शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जापान नेपालको प्रमुख विकास साझेदारः राष्ट्रपति भण्डारी

सोमबार, ०४ कात्तिक २०७६, १९ : २६
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं– जापानको औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताएकी छिन् । राष्ट्रपति भण्डारीको सम्मानमा आज जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उनले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गरिन् । उनले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त  गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताइन् । जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उनले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गरिन् । राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएका प्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरिन् । 

राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बिपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताइन् ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उनले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाइन् । 

राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने  र काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गरिन् । उनले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पु¥याएको योगदानका लागि धन्यवाद दिइन् ।

साठी हजार जापानीले नेपाल भ्रमण गर्ने

कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराए । तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुन् ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान  गराउने लक्ष्य रहेको जानकारी दिइन् । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी रहेका थिए । राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नेछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप