बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘विप्लव’ खोज्दै प्रहरी, ‘जनयुद्ध’का पुरानै ‘रुट’ प्रयोग गर्दै कार्यकर्ता

मङ्गलबार, ०५ कात्तिक २०७६, ०७ : ३१
मङ्गलबार, ०५ कात्तिक २०७६

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाप्रति पछिल्लो समय प्रहरी कारबाही तीव्र देखिन थालेको छ ।

प्रहरीले देशभर विशेष सूचना संयन्त्रमार्फत विप्लव नेतृत्वको नेकपामाथि कडा निगरानी राख्न थालेको हो । सोहीअनुरूप गत ३० असोजमा दाङको राजापुर–४ मगराइनबाट प्रहरीले २१ जना विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरेको थियो ।

उच्चस्रोतका अनुसार त्यसको केही दिनअघि मात्रै विप्लव नेतृत्वको नेकपाको केन्द्रीय समिति बैठक दाङ तथा रोल्पा आसपासको सीमामा बसेको थियो । जहाँ विप्लवसहित २८ जना केन्द्रीय नेताहरू सहभागी थिए । तर, त्यसपछि दाङमा बसेको राप्ती ब्युरोको बैठकमा भने विप्लव सहभागी थिएनन् ।

केन्द्रीय समिति बैठकमा सहभागी भएका विप्लव राप्ती ब्युरोको बैठकमा समेत सहभागी हुने सूचना प्रहरीले पाएको थियो । तर, ब्युरोको कार्यक्रममा भने विप्लव सहभागी हुने तय भएको थिएन । 

प्रहरीले सो कार्यक्रमबाट विप्लवलाई नै पक्राउ गर्ने रणनीति बनाएको थियो । तर, कार्यक्रममा सहभागी नभएका कारण विप्लव प्रहरी टार्गेटमा परेनन् ।

प्रहरीको विशेष संयन्त्रले विप्लव नेता कार्यकर्ताले दाङ तथा रोल्पा आसपासमा ‘जनयुद्ध’को पुरानै बाटो प्रयोग गर्दै आएको सूचना पाएको छ । सोहीअनुसार रोल्पाबाट झर्दै गरेका नेकपाका नेताकार्यकर्तालाई प्रहरीले कुरेर बसेको थियो । प्रहरीले ब्युरोको बैठक स्थलबाटै उनीहरूलाई पक्राउ गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप