शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी जापानी सम्राट्को गद्दी आरोहणमा सहभागी

मङ्गलबार, ०५ कात्तिक २०७६, २१ : ५१
मङ्गलबार, ०५ कात्तिक २०७६

टोकियो-राष्ट्रपति विद्यादेवी भण्डारी जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा आज अपराह्न सहभागी भएकी छिन्  । इम्पेरियल प्यालेसमा भएको समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा पनि सहभागी थिइन् ।  नयाँ सम्राट्लाई बधाई  तथा शुभकामना दिन करिब १८० देशका  राष्ट्रप्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि र अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधि राजधानी टोकियो आएका थिए । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन  आइतबार  राजधानी टोकियो आएकी थिइन् । 

स्थानीय समयानुसार अपराह्न १ देखि १ः३० सम्म भएको समारोहमा राजा नोरुहितो  क्रिसान्थेमम थ्रोन भनिने राजसिंहासनमा आसन ग्रहण गरे  ।  साम्राज्ञी मासाकोले पनि आफ्ना आसन ग्रहण गरिन् । समारोहमा अतिथिहरुले सम्राट् र  साम्राज्ञीप्रति उठेर शुभकामना तथा सम्मान जाहेर गरेका थिए । समारोहमा सम्राट् नोरुहितोले राष्ट्रका नाममा सम्बोधन गर्दै  आफूले आफ्ना पिता अकिहितो जस्तै जनताको सुखदुःखमा सहभागी भई शान्तिका लागि काम गर्ने बताए । प्रधानमन्त्री सिन्जो आबेले चियर्स गरी बधाई मन्तव्य दिँदै जापानी सम्राट् राष्ट्रिय एकताको प्रतीक भएको बताए । समारोहका अवसरमा इम्पेरियल प्यालेस बाहिर पानी झमझम नै परिरहेको थियो ।

आजै साँझ गद्दी आरोहणका उपलक्ष्यमा अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना गरिएको थियो । राजकीय भोजमा राष्ट्रपति भण्डारी अन्य अतिथिहरुसँगै सरीक भएका थिए । राजदूत राणाका अनुसार  प्रधानमन्त्री आबेले बुधबार राजदूतहरुका लागि भोजको आयोजना गरेका छ्  भने सम्राट् नोरुहितोबाट कात्तिक १४ गते भोजको आयोजना हुनेछ । 

सन् १९६० फेब्रुअरी २३ मा जन्मिएका सम्राट् नारुहितो गत मे १ मा क्रिसान्थेमम सिंहासनमा आसीन हुनुभएपछि रिवा युग शुरु भएको मानिएको छ । आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी  परित्याग गरेपछि उनी जापानका १२६ औँ सम्राट् भएका हुन् । सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने  उनी हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्छन् । उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गरेका थिए ।

पूर्वी एशियामा पर्ने जापानमा  संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ ।  प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् । तल्लो सदनमा ४८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २४२ सदस्य ६ वर्षका लागि चुनिन्छन् ।

जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ । गद्दी आरोहण समारोहका लागि राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलका सदस्य बनी गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी पनि  यहाँ आएका थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप