधैं दिन भएपछि अस्तव्यस्त भयो । लाटोकोसेरोले फेरि तपस्या गरेर सात जून मागे । माग पूरा हुँदा अँध्यारोमात्रै भयो । फेरि घाम/जून मिलाएर देऊ भनेपछि रात र दिन हुन थालेको भन्ने गुरुङ समुदायमा प्रचलित किंवदन्ती छ ।

हिमपात हुन थालेपछि मुस्ताङका मानिस जाडो छल्न तल झर्छन् । उनीहरूले घरमा लाटोकोसेरो र कागको प्वाँख राखेका हुन्छन् । राति लाटोकोसेरो र दिउँसो कागले घरको रक्षा गर्ने उनीहरू विश्वास गर्छन् । घरमा लाटोकोसेरो झुन्ड्याइयो भने भुतप्रेत, पिशाच भगाउँछ भन्ने विश्वाससमेत गरिन्छ ।

अमेरिकाका कतिपय ठाउँमा कतै निस्कँदा लाटोकोसेरो देखियो भने साइत बिग्रेको ठानिन्छ भने नेपालमा पनि कतिपयले घरको धुरीमा बसेर लाटोकोसेरो राति करायो भने अनिस्ट हुने विश्वास गर्छन् ।

लाटोकोसेरोको रक्सी उत्तम

चीन र भियतनाममा लाटोकोसेरोको रक्सी बनाइन्छ । चीनमा लाटोकोसेरोलाई १० वर्षसम्म बोतलमा राखेपछि रक्सी बनाउने गरिन्छ । बेलायतबाट कृषि वनमा स्नातकोत्तर गरेका आचार्यले थपे, ‘त्यसमा अन्य जनावर मिसाएर रक्सी बनाउँदा उत्तम मानिदोरहेछ । त्यो रक्सी पिउँदा बाथरोग निको हुनुको साथै यौनवद्र्धक पनि मानिन्छ ।’

७५ जिल्लाबाटै अवैध व्यापार

नेपालबाट सालिन्दा दुई हजारको हाराहारीमा लाटोकोसेरोको अवैध व्यापार हुने विभिन्न अध्ययनले देखाएको छ । मारेपछि लाटोकोसेरोले मूल्य पाउँदैन । अन्य जनावर मारेर अवैध व्यापार गरिन्छ तर लाटोकोसेरोचाहिँ जीवित गरिन्छ ।
लाटोकोसेरेको अवैध व्यापारबारे जान्न/बुझ्न तस्कर र दलाल बनेर अभिनयसेत गरेका उनले ७५ जिल्लाबाटै हुने गरे पनि लाटोकोसेरोको सबैभन्दा बढी अवैध व्यापार दोलखाबाट हुने गरेको थाहा पाए ।

झारफुक गर्दा लाटोकोसेरो

भारतमा ठुल्ठूला तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्ने गर्छन् । केही वर्ष अघिसम्म कास्कीको पोखरामा पनि कालु नामक तान्त्रिकले झारफुक गर्दा लाटोकोसेरो प्रयोग गर्थे ।

‘भारतमा रोडदेखि करोडपतिसम्म छन्,’ आचार्यले भने, ‘ठूला तान्त्रिकले सातो गएको मानिसको सातो बोलाउन लाटोकोसेरो माग गर्छन् । उसले लाटोकोसेरो सँगै राखेर बिरामीको झारफुक गर्ने गर्छन् ।’ तान्त्रिक विद्यामा मात्रै होइन, चीनमा लाटोकोसेरोलाई जिउँदै पानीको भाँडामा हालेर ६÷७ दिनपछि त्यही पानी पिउने गरिन्छ । कसैले लाटोकोसेरोको हड्डी पिँधेर खाने गर्दै आएका छन् ।

मध्यएसियाका होटलमा लाटोकोसेरो राख्ने प्रचलन छ । होटलमा लाटोकोसेरो राखे सह आउने विश्वास गरिन्छ । लाटोकोसेरो देखेर पर्यटक आउनेसमेत बताइन्छ । लमजुङको एक होटलको रिसेप्सनमा पनि लाटोकोसेरो राखेको आचार्य स्वयम्ले देखेका थिए । उनले नेपालमा लाटोकोसेरोको मासु खाने गरिएकोसमेत बताए । धादिङ, नवलपरासी र चितवनका स्थानीयले लाटोकोसेरेको मासु खाएको आफूले देखेको उनले सुनाए ।

लाटोकोसेरोको तीन परेला

लाटोकोसेरो संरक्षणमा लागिपरेका आचार्यका अनुसार उसको तीनवटा परेला हुन्छन् । लाटोकोसेरोले आँखामा धुलो पर्यो भने माथिको परेला झिमझिम गर्छ भने आराम गर्दा तलको परेला माथि लैजान्छ । आराम गर्दा तलको परेला माथि लैजानु भनेको आँखा छोपेको हो । उसको तेस्रो परेला गाडीको वाइपरजस्तो हुन्छ । त्यो उसको नाकनजिक नीलो रंगको हुन्छ । लाटोकोसेरोको आँखालाई चिसो राखिरहनुपर्छ । उसको परेलानजिक पानी निस्कन्छ । पानी आँखाको सबै भागमा पुर्याउन तेस्रो परेलाले सघाउँछ ।

उसले नदेखीकन पनि सिकार गर्न सक्छ । कुनै घाँसेमैदानमा मुसा छ भने त्यो मुसा आफूदेखि कति दूरीमा छ भनेर सुनेरै थाहा पाउँछ । उसले एउटै दिशामा २७० डिग्रीमा टाउको घुमाउन सक्छ । उसले आँखा घुमाउन नसक्ने भएकाले टाउको घुमाउने गर्छ ।

संसारकै सानो लाटोकोसेरो मेक्सिकोमा

संसारकै सानो लाटोकोसेरो ‘एल्फ’ हो । एल्फ मेक्सिकोमा पाइन्छ । यसको तौल ३५ ग्रामको हुन्छ । संसारकै ठूलो लाटोकोसेरो हुचिल हो । हुचिल नेपालमा पनि पाइन्छ । यसको तौल चार किलोसम्म हुन्छ भनिए पनि उद्धार गर्नेक्रममा दुई किलोसम्मको भेटिएको लाटोकोसेरोविद् आचार्यले बताए ।

लाटोकोसेरोसम्बन्धी चेतनामूलक अभियान

प्रकृतिका साथीहरूले लाटोकोसेरोबारे जनचेतना जगाउन चेतनामूलक अभियान चलाउँदै आएको छ । उसले अभियानक्रममा नौ वर्षमा १५ हजार विद्यार्थी, तीन हजार ५ सय सर्वसाधारणलाई भेटेर लाटोकोसेरोबारे जानकारी गराएको छ । योक्रमले निरन्तरता पाएको छ ।

प्रकृतिका साथीहरूले ६ वर्षदेखि लाटोकोसेरो–हुचिल उत्सव गर्दै आएको छ ।

नेपालमा २२ प्रजातिका लाटोकोसेरो

नेपालमा चराको अध्ययन भएको दुई सय वर्ष भइसके पनि लाटोकोसेरोको प्रजाति र बासस्थानबारे मात्रै अध्ययन भएको देखिन्छ । काठमाडौं, ललितपुर भक्तपुर, कास्की, बागलुङ, गोरखामा गोथे लाटोकोसेरो पाइन्छन् ।

काठमाडौं उपत्यकालगायत पोखरातिर झ्याल तथा घरको प्वालतिर बस्ने गोथे लाटोकोसेरोले सबैभन्दा बढी मुसा खान्छ । गोथे बस्तीमा मात्रै पाइन्छ । गोथे भँगेराजस्तै हो । उसले घरको प्वालतिर गुँड बनाउँछ ।

लाटोकोसेरो तराई/मधेसदेखि ५,१०० मिटर उचाइसम्म भेटिन्छन् । लाटोकोसेरो प्रजातिकै हप्सिलो चार हजार मिटर उचाइमा मात्रै पाइन्छ । हप्सिलो हुम्ला र मुस्ताङमा भेटिएका छन् । नेपालमा पाइने २२ प्रजातिकै लाटोकोसेरो दुर्लभ मानिदैन ।

कुनै लाटोकोसेरो भुइँमा मात्रै बस्छन् भने कतिपय घरको दलिन, प्वाल, रूखको धोद्रोमा बस्ने गर्छन् । कतिपय भीरपहरा र घाँसेमैदान बस्छन् । उसले आफैं गुँड बनाउँदैन । अरूको प्रयोग गर्छ । लाटोकोसेरोले दुईदेखि १२ वटासम्म बच्चा उत्पादन गर्छ । औसतमा तीन/चार बच्चा पार्ने उसले दोलखामा सातवटासम्म उत्पादन गरेको लाटोकोसेरो जिल्ला वन कार्यालय दोलखाले उद्धार गरेको थियो । लाटोकोसेरो आयु दुईदेखि चार वर्षसम्म हुन्छ । चिडियाखानामा १२ वर्षसम्मका लाटोकोसेरो देख्न सकिन्छ ।

लाटोकोसेरो र हुचिल फरक/फरक भनिए पनि एउटै हुन् । उनले गुनासो गरे, ‘बाघ, भालुको हाराहारीमा अवैध व्यापार भए पनि लाटोकोसेरोलाई महत्वहीन ठानिएको छ ।’ कसैले केही नगरेको थाहा पाएपछि उनी सन् २००८ देखि लाटोकोसेरो संरक्षणमा लागेका हुन् । भन्छन्, ‘मैले गरेको कामको प्रभावमात्रै होइन, देखिनेगरी काम होस् भनेर यता लागेको हुँ ।’

दक्षिण एसियामै पहिलो

विश्व लाटोकोसेरो कोषका स्वयम्सेवी नेपाल प्रतिनिधि आचार्यले दक्षिण एसियामा लाटोकोसेरबारे काम नभएको आचार्यले बताए । उनले सन् २०११ मा अमेरिकामा भएको लाटोकोसेरो महोत्सवमा स्पेसल अचिभमेन्ट अवार्ड पाएका थिए । उनी अवार्ड थाप्ने दक्षिण एसियाकै पहिलो व्यक्ति हुन् । सालिन्दा दुईजनालाई अवार्ड प्रदान गरिने सो अवार्ड वर्ष दिनअघि ताइवानी महिलाले पाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खेमराज दाहाल
खेमराज दाहाल

खेमराज राजनीतिमा विशेष चासो राख्ने गर्दछन् 

लेखकबाट थप