शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कति कमाउँछन् बैङ्कका सिइओहरुले ?

सोमबार, ०४ कात्तिक २०७६, १६ : ५९
सोमबार, ०४ कात्तिक २०७६

काठमाडौं । आधा दर्जन बैङ्कले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सिइओको तलब सार्वजनिक गरेका छन् । बैङ्क अफ काठमाण्डू, कुमारी बैङ्क, सानिमा बैङ्क, माछापुच्छ्रे बैङ्क, सिटिजन्स बैङ्क र एनआईसी एसिया बैङ्कले सिइओको तलब सार्वजनिक गरेका हुन् ।

बैङ्क अफ काठमाण्डूले सिइओलाई वार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको प्रतिवेदनमा उल्लेख छ भने सिटिजन्स बैङ्कले ९२ लाख १२ हजार रुपैयाँ दिन्छ । यसैगरी कुमारी बैङ्कले सिइओलाई २ करोड १४ लाख ६३ हजार रुपैयाँ, एनआइसी एसियाले दुई करोड १३ लाख ६७ हजार रुपैयाँ, सानिमा बैङ्कले दुई करोड आठ लाख ३९ हजार रुपैयाँ र माछापुच्छ्रे बैङ्कले एक करोड १७ लाख ९८ हजार रुपैयाँ पारिश्रमिक दिने गरेका छन् ।

यी बैङ्कहरुले गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसकेका छन् । सोही सभामार्फत सिइओको तलब सार्वजनिक गरेका हुन् ।

लाभांश धेरै दिनेमा एनआइसी एसिया र सानिमा

साधारणसभामा बैङ्कहरुले गत आर्थिक बर्षको नाफाबाट लगानीकर्तालाई दिने लाभांश समेत घोषणा गरिसकेका छन् ।

बैङ्क अफ काठमाण्डूले १७ प्रतिशत लाभांश दिने भएको छ । उसले ११ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिनेछ ।

यता कुमारी बैङ्कले १० प्रतिशत बोनस सेयर दिँदैछ । असार मसान्तसम्म कुमारीले १ अर्ब ३३ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता सिटिजन्स बैङ्कले गत बर्षको नाफाबाट १२ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी १५ प्रतिशत लाभांश लगानीकर्तालाई दिनेछ ।

एनआइसी एसिया बैङ्कको २१.०५ प्रतिशत लाभांश पारित भएको छ । बैङ्कको साधारण सभाले ११.०५ प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर गरी कुल २१.०५ प्रतिशत लाभांश अनुमोदन गरिसकेको छ । गत आर्थिक वर्षमा एनआइसीले ३ अर्ब ५ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस्तै सानिमा बैङ्कले २१.०५ प्रतिशत लाभांश वितरण गर्छ ।  असार मसान्तसम्म सानिमाले २ अर्ब २४ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैङ्कले गत वर्षको नाफाबाट प्रस्ताव गरिएको ५ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश अनुमोदन गरिसकेको छ । असार मसान्तसम्म माछापुच्छ्रेले १ अर्ब ७० करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप