कात्तिक ७ गते पाउला त नेविसंघले नेतृत्व ?
काठमाडौं–नेपाली काँग्रेसका शीर्ष नेताहरु नेपाल विद्यार्थी संघ (नेविसंघ)को नयाँ नेतृत्व ल्याउन करिब सहमति नजिक पुगेका छन् ।
माघ २८ गते संघको ११ औँ महाधिवेशनबाट निर्वाचित सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएपछि नेविसंघ ८ महिनादेखि नेतृत्वविहीन छ ।
काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार भएको छलफलमा ६ महिनाभित्र संघको १२ औँ महाधिवेशन गराउने ‘टाइमलाइन’सहित नयाँ नेतृत्व ल्याउन लागिएको हो ।
छलफलमा सभापति देउवाले एक वर्षभित्र महाधिवेशन गर्ने गरी नेविसंघको नयाँ कमिटीका लागि प्रस्ताव गरेका थिए । तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले ६ महिनाभित्र महाधिवेन गर्ने गरी आयोजक समिति गठनको प्रस्तावअघि सारेको काँग्रेस नेता अर्जुन नरसिंह केसीले रातोपाटीलाई जानकारी दिए ।
साथै पौडेल पक्षीय नेताहरुले संघको केन्द्रीय समिति र पदाधिकारी कति जनाको हुने र त्यसका लागि मापदण्ड बनाउनुपर्ने धारणा समेत राखेका थिए । त्यसपछि सभापति देउवाले ६ महिनाभित्रै महाधिवेशन गराउने गरी समिति ल्याउन तयार भएको बताइएको छ । तर उनले पूर्ण कमिटी ल्याउने तयारीमा रहेको जानकारी गराएका थिए । त्यही अनुसार देउवाले अध्यक्षबाहेक अन्य सदस्यहरूको नाम दिन नेता पौडेल पक्षलाई आग्रह गरेका थिए ।
छलफलमा सहभागी देउवा निकट एक नेताका अनुसार सभापति देउवाले अध्यक्षमा संघका पूर्वउपाध्यक्ष राजीव ढुंगानाको नाम सारेका छन् । तर पौडेल पक्षले अध्यक्ष आफूले पाउनु पर्ने भन्दै ११ औँ महाधिवेशनमा महरसँग पराजित मनोजमणि आचार्यको नाम प्रस्ताव गरेका थिए ।
देउवा पक्षले अध्यक्ष दिन राजी नभएपछि आचार्यलाई महामन्त्रीमा ल्याउने गरि सहमति भएको बताइएको छ । देउवाले सुरुमा कैलालीका पुष्प कुमार शाहीलाई ल्याउन खोजेका थिए । तर उपसभापति विमलेन्द्र निधिलगायतका मधेश क्षेत्रका नेताहरुको जोडबलमा राजीवमा देउवा राजी भएका हुन् ।
भागबण्डाका आधारमा महामन्त्रीमा तीन जना आउने छन् । जसमा आचार्य, निर्वमान महामन्त्री कुन्दन काफ्ले र यसअघिका सभापतिमै उम्मेदवारी दिएका शुभराम बस्नेलाई ल्याउने मोटामोटी सहमति भएको ती नेताले जानकारी दिए । ती नेताले तर महामन्त्री केहीको नाम फेरबदल पनि हुन सक्ने बताएका छन् ।
यद्यपि नेता केसीले भने महाधिवेशनलाई केन्द्रित गरी प्याकेजम निर्णय नभएकाले नेविसंघको नयाँ कमिटी ल्याउने कुरामा पूर्ण सहमति नभएको बताए । ‘महाधिवेशनलाई केन्द्रित गरी सबै मुद्दालाई प्याकेजमै निर्णय गर्नुपर्छ भन्ने माग हामीले राखेका हौँ । उहाँहरुले नेविसंघको मात्र विषयमा निर्णय टुंग्याऔं भन्नुभयो । त्यसमा पूर्ण सहमति हुन सकेको छैन । केन्द्रीय समिति बैठकसम्म एक खालको सहमति हुन्छ होला ।’
म्याद सकिएका भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क समितिको ६ महिनाभित्र अधिवेशन गर्नका लागि तयारी समिति गठन गर्न आफूहरुले माग गरेको केसीले बताए ।
उपनिर्वाचनको तयारीका लागि कार्तिक ७ गतेलाई डाकिएको केन्द्रीय समिति बैठकबाट नेविसंघमा पनि नयाँ नेतृत्व ल्याउन देउवा पक्षले तीव्र तयारी गरेको हो ।
देउवा पक्षले पौडेल पक्षबाट नाम नआए बहुमतबाटै नेविसंघको नयाँ कमिटी घोषणा गर्ने तयारी समेत गरेको छ । पछिल्लो समय पौडेल पक्षले समय सकिएका सबै भ्रातृ संगठन र पार्टीको १४ औँ महाधिवेशनको समय सीमाबारे प्याकेजमै सहमति गरेर अगाडि बढ्ने रणनीति तय गरेका थिए ।
तर आइतरबारको बैठकमा त्यो रणनीति पूरा हुन सकेन । सो छलफलमा तेस्रो धारको नेतृत्व गर्दै आएका नेता कृष्णप्रसाद सिटौला गृह जिल्ला झापामा रहेकाले सहभागी थिएनन् । बैठक अघि उनीसँग नेविसंघको विषयमा देउवा पक्षले छलफल गर्नेछ ।
कांग्रेसका १३ भातृसंस्था छन् । ती सबैजसोको म्याद सकिएको छ । कतिपय भ्रातृसंस्थाको १२ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । तिनीहरूको ६ महिनाभित्र महाधिवेशन गर्ने गरी तयारी समिति गठन गर्नुपर्ने पौडेल पक्षको माग छ ।