कश्मीर भिडन्त : पूरा भएन गमिलको त्यो भाकल
बुटवल । ‘हे बरै...दशै धाराको नरोए आमा, बाँचे पठाम्ला तस्वीरै खिचेर .. कस्तो लेख्यो नि भावीले, कर्मलिला खै मालुम हजुर...।’
यो गीतमा भनिए झैँ मानिसको कर्म लिला कसैलाई थाहा हुँदैन । त्यसमा पनि लडाईंको मैदानमा पुगेको एउटा सिपाहीको भविष्य अनिश्चित हुने नै भयो ।
पाल्पाको रामपुर नगरपालिका–४, सदावर्त गाउँका २१ वर्षीय गमिलकुमार श्रेष्ठले भारत प्रशासित कश्मीरमा पाकिस्तानले गरेको गोलीबारीमा मरिनुभन्दा ९ दिन अगाडि घरमा फोन गरेर भनेका थिए, ‘बल्ल आज फोन लाग्ने ठाउँमा आएर फोन गर्दैछु । केही आत्तिनुभएको होला, त्यहाँ तपाईंहरुले सुनेजस्तो अवस्था छैन ।’
परिवारका सदस्यलाई उनले पिर नगर्नु भनेर सान्त्वना दिए । दुर्भाग्य, त्यसरी सान्त्वना दिएर फोन गरेको १० औँ दिन बिहान छोराको ज्यान गएको दुःखद् खबर बाबुआमाले सुने ।
रामपुर नगरपालिकाकी उपमेयर बिष्णुदेवी आचार्यका अनुसार गमिल श्रेष्ठ सतवर्त गाउँका रुद्रनारायण श्रेष्ठका कान्छा छोरा थिए । स्थानीय सीताराम माध्यामिक विद्यालयमा कक्षा १२ सम्म पढेपछि आर्थिक अभावका कारण गमिल जागिर खोज्दै भौँतारिएका थिए ।
स्वदेशमा कतै जागिर नपाइरहेकै बेला उनले भारतीय सेनामा भर्ती हुने अवसर पाए । उनी २७ महिना अघि भारतीय सेनामा भर्ती भएका थिए ।
बनारसमा भर्ती भइ तालिम सकेर उनीसहितको टोलीलाई जम्मु कश्मीर पठाइएको थियोे । त्यहाँबाट भारत–पाकिस्तान सीमा क्षेत्रमा पठाइएको करिव एक महिना भएको थियो ।
उनको त्यो दसैँ नै अन्तिम रह्यो
उपमेयर आचार्य भन्छिन्, ‘सायद भारतीय सेनामा भर्ती हुन पाउँ भनेर होला, उनले गएको चैते दसैँमा आएर पञ्चवली भाकल चढाएर वैशाख महिनामा हाजिर हुन गएका थिए ।’
उनले यसपालिको दसैँमा घरमा फोन सम्पर्कमात्रै गरे । अर्को सालको दसैँ मान्न आउने आश्वासन उनले दिएका थिए । तर त्यो चैते दसैँ नै उनको जीवनको अन्तिम दसैँ बन्न पुग्यो ।
खुशी प्रवेशको २७ महिनामै वियोग
उनका बाबु रुद्रनारायण श्रेष्ठ घरको आर्थिक अवस्था कमजोर भएपछि ऋण काढेर वैदेशिक रोजगारका लागि साउदी अरब पुगेका थिए । छोराहरुको पठनपाठन र पालनपोषणका लागि उनले एक दशक त्यहीँ बिताए ।
उमेर ढल्किएसँगै स्वास्थ्यले साथ नदिएपछि उनी तीन बर्ष अघि घर फर्केका थिए । घर फर्किएपछि उनीसँग आम्दानीको कुनै बाटो थिएन । साउदी अरबमा रहँदा कमाएको पैसाले उनले घर बनाएका थिए । त्यही क्रममा जेठा छोरा गणेश श्रेष्ठ विदेशिए । बाबुआमालाई घर खर्चमा सहायता गर्न उनी वैदेशिक रोजगारीका लागि गत वर्ष दुबई पुगेका थिए ।
दुर्भाग्य, आफू विदेश जाँदा लागेको ऋणसमेत तिर्न नसक्ने गरी उनी एक वर्ष मै घर फर्किए । त्यो परिवारमा अब एकमात्र आशा भरोसाका केन्द्र भनेकै उनै लाहुरे छोरा गमिल थिए । उनले वैदेशिक रोजगार पीडित दाजु र बाबुलाई केही पिर नगर्नुस् भन्दै बेलाबेलामा पैसा पनि पठाउँदै आएका थिए ।
उपमेयर आचार्य भन्छिन्, ‘हाम्रो र उनीहरुको घरको आँगन छोइन्छ । असाध्यै अनुशासित, स्वभाव पनि राम्रो भएको युवा थिए गमिल ।’
स्कुलमा पढ्दा धेरै पटक खेलकुदबाट पुरस्कार उनले पुरस्कारसमेत पाएको उपमेयर आचार्यले स्मरण गरिन् । ‘उनी त्यस्तो घटनामा परेको खबरले रामपुरवासी शोकाकुल भएका छौँ,’ उनले भनिन् ।
चैते दसैँमा घर आउँदा गमिललाई विवाहका लागि प्रस्ताव गरिएको पनि उनले स्मरण गरिन् । ‘दुई वर्षपछि गरौँला भनेर उनले टारेका थिए,’ उपमेयर आचार्यले भनिन्, ‘घरमा ९७ बर्षका हजुरबुवा, हजुरआमा, बाबुआमा र दाजुभाउजु हुनुहुन्छ, घरमा खुशी छाउन लागेकै बेला नराम्रो खबर सुनियो ।’
शव ल्याउनेबारे अन्यौल
उपमेयर आचार्यका अनुसार गमिलको शव बुझ्नका लागि उनका बाबु, दाजुलगायतका आफन्तहरु दिल्ली पुगेका छन् ।
घरमा शव ल्याउन पाइने हो कि होइन भन्ने अन्योल छ । ‘मलाई लाग्छ यता शव ल्याउन दिँदैनन् होला,’ उपमेयर आचार्यले भनिन्, ‘उतै दाहसंस्कार गरेर परिवारजन फर्किने होलान् ।’
गमिलका बृद्ध हजुरबुवा, हजुरआमा, आमा र भाउजु शोकमा रुँदारुँदै बेला बेलामा बेहोस हुँदै जाग्दै गरेको स्थानीयले बताए । गमिलसहित गत शनिबार राति पाकिस्तानी सेनासँगको भिडन्तमा तीन जना भारतीय सैनिक मारिएका थिए । तीमध्ये अर्का एक सैनिक नेपाली मूलका पदमबहादुर श्रेष्ठ थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा