केन्द्रीय संस्करण

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग बनाउन ३६७ रोपनी जग्गा अधिकरण

person explore access_timeकात्तिक ४, २०७६ chat_bubble_outline0
सुजन पन्त

रातोपाटी

काठमाडौँ– सोमबार राजधानी भित्रिने मुख्य नाकाका रूपमा रहेको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको शिलान्यास भएको छ । शिलान्यास प्रधानमन्त्री ओलीले गरेका हुन् । 

मुलुकको पहिलो सडक सुरुङमार्गको (दहचोकदेखि धादिङको सिस्नेखोला) सम्मको लम्बाई २.६८८ किलोमिटर, चौडाइ ९.५ मिटर तथा उचाई १८ मिटर हुनेछ । सुरुङमार्गलाई जोड्ने तीन किलोमिटर प्रवेश मार्गसमेत निर्माण गरिने भएको छ ।

यो सुरुङमार्गले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्छ । सडकको लम्बाई ८ किलोमिटर कम हुनेछ । सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौबिसे पुग्न सकिन्छ । 
३६७ रोपनी जग्गा अधिकरण
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको धादिङतर्फको अधिकरण गर्नुपर्ने जग्गाको मुअब्जा मन्त्रिपरिषद्बाट वितरण गरिने भएको छ । सुरुङमार्ग निर्माण गर्न काठमाडौँ र धादिङतर्फ ३७६ रोपनी जग्गा अधिकरण गर्नुपर्छ । 
त्यसमध्ये सडक रेखाकङ्न बाहिर परेको ४४ रोपनी जग्गाको मुअब्जा वितरण गरिनेछ । मुअब्जा वितरण गरिने जग्गामध्ये २३ रोपनी गुठीको नाममा छ । गुठी नियमअनुसार अधिरकणमा परेका जग्गा कमाउनेलाई ३३ प्रतिशत दिने प्रावधान छ । 

बाँकी ६६ प्रतिशत गुठीलाई नै दिने व्यवस्था छ । ३३ प्रतिशत पाउने स्थानीय विस्थापित हुने भएकाले थप रकमको व्यवस्था गर्न मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्नुपर्ने हुन्छ ।  सुरुङमार्ग बनाउन काठमाडौँतर्फ २६७ रोपनी जग्गा पर्छ । काठमाडौँतर्फ ५ अर्ब रुपैयाँ मुअब्जा वितरण भइसेको छ । लालपुर्जा नभएको र विवाद देखिएको जग्गाको करिब ५० करोड रुपैयाँको मुअब्जा वितरण गर्न बाँकी छ । 

सुरुङमार्ग निर्माण हुनुअघि नै मुअब्जा रकम वितरण गरिसक्ने आयोजना प्रमुख श्याम प्रसाद खरेलको दावी छ ।  सुरुङमार्ग असोज ६ गते निर्माण सम्बन्धी ठेक्का सम्झौता भएको थियो । सम्झौता पत्रमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख अर्जुनजंग थापा र जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीका तर्फबाट सुरुङमार्ग आयोजना प्रबन्धकले हस्ताक्षर गरेका थिए । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को ०.०१ प्रतिशत सहुलियत ऋण सहयोगमा शुरु गरिएको सो सुरुङमार्गका लागि रु २२ अर्ब लागत लाग्नेछ । त्यसका लागि जाइकाले रु १६ अर्ब सहयोग गर्ने र रु ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट परिचालन गर्नेछ । 

सुरुङमार्ग निर्माण गरेको ४२ महिना भित्रमा ठेकेदार कम्पनीले निर्माण गरिसक्नु पर्नेछ । जापानले आयोजनाका लागि १६ अर्ब २८ करोड रुपैयाँ सहुलियत ऋण दिएको छ । उक्त ऋण सम्झौता २०७३ सालमै भएको थियो । 

तत्कालिन अर्थमन्त्री कृष्णबहादुर महरा, भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकको उपस्थितमा तत्कालिन अर्थसचिव शान्ताराज सुवेदी र नेपालका लागि जापनिज राजदूतले ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

समयमै आयोजनाको काम सकिन्छ: प्रधानमन्त्री ओली

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयभित्रै आयोजनाको काम सकिने बताए । सुरुङमार्ग शिलान्यास गर्दै ओलीले नेपाल नयाँ युगमा प्रवेश गरेको समेत बताए ।  कार्यक्रममा प्रधानमन्त्री ओलीले ठेकदार कम्पनीलाई पनि समयमै काम सम्पन्न होस् भनेर सचेत गराए । नेपालभित्र काम जिम्मा लिएर समयमा नगर्ने देखिएको भए पनि जापानी कम्पनीले समयमै काम गर्ने गरेको अनुभव रहेको बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो सरकारको पालामा इतिहासमा कहिल्यै नभएका काम भएको समेत दाबी गरे । १६०० किलोमिटर त सडक कालोपत्रे मात्र गरिएको, २४३ पक्की पुल र दुई सय हाराहारी झोलुङ्गे पुल निर्माण भएको बताए । 

उपत्यकाका सात चोकमा ओभरहेड : मन्त्री महासेठ

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं उपत्यकाका मुख्य सात चोकमा ओभरहेड (आकाशमार्ग)  र अण्डरपास विथ टनेल (सुरुङमार्ग) बनाउने प्रस्ताव अघि बढेको जानकारी दिए ।

मन्त्री महासेठले काठमाडौँ उपत्यकाको विकासका लागि योजना बनिसकेको र छिट्टै चरणबद्ध रुपमा काम समेत हुने प्रतिबद्धता जनाए । उनले भने, ‘कोटेश्वर, नयाँ बानेश्वर, गौशाला, चाबहिल, कालिमाटी, त्रिपुरेश्वर र थापाथलीमा ओभरहेड ब्रिज र अण्डरपास विथ टनेल बनाउने प्रस्ताव छ ।’ मन्त्रालयको प्रस्ताव स्वीकृत भएसँगै टेण्डर लगायतका प्रक्रिया सुरु गर्ने उनले बताए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...