मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

त्रिविभित्र बेथितिः लोगो विश्वविद्यालयको अध्यापन निजीको

मङ्गलबार, ०५ कात्तिक २०७६, १४ : २४
मङ्गलबार, ०५ कात्तिक २०७६

–शरद शर्मा
काठमाडौं– त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब एक हजार ५०० प्राध्यापक वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको पाइएको छ ।  त्रिविको स्वीकृति लिएर प्राध्यापकले वर्षेनी अन्य क्याम्पसमा पढाउने गरेको त्रिवि अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक विष्णु खनालले जानकारी दिए। 

निर्देशनालयसम्बन्धी विनियममा त्रिविका प्राध्यापक पूर्वस्वीकृति लिएर मात्र बाहिर आंशिक समयका लागि पढाउन पाउने व्यवस्था छ । सोहीअनुसार वर्षेनी त्रिविका आंगिक क्याम्पसअन्तर्गतका प्राध्यापकले बाहिरका क्याम्पस तथा कलेजमा पढाउन पाउने गर्दछन् । 

बाहिर पढाउनका लागि स्थायी र करार प्राध्यापकले निर्देशनालयमा निवेदन दिनुपर्ने छ र निर्देशनालयले निवेदन हेरेर पढाउनका लागि स्वीकृति दिने गर्दछ । उनका अनुसार आर्थिक वर्ष २०७५/०७६ मा एक हजार ३५८ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको छ भने आव २०७४/०७५ मा एक हजार ४१७ प्राध्यापकले बाहिर पढाउनका लागि स्वीकृति पाएको थियो । ‘विनियमअनुसार प्राध्यापकले क्याम्पसलाई कुनै असर नपर्ने गरी अन्यन्त्र पढाउन पाउँछन्’, उनले भने, ‘हामीले प्राध्यापकबाट आएका निवेदन हेरी ती प्राध्यापकलाई अयन्त्रका लागि पढाउन स्वीकृति दिने गर्दछौँ ।’ 

त्रिविको नाम, निजीमा काम, दिमागमा दाम हुनाले त्रिविको गुणस्तर खस्कँदै गएको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनमा एउटै सिफ्टमा दुई–तीनतिर पढाउनेहरू पनि भेटिएको उल्लेख छ । करिब १८ प्रतिशत प्राध्यापकले अनुमति लिएर अन्यत्र पढाइरहेको केन्द्रको प्रतिवेदनमा उल्लेख छ । अनुमति नलिई निजीतिर धाउनेको संख्या प्रशस्तै छ । गैरसरकारी संस्थामा कन्सल्टेन्सी गर्नेहरू अध्ययनका विषय बनेका छैनन् । 

लोगो विश्वविद्यालयको लगाएर त्यही लोगो बेच्दै तन, मन र ऊर्जा अन्यत्र खर्च गर्ने र सार्वजनिक शिक्षामा प्वाल पार्ने धमिरे प्रवृत्ति मौलाएको छ । त्रिविमा पूर्णकालीन करीब आठ हजार प्राध्यापक रहेका छन् । उहाँका अनुसार विनियमअनुसार नआएका निवेदनलाई भने त्रिविले स्वीकृति दिने छैन । 

त्रिविले आव २०७५/०७६ मा १४ जना र आव २०७४/०७५ मा ११ जना प्राध्यापकलाई स्वीकृत दिएको थिएन । ती पदाधिकारी भएकोले अध्यापनका लागि स्वीकृत नदिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए । त्रिविले पदाधिकारी भनी उल्लेख गरिएका पदका प्राध्यापकलाई भने अयन्त्र पढाउनका लागि पूर्व स्वीकृत दिने गरेको छैन ।

त्रिविका पदाधिकारी, विभागका डीन, सहायक डिन, निर्देशनालयका निर्देशक, उपनिर्देशक, परीक्षा नियन्त्रक, क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखलाई पदाधिकारी भनी व्याख्या गरिएको छ । 
विशिष्ट चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइने 

यसैगरी त्रिविको पदाधिकारी भए पनि चिकित्सा सेवाका विशेषज्ञ चिकित्सकलाई भने अयन्त्र काम गर्न दिइनेबारेमा छलफल भएको कार्यकारी निर्देशन खनालले जानकारी दिए । ‘त्रिविको शिक्षण अस्पतालमा मात्र कुनै एकमात्र विशेषज्ञ चिकित्सक छन् भने मानवीय संवेदनशीलतालाई हेरेर अन्यन्त्र काम गर्न दिइने भन्नेबारे प्रस्ताव आएको छ’, उनले भने, ‘छलफल गरेर हामीले यस्ता विशेषज्ञ चिकित्सकलाई अयन्त्र काम गर्न दिने सोचमा रहेका छौँ ।’ त्रिविका ६१ आंगिक क्याम्पस, ३९ निकाय, नौ डिन कार्यालय, चार वटा अनुसन्धान विभाग रहेका छन् । यस आवमा पनि त्रिविले सूचना प्रकाशित गरी अयन्त्र पढाउनका लागि प्राध्यापकलाई निवेदन माग गरेको छ । 

निर्देशनालयका उपनिर्देशक ओम बरालका अनुसार अहिलेसम्म करीब ५०० प्राध्यापकले अयन्त्र पढाउनका लागि निवेदन दिएका छन् । त्रिविले साउनदेखि मङ्सिर मसान्तसम्म निवेदन माग गरेको छ । यसैगरी त्रिविले स्वीकृत नलिएर पढाउने २० जना कारवाहीका लागि त्रिवि कार्यकारी परिषद्मा सिफारिस गरिएको निर्देशनालयका कार्यकारी निर्देशक खनालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप