शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

समृद्धि र प्रगतिको पथमा नेपाल अगाडि बढिरहेको छ: मन्त्री बाँस्कोटा

मङ्गलबार, ०५ कात्तिक २०७६, २२ : २६
मङ्गलबार, ०५ कात्तिक २०७६

चरिकोट-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल समृद्धि र प्रगतिको पथमा अघि बढिरहेको बताएका छनन् । रेडियो शैलुङको १२औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै सञ्चारमन्त्री बाँस्कोटाले सरकार प्रतिबद्ध भएर समुन्नत राष्ट्र निर्माण गर्नका लागि प्रगतिको पथमा अगाडि बढिरहेको बताए । 

हरेक बस्तीमा एक वर्षभित्र सञ्चार सेवा पु¥याउने सरकारको उद्देश्य रहेको बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले लामो समयदेखि रोकिएको फोर जी सेवा विस्तारको काम सात महिनामा नै सम्पन्न गरी ५९ ठाउँमा विस्तार भइसकेको र छिटै ५०० ठाउँमा विस्तार गरिने बताए । नेकपाले निर्वाचन घोषणापत्रमा उल्लेख गरेको प्रतिबद्धताअनुसार सरकार अघि बढिरहेको उल्लेख गर्दै उनले नेपालमा रेल सञ्चालन हुने कुरा अब असम्भव नभएको बताए । 

मन्त्री बाँस्कोटाले अपराधिक गतिविधिमा संलग्नलाई कारवाही शुरु भएकाले राजनीतिमा अपराधीलाई कुनै स्थान नभएको बताए । उनले भने, ‘‘सरकारले राजनीतिका नाममा हुने अपराधीकरणलाई रोक्नेछ ।’’ व्यावसायिकताको बहस गर्नुपर्ने समयमा कतिपय सञ्चारमाध्यम हेडलाइनकारितातिर लागेको उल्लेख गर्नुहुँदै उनले भ्रमको खेती नगर्न सञ्चारमाध्यमलाई आग्रह गरे । मन्त्री बाँस्कोटाले पर्यटन र ऊर्जा दोलखाको सम्पत्ति भएको र यसबाट जिल्लाको विकास गर्न सकिने बताए । 
 
सो अवसरमा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले पार्टी एकताको भावनालाई विभाजित गर्न र आफ्नो राजनीति सिध्याउने उद्देश्यले पुरानो राजनीतिक मुद्दा ब्युँताउन खोजिएको बताए । कार्यक्रममा पूर्वपर्यटनमन्त्री आनन्द पोखरेल, पूर्वराज्यमन्त्री देवी खड्का, प्रदेशसभा सदस्य पशुपति चौलागार्इं, रचना खड्कालगायतले शुभकामना व्यक्त गरेका थिए । 

मन्त्री बाँस्कोटाद्वारा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निरीक्षण

राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको आज सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्थलगत अवलोकन गरेका छन् । मन्त्री बाँस्कोटाले दोलखाको बिगु गाउँपालिकास्थित लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको तामाकोशी जलविद्युत् आयोजनाको आज निरीक्षण गरेका हुन् । 

सो अवसरमा मन्त्री बाँस्कोटाले आयोजनाको प्रगति, सम्पन्न हुने मिति, लागतलगायतको विषयमा जानकारी लिएका थिए । अवलोकनपश्चात् मन्त्री बाँस्कोटाले समयमा नै काम सम्पन्न गर्नका लागि निर्देशन दिए । निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको हालसम्मको अवस्थाका बारेमा आयोजनाका उपप्रबन्धक विमल गुरुङले जानकारी गराएका थिए । 

मन्त्रीसहित दोलखा प्रतिनिधिसभा सदस्य पार्वत गुरुङ, पूर्वमन्त्री आनन्द पोखरेल, नेकपाका नेता तथा प्रदेश नं ३ का सदस्य पशुपति चौलागार्इंलगायतको टोली आज बिहान लामाबगर पुगेको थियो । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा नेपाल टेलिकमले सात अर्ब रुपैयाँ लगानी गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप