केन्द्रीय संस्करण

कात्तिकले ल्यायो डोम समुदायमा खुशी

person explore access_timeकात्तिक ५, २०७६ chat_bubble_outline0
file photo

–गोपालप्रसाद बराल
महोत्तरी–घरआँगनमा आइपुगेका अतिथिसँग मुखको बोलीले शिष्टाचार निभाई रहे पनि प्रगाश मरिकको हात भने कप्टेरा उन्दै छिटी बनाउनमै ब्यस्त छ । मुखमा आएको दीपावली र छठ पर्वमा माग भएका बाँसको चोया र कप्टेराले बन्ने डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना तयार गर्न भ्याइनभ्याई परेपछि प्रगाशसहितका महोत्तरीका सबैजसो गाउँ/नगर बस्तीका डोम समुदायको ब्यस्तता बढेको हो । 

महोत्तरीको भङ्गाहा नगरपालिका–५ सिद्धपुर बस्तीको मुखमै सानो खरले छाएको झुप्रो प्रगाशको घरसंसार हो । दशैं सिद्धिएर कात्तिक कृष्णपक्ष शुरु हुनासाथ प्रगाश दिनरात नभनी चोया र कप्टेराबाट डाली, छिटी, नाङ्लो–चाल्नो, पङ्खा, कोनियाँ र अन्य खेलौंना बनाउन ब्यस्त हुनुभएको हो । राति अबेरसम्म चोया र कप्टेरा चलाउँदा चलाउँदै ओछ्यानमा ढलेका प्रगाश बिहान आँखा उघ्रनासाथ त्यही चोया र कप्टेरामा हात पु¥याउँछन् । 

चन्द्रमास गणनाले कात्तिक कृष्णपक्ष टेक्नासाथ प्रगाशजस्तै महोत्तरीसहितका मध्यपूर्वी तराईका अतिविपन्न डोम समुदायको अनुहारमा खुशी झल्कन्छ । यो पक्षको अन्तिममा पर्ने दीपावली र त्यसलगत्तै कात्तिक शुक्लपक्षमा शुरु हुने छठ पर्वमा आफ्नो शीपले बजार पाउने भएपछि यी पर्व डोमका लागि खुशी र उमङ्गको बन्ने गरेको छ । 

बाँसका चोया र कप्टेराबाट विभिन्न प्रकारका सामान (चोया र कप्टेराबाट बन्ने राखनधरनका सामान) बनाउने पूख्र्यौली पेशाका डोम दीपावली र छठमा यी सामानको माग बढ्ने भएपछि खुशी देखिने गरेका हुन् । दीपावली र छठ नजिकिँदै आउँदा यहाँका अतिविपन्न डोम जातिको बसोबास रहेको दलित बस्तीमा राम्रो कमाइ हुने आसमैं खुशी छाउने गरेको छ ।

यहाँ दीपावली र छठमा बाँसको चोया र कप्टेराले  बन्ने डाली, छिटी, नाङ्लो—चाल्नो, कोनियाँ र पङ्खासहितका सामान पूजाआराधनासँगै जोडिने भएकाले यस्ता सामान बनाउने पुख्र्यौली व्यवसाय अँगाल्दै आएका डोम बस्तीमा अहिले ब्यस्तता बढेको हो । 

डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् । घरमूलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि लगनका साथ काममा ब्यस्त भएका देखिदो छ ।  अन्य बेला अभाव नै अभावमा गुजारा चलाउने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् ।  

‘के गर्नु हजुर, वर्षभरिको नगद खर्चको जोहो गर्ने बेला यही हो, अहिले चुके वर्षभरि नगद हेर्न पाइँदैन,’ भङ्गाहा–५ सिद्धपुरको डोम बस्तीका अगुवा प्रगाश भन्छन् – ‘स–साना नानीहरुको रहर र चाहना हामीले दीपावली र छठ पर्वमा पूरा गर्ने आस साँचेका हुन्छौं ।’ अन्य बेला आफ्ना शीपको खासै माग नहुने हुँदा वर्षभरिको नगद खर्चको जोहो पनि यसै बेला गर्न पर्ने  दबाब हुने गरेको प्रगाशको थप भनाइ छ । 

दीपावली नजिकिएर बाबु/आमा काममा ब्यस्त भएसँगै  सामान बनाइदिन भन्न आउने ग्राहक बाक्लिएपछि स–साना नानीको फर्माइस पनि बाक्लिने गरेको छ । ‘माय, दिबालीआ छठमें हम गुड्डी उडायब्, हमरा बहुते रङ्गके गुड्डी लादिहे,’  (आँमा, म तिहार र छठ पर्वमा चङ्गा उडाउँछु, मलाई रङ्गीबिरङ्गी चङ्गा ल्याइदिनु होला) पर्वका लागि माग भएका कप्टेरा र चोयाका सामान बुनिरहेकी बर्दिवास–१ की रामकली मरिकको छेउमै खेल्दै आइपुगेका छ वर्षीय छोरा रमुवा मरिकले माग गरे । रामकलीले रमुवालाई दीपावलीमा चङ्गा ल्याइदिने बताएका छन् ।

शिक्षा, स्वास्थ्यजस्ता आधारभूत आवश्यकता आफ्नो हक हो भन्ने कुराबारे पूरै बेखबर डोमहरु स–साना पराले झोपडीमा पुस्तौंदेखि गुजारा चलाइरहेका छन् । चरम गरीबी र अशिक्षाले जकडिएका डोम समुदायका लागि ठूलाबडाको मृत्यु हुँदा अग्नि संस्कारमा आगो बेचेर प्राप्त हुने आम्दानी, श्मसानघाटमा फालिएका बाँसका घोचा सङ्कलन गरेर बनाइएका चोयाका सामान बेचेर प्राप्त हुने आम्दानी र सुँगुर पाल्ने पुख्र्यौली पेशाबाट प्राप्त हुने आम्दानी नै जीवन गुजाराको सहारा रहँदै आएको छ । तिहार र छठ चैं आपूmहरुले पनि निष्ठापूर्वक मनाउने भएकाले यी पर्वमा प्रयोग हुने सामग्री नयाँ बाँस किनेर पवित्र मनले बनाउने गरिएको डोमहरु बताउँछन् ।

जिल्लाभरिमा एक हजार ५० (२०६८ सालको जनगणनाअनुसार) मात्र जनसङ्ख्या रहेको डोम जाति जिल्लाका प्रत्येक जसो बस्तीको पुछारमा छुट्टै बस्तीजस्तो देखिने गरी एक/दुई घरमा बसोबास गरेका भेटिन्छन् ।  मधेशमा अत्यन्त पछि परेका जाति समुदायभित्रका डोमको नयाँ लुगा किन्ने, आफन्तकहाँ भेट्न कोशेली बनाउने, स–साना नानीको रहर पूरा गरेर वर्षको अन्तसम्म नून तेलको जोहोसमेत तिहार र छठको कमाइबाट हुने गरेको छ ।

‘गरीब छौं, चाहिंदो खर्चको पनि अभाव छ तर, स–साना नानीको मन त हो, गाउँमा अन्य समुदायका नानीका हातमा जे देख्छन्, घर आएर त्यसैको फर्माइस गर्छन्,’ लोहारपट्टी नगरपालिकाको डोठारा बस्तीका रामलाल मरिकले भने– ‘नानीहरुले भनेको कुरा दिन नसक्दा मन कुँडिन्छ, यतिबेला भने आफ्नो गच्छेले भ्याएसम्म नानीहरुको रहर हामी पूरा गर्छौं ।’

मुलुकमा अवसरबाट पछि परेका सिमान्तकृत जाति समुदाय, गरीब र दलितहरुको उत्थानका लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेको बजेट भाषण र सम्बोधनमा सुनिने गरिए पनि ती कार्यक्रम भने जिल्लाका डोम जातिको बस्तीमा नपुगेको सामाजिक अभियन्ताहरुको टिप्पणी छ । सरकारी कार्यक्रमहरुको प्रभावकारी अनुगमन नहुँदा अवसरबाट पछि पारिएका डोमसहितका जाति समुदायको उत्थानको काम हुन नसकेको भङ्गाहा–४ की राजनीतिक कार्यकर्ता हीरादेवी दाहाल बताउँछिन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...