बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटना निम्त्याउँदै डिजिटल होर्डिङ बोर्ड :  महानगर कमाउ धन्दामा लाग्दा गुनासो सुनुवाइ भएन

मङ्गलबार, ०५ कात्तिक २०७६, १५ : २६
मङ्गलबार, ०५ कात्तिक २०७६

काठमाडौं । राजधानीका मुख्य चोक तथा अग्ला भवन डिजिटल होर्डिङ बोर्डले सजिएका हुन्छन् । फुर्सदिला मानिसलाई सडक किनार उभिएर ती होर्डिङ बोर्डको रमझमले क्षणिक आनन्द दिए पनि सवारी चालक तथा सडक प्रयोगकर्तालाई भने सास्ती नै दिन्छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एवम् एसएसपी भीम ढकालका अनुसार ठूला डिजिटल होर्डिङ बोर्डका कारण दुर्घटनाको जोखिम बढ्छ । त्यस्ता बोर्डले सडकबाट सवारी चालकको ध्यान मोड्ने भएकाले दुर्घटनाको जोखिम बढ्ने उनको भनाइ छ ।

त्यसो त, बाटो काट्दै गरेका पैदलयात्री समेत डिजिटल होर्डिङ बोर्डमा आँखा पुग्दा अल्मलिन्छन् । बाटो काट्दै गर्दा अल्मलिनु भनेको दुर्घटनाको जोखिममा पर्नु हो । सडकमा केही सेकेन्डको गल्तीले ठूलो दुर्घटना निम्तिन सक्ने ट्राफिक प्रहरीको भनाइ छ ।

होर्डिङ बोर्डबाट कसलाई फाइदा ?
सडकबाट निश्चित दूरीमा निर्धारित मापदण्डअनुसार होर्डिङ बोर्ड राख्नुपर्ने प्रावधान छ । होर्डिङ बोर्डले मुख्यतया, स्थानीय तह र व्यावसायिक कम्पनीलाई फाइदा गर्दछ । त्यसबाहेक सवारी चालक, सडक प्रयोगकर्ताहरु होर्डिङ बोर्डको चमकमा अल्मलिएको अवस्थामा दुर्घटनामा परी अंगभंग हुने तथा ज्यानै गुमाउनुपर्ने अवस्थासम्मको जोखिममा पर्ने गर्दछन् ।

होर्डिङ बोर्ड कहाँ राख्ने र कसरी राख्ने भन्ने सन्दर्भमा स्थानीय तहले नै नीति बनाउने गर्दछन् । काठमाडौं महानगरपालिकाको हकमा महानगरले त्यस्तो नीति बनाएको छ । 

महानगरबाट खटिने प्राविधिक टोलीले होर्डिङ बोर्ड राख्ने स्थान, विज्ञापनको नमूनालगायतको अध्ययन गरेपछि अनुमति दिने गरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले रातोपाटीलाई बताए ।

उनका अनुसार महानगरले वार्षिक करिब १० करोड रुपैयाँ विज्ञापन करबापत आर्जन गर्दै आएको छ । यो रकममा होर्डिङ बोर्डबाट आउने राजस्वको हिस्सा अधिक रहेको उनको भनाइ छ । 

व्यावसायिक कम्पनीहरु आफ्ना उत्पादनको विज्ञापन सकेसम्म व्यस्त क्षेत्रमा गर्न रुचाउँछन् । धेरै मानिसको चहल पहल हुने स्थान रोजेर उनीहरु आफ्नो उत्पादनको विज्ञापनसम्बन्धी होर्डिङ बोर्ड राख्न चाहन्छन् । महानगरपालिकाले करको लोभ र कमिसनको चक्करमा होर्डिङ बोर्ड राख्न अनुमति दिँदै आएको छ । 

होर्डिङ बोर्डबाट दुर्घटनाको खतरा : ट्राफिक
महानगरले आयस्रोतको एउटा माध्यमका रुपमा होर्डिङ बोर्डलाई लिए पनि ट्राफिक प्रहरी भने जथाभावी राखिने होर्डिङ बोर्डले दुर्घटना निम्त्याउन सक्ने बताउँछ ।

चालकहरु डिजिटल होर्डिङ बोर्डमा देखाइने भिडियो हेर्दै सवारी चलाउने गर्छन् । त्यसरी भिडियो हेर्दै सवारी चलाउँदा दुर्घटना निम्तिन सक्ने एसएसपी ढकालको भनाइ छ । 

यात्रु र सवारी चालकहरुले डिजिटल होर्डिङ बोर्डका कारण दुर्घटना निम्त्याएको भन्दै ट्राफिक प्रहरीमा गुनासोसमेत गरेको महाशाखाका डिएसपी सुनीलजंग शाहले बताए । उनले रातोपाटीसँगको कुराकानीमा भने, ‘ट्राफिक प्रहरीले यात्रु र चालकहरुको गुनासो बढेको भन्दै महानगरलाई त्यस्ता बोर्ड हटाउन ताकेता गर्दा पनि वास्ता गरेको छैन ।’

डिजिटल होर्डिङ बोर्ड राखेको क्षेत्रमा बढी दुर्घटना
डिजिटल होर्डिङ बोर्डले झकीझकाउ भएको एउटा मुख्य स्थान हो– त्रिपुरेश्वर । वल्र्ड ट्रेड सेन्टरको भवनमा राखिएको डिजिटल होर्डिङ बोर्डले धेरैको ध्यान आकर्षित गर्दछ । काठमाडौं महानगरपालिकाको समन्वयमा वल्र्ड ट्रेड सेन्टरका सञ्चालकले होर्डिङ बोर्ड राखेका हुन् । त्रिपुरेश्वर चोकमा डिजिटल होडिङ बोर्ड राखिएको ४ वर्ष भएको छ ।

सुरुवाती समयमा सञ्चालनमा आएर बीचमा केही समय बिग्रिएको डिजिटल होर्डिङ बोर्ड ३÷४ महिनादेखि फेरि सञ्चालनमा ल्याइएको छ । त्रिपुरेश्वर चोकमा उक्त डिजिटल होर्डिङ बोर्डका कारण पहिलाको तुलनामा दुर्घटना बढेको डिएसपी शाहको भनाइ छ ।

डिजिटल होडिङ बोर्ड राखेको समययता ५ दर्जनभन्दा बढी सवारी दुर्घटना भएको डिएसपी शाहको भनाइ छ । पछिल्लो एक महिनामा त्रिपुरेश्वर चोकमा दुई दर्जनभन्दा बढी दुर्घटना भएको छ । 

उपत्यकाका दरबारमार्ग, सुन्धारास्थित काठमाडौं मल र त्रिपुरेश्वर चोकमा डिजिटल होर्डिङ बोर्ड देख्न सकिन्छ । काठमाडौं मल अगाडि राखिएको होर्डिङ बोर्ड भने काठमाडौं महानगरपालिका आफैंले सञ्चालन गरेको हो । सार्वजनिक स्थानमा महानगरपालिका आफैंले र ठूला व्यापारिक तथा निजी भवनमा सम्बन्धित भवनको मालिकले नै निश्चित रकम लिएर डिजिटल बोर्ड राख्ने गरेका छन् । यसरी होर्डिङ बोर्ड राखिएबापत महानगरपालिकालाई कर तिर्नुपर्दछ ।

ट्यांकर चालकले डिजिटल होर्डिङ बोर्ड हेर्दा...
सुन्धारास्थित काठमाडौं मल अगाडि केही महिना अघि मोटरसाइकलमा सवार बाबुछोरीलाई पानी ट्यांकरले ठक्कर दिँदा बाबुको मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त जनसेवाका प्रमुख एवं डिएसपी बासु पाठकका अनुसार पानी ट्यांकरका चालकले होर्डिङ बोर्डमा हेर्दै सवारी चलाउँदा दुर्घटना भएको हो । 

पाठकका अनुसार काठमाडौं मल अगाडि दैनिक ५÷७ वटा सवारी साधन सामान्य दुर्घटना हुने गरेको छ ।

दरबारमार्गमा पनि डिजिटल होर्डिङ बोर्ड सञ्चालन भएको छ । बोर्ड राखिएको भवन निर्माणाधीन रहेकाले हाल रातिमात्र सञ्चालन गरिएको छ । भवन निर्माण भइसकेपछि दिउँसोसमेत डिजिटल बोर्ड सञ्चालन हुने जनाइएको छ ।

व्यस्त सडक आसपास डिजिटल बोर्ड अनुपयुक्त : हाछेथु

पूर्वप्रहरी निरीक्षक सिताराम हाछेथु व्यस्त सडक आसपास डिजिटल होर्डिङ बोर्ड राख्न उपयुक्त नहुने बताउँछन् । ठमेलजस्तो सवारी साधन कम हुने तथा पर्यटकीय क्षेत्रमा त्यस्ता बोर्ड राख्न उपयुक्त हुने उनको भनाइ छ ।
उनले भने, ‘डिजिटल होर्डिङ बोर्ड सवारी साधन कम चल्ने ठाउँमा राख्दा राम्रो हुन्छ ।’

असन, बसन्तपुर दरबार स्क्वायर, स्वयम्भुनाथ र पशुपति मन्दिर क्षेत्रमा डिजिटल होर्डिङ बोर्ड राख्दा आर्थिक, सांस्कृतिक र सामाजिक हिसाबले राम्रो हुने हाछेथुको भनाइ छ । 

‘जहाँ सवारी जाम अत्यधिक हुन्छ । त्यही ठाउँ खोज्दै महानगरपालिकाले डिजिटल होडिङ बोर्ड राखेको छ,’ हाछेथुले भने, ‘त्रिपुरेश्वर, दरबारमार्ग र काठमार्डौ मल अगाडिको होर्डिङ बोर्ड तत्काल अन्यत्र राख्दा राम्रो हुन्छ ।’

सवारी चालकको अनुभव
मोटरसाइकल चालक चुडामणि कोइराला डिजिटल होर्डिङ बोर्डले चालकको ध्यान भंग गर्ने बताउँछन् । ‘एकसुरमा बाइक चलाइरहेको समयमा आँखामा झल्याकझुलुक गर्छ,’ उनले भने, ‘के रहेछ भनेर यसो हेर्दा अगाडिको सवारी साधनमा ठोक्किन पुग्छ ।’

अर्का चालक कृष्णराम डंगोल पनि सडकबाट देखिने ठूला डिजिटल होर्डिङ बोर्डका कारण दुर्घटनाको जोखिम बढ्ने अनुभव सुनाउँछन् । ‘कयौं पटक सामान्य दुर्घटना भइसकेको छ,’ उनले भने, ‘जाम भएको समय विस्तारै सवारी साधन गुडिरहेको हुन्छ, आफूले यसो बोर्डतिर हेर्दा अगाडिको सवारी साधनले ब्रेक लगाएको पत्तै हुँदैन, अनि ठोक्किन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप