शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि : मुख्यमन्त्री पोख्रेल

सोमबार, ०४ कात्तिक २०७६, १९ : ३८
सोमबार, ०४ कात्तिक २०७६

दाङ – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोख्रेलले पश्चिम दाङ सडक पूर्वाधारमा अगाडि बढिरहेको बताएका छन् । दामोदर सडकअन्तर्गत दङ्गीरण गाउँपालिका वडा नं ३ र ६ जोड्ने पक्की पुलको आज थपगाउँमा उद्घाटन गर्दैै उनले विकास निर्माणका कामले  सरकारले अघि सारेको समृद्विको यात्रा सार्थक भइरहेको पनि बताए । 

मुख्यमन्त्री पोख्रेलले पुल निर्माणले नागरिकले महत्व पूर्ण सम्पत्ति प्राप्त गर्न सफल भएको र यसलाई सही सदुपयोग गर्न पनि आग्रह गरे । पूर्वाधार बनाइसकेपछि त्यसको सही सदुपयोग आवश्यक हुन्छ, जसबाट राज्यले गरेको लगानीलाई सार्थक बनाउने जिम्मेवारी नागरिकको हो मुख्यमन्त्री पोख्रेलले भने ।

सडक पूर्वाधारबाट हामीले जति धेरै आर्थिक क्रियाकलाप गर्न सक्छौँ त्यति नै राज्यले लगानीको प्रतिफल पाउनसक्ने बताउँदै उनले भने, “प्रदेश नं ३ ले कूल गार्हस्थ उत्पादनको ७।७ प्रतिशत वृद्धिदर हासिल गर्नसक्नु समृद्धिको यात्रातर्फउन्मुख हुनु हो । संविधानसभा निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र सङ्घीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण हो ।”

सातवटै प्रदेशमध्ये प्रदेश नं ५ ले जनताको सहयोग र साथले विकास निर्माणका कार्यमा सबैभन्दा बढी रकम खर्चन सकेको मुख्यमन्त्री पोख्रेलले बताए । “जनतामा विपक्षीले निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन”, मुख्यमन्त्री पोख्रेलले भन्नुभयो । पश्चिम दाङ विगतमा विकासले पछाडि पारिएको क्षेत्रका रुपमा हेर्ने गरे तापनि वर्तमान अवस्थामा भने विकास निर्माणका कार्यले गति ल्याएको पोख्रेलले बताए ।

पश्चिम दाङ तुलसीपुर सुर्खेत सडकखण्ड कालोपत्र कार्य दुई वर्षभित्र सम्पन्न हुने र त्यसपछि कर्णाली प्रदेशको प्रवेशद्वारका रुपमा पश्चिम दाङको विकास हुने उनको भनाइ छ । 

मुख्यमन्त्री पोख्रेलले थारु राजा दङ्गीशरणलाई आजको पुस्तासम्म चिनाउनका लागि प्रदेश सरकारले दङ्गीशरणको शालीक निर्माण गर्ने तयारी भइरहेको बताए ।

प्रतिनिधिसभा सदस्य सुजिता शाक्यले सरकारले प्रविधि भित्र्याएर गुणस्तरीय कामको शुरुआत गरेको बताउनुभएको थियो । पूर्वाधार विकास कार्यालय दाङका इञ्जिनीयर चन्द्रबहादुर शाहले पुल रु चार करोड ८० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

दामोदर मार्गअन्तर्गत पुल निर्माण भएसँगै दङ्गीशरण र बबई गाउँपालिका र तुलसीपुर उपमहानगरपालिकाका छ हजार बढी जनसङ्ख्या प्रत्यक्ष लाभान्वित हुने भएका छन् । समयमै पुल निर्माण सम्पन्न गरेको भन्दै निर्माण व्यवसायी पूर्णबहादुर भण्डारीलाई सम्मान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप