शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जोकर फिल्मलाई लिएर किन यति धेरै भय र विवाद उत्पन्न भइरहेको छ ?

सोमबार, ०४ कात्तिक २०७६, १३ : ०५
सोमबार, ०४ कात्तिक २०७६

एजेन्सी । जोकर सुपरहिरो फिल्मको संसारमा सबैभन्दा कुख्यात र खतरनाक भिलेनलाई केन्द्र्रित गरेर बनाइएको फिल्म हो । ट्रेलर सार्वजनिक भएदेखि फिल्मलाई लिएर विवाद उत्पन्न भइरहेको छ । 

अहिले हलहरूमा प्रदर्शन भइरहेको फिल्मले बक्स अफिसमा निक्कै राम्रो कमाइ गरिरहेको छ । सुपरहिरो ब्याटम्यानको कट्टर दुस्मन जोकर कसरी खलनायक बन्यो भन्ने कथामा आधारित फिल्मले तब सुरक्षा एजेन्सीको चिन्ता बढाइदियो जब अमेरिकी सेनाले फिल्मको सार्वजनिक हुने दिन बन्दुक आक्रमण हुनसक्ने एलर्ट जारी गर्यो । 

तथापि फिल्म सार्वजनिक हुँदा त्यस्तो कुनै घटना भएन । 

सात वर्ष पहिले ब्याटम्यान शृङ्खलाको अन्तिम फिल्म ‘द डार्क नाइट राइजेज’को एक सोको दौरान कोलोराडोको अरोरामा एक व्यक्तिले बन्दुक आक्रमण गरेका थिए । त्यस आक्रमणमा १२ मारिए र थप ७० घाइते भएका थिए । 

अहिले ‘जोकर’ अरोराको थिएटरमा देखाइएन । अघिल्लो आक्रमणका पीडितका परिवारले त्यसो गर्न अपिल गरेका थिए । 

पीडित परिवारले फिल्मको निर्माता कम्पनी वार्नर ब्रदर्सलाई चिठ्ठी लेखेका थिए । तिनले चिठ्ठीमा वार्नर ब्रोसँग अमेरिकाका विभिन्न समयमा हुने बन्दुक आक्रमणमा मारिएका पीडितलाई सहयोग गर्न बनेको समूहलाई आर्थिक सहयोग गर्न अपिल गरेका थिए । 

अमेरिकी म्यागजिन ‘द हलिउड रिपोर्टर’मा छापिएको उक्त खुला चिठीमा लेखिएको थियो, ‘हामी ती कर्पोरेट प्रमुखहरूलाई साथ दिन अपिल गर्छौं, जो हामी सबैलाई सुरक्षित राख्नु आफ्नो सामजिक उत्तरदायित्व मान्छन् ।’

एक पीडितका नातेदारले फिल्मले उनलाई जेम्स होम्सको सम्झना गराएको बताए । होम्सलाई अरोरा नरसंहारको लागि जन्मकैदको सजाय भोगिरहेका छन् ।  

अरोरा आक्रमणमा आफ्नो २४ वर्षीया छोरी जेसिका गवीलाई गुमाएकी स्यान्डी फिलिप्सले हलिउड रिपोर्टरसँग भनिन्, ‘मलाई होम्स जस्ता कथा बोकेको फिल्म हेर्नु छैन । जोकरको ट्रेलर मात्र हेर्दा पनि मलाई हत्याराको तस्बिर देखेको लाग्यो ।’

कैयौँ अन्य अमेरिकी सहरका सिनेमाघरले पनि जोकर फिल्म हेर्न आउँदा माक्स, फेस पेन्ट या अन्य अजीव पहिरन नलगाउन भनेका छन् । जबकि सुपरहिरो फिल्मको दौरान दर्शकले यस्तो पहिरन लगाउनु सामान्य चलन हो । 

‘फिल्मले हिंसाप्रति सहानुभूति राखेको छैन’
जोकरले एक मानसिक रूपमा बिरामी कमेडियन अर्थर फ्लेकको कथा भन्छ । तर पेसागत र निजी जिन्दगीमा बेहोर्ने अनेक हन्डरले गर्दा ऊ अपराधको संसारमा धकेलिदिन्छ । 

फिल्ममा हिंसाको निक्कै भयानक दृश्य छ । अमेरिकाका केही फिल्म समीक्षकले निर्देशकमाथि अर्थर फ्लेकको कथालाई महिमामन्डन गरेको आरोप लगाइएको छन् ।

‘भ्यानिटी फेयर’ म्यागजिनको रिचर्ड लान्सनले लेखेका छन्, ‘यो फिल्मले कोही अत्यन्त आत्मकेन्द्रित हुनुलाई राम्रो देखाउन सक्छ ।’ त्यसपछि लरेन्सले प्रश्न गरेका छन्, ‘जोकर भयानक पात्र हो या महिमामन्डन गरिनु लायक पात्र ? के यी दुईबीच कुनै भिन्नता छैन ?’

निर्देशक टोड फिलिप्स र फिल्ममा जोकरको भूमिका निभाएका ह्वाक्विन फिनिक्स जोकर फिल्मले हिंसाप्रति सहानुभूति राखेको भन्नेमा सहमत छैनन् । 

टोड फिलिप्प आफ्नो फिल्मलाई लिएर उत्पन्न विवादबाट हैरान छन् ।

फिल्म प्रचारको दौरान एक साक्षात्कारमा उनले भनेका थिए, ‘यो फिल्मले मायाको अभाव, बाल्यकालको खराब अनुभव र संसारमा सहानुभूतिको कमीलाई देखाउँछ । मेरो विचारमा मानिसहरूले यो सन्देशलाई बुझ्न सक्छन् । कला जटिल हुनुपर्छ भन्ने मलाई लाग्छ । यदि तपाईं सजिलो कला मन पराउनुहुन्छ भने क्यालिग्राफीतर्फ जान सक्नुहुन्छ ।’

‘फिल्मले फरक सोच्न बाध्य बनाउनु ठीक हो’

एक अन्तरवार्ताका क्रममा फिनिक्सलाई फिल्मले हिंसालाई बढावा दिएको बारे प्रश्न गरिँदा उनले अन्तरवार्ता छाडेर हिँडेका थिए । 

अर्को अन्तरवार्तामा फिल्मको बचाउ गर्दै उनले भनेका थिए, ‘यो फिल्मलाई लिएर भएको विवादबाट म हैरान भएको छु । आजकल वामपन्थीहरूसमेत आफ्नो एजेन्डा अनुसारसजिलै दक्षिणपन्थीजस्तै बोल्न थालेका छन् ।’

फिनिक्सले फिल्मलाई लिएर उत्पन्न ‘विवाद’बाट मजा लिइरहेको बताए ।  

उनले एक अन्तरवार्तामा भने, ‘फिल्मले तपाईंलाई असहज उत्पन्न गराउनु र फरक सोच्न बाध्य गराउनु सही हो । यसले त म खुसी छु । म आफैले पनि यो भूमिका सहज नहुने देखेर यो फिल्म छानेको थिएँ ।’

मानिसभित्र खलनायकप्रतिको आकर्षण 
जोकरजस्ता फिल्मप्रतिको आकर्षणमा मानिसभित्र खलनायकप्रति रहेको आकर्षणले काम गरेको पनि बताइन्छ ।

अमेरिकी रेडियो स्टेसन केओएमा बोल्ने क्रममा मनोचिकित्स ट्याभिस ल्याग्लीले भनेकी थिइन्, ‘कहीँ न कहीँ हामी अनेक मर्यादाका बन्धन नहोस् भन्ने चाहन्छौँ । ’

ल्याङ्गली भनिन्, ‘यस प्रकारको कथामा भिलेन कथाको चालक शक्ति हुन्छ र नायक एक प्रतिक्रिया गर्ने पात्र हुन्छ । भिलेनले केही गरेपछि हिरोले त्यसमा प्रतिक्रिया जनाउँछ ।’

सन् २००८ मा प्रदर्शन भएको ‘द डार्क नाइट’मा जोकरको भूमिका निभाउने हिथ लेजरको फिल्म प्रदर्शनमा आउनु अघि मृत्यु भयो । 

फिल्ममा लेजरको अभिनय यति सशक्त थियो कि सन् २००९ मा ‘उत्कृष्ट सहायक अभिनेता’का लागि उनले मरणोपरान्त ओस्कर पुरस्कार जिते ।

सन् १९८९ मा ब्याटम्यान फिल्ममा जोकरको भूमिका निभाएका ज्याक निकोल्सनको टिप्पणी पछि ‘जोकर’को भूमिकाको कारणकै कारण त कतै लेजरको मृत्यु भएको त होइन भन्ने हल्ला फैलियो । 
लेजरको मृत्युको सूचना प्राप्त भएपछि निकोल्सनको टिप्पणी गरका थिए, ‘मैले उनलाई चेतावनी दिएको थिएँ ।’

चर्चा अनुसार फिल्ममा जोकरको तयारीका लागि हप्तौँ सहरको एक एपार्टमेन्टमा एक्लै बसेका लेजरलाई त्यसैले डिप्रेसन भयो । डिप्रेसका लागि खाने औषधिको ओभरडोज भएर उनको मृत्यु भएको थियो । 
तर उनको डिप्रेसनमा जोकर पात्रको भूमिका कति जिम्मेबार थियो भन्नेमा विवाद छ । 

मानसिक स्वास्थको गलत चित्रण 
जोकर फिल्ममा जसरी मानसिक बिरामीको चित्रण भएको छ, त्यसबारेमा मानसिक स्वास्थ क्षेत्रमा काम गर्ने व्यक्तिहरूले पनि चिन्ता व्यक्त गरेका छन् । पहिलेदेखि हलिउडमा मानसिक बिरामीलाई देखाउने शैलीलाई लिएर विवाद हुँदै आएको छ । 

मानसिक रोगसँग जोडिएको भेदभावविरुद्ध काम गर्ने ब्रिटिस च्यारिटी ‘टाइम टु चेन्ज’का अनुसार मनोरोगसँग जोडिएर कैयाैँ पुरातन विचारले गर्दा समाजमा यसलाई लिएर बदलाव आउन सकेन ।

च्यारिटीको सञ्चार प्रमुख जुली इवान्सले भनिन्, ‘फिल्ममा मनोरागीलाई नकारात्मक रूपमा देखाउने चलन सुधार नभएको होइन । तर अझै पनि यो व्याप्त छ । तिनको नाटकीय प्रस्तुतिले दर्शकलाई तीबारे गलत जानकारी दिन्छ ।’

युनिभर्सिटी अफ इस्ट एन्जिला स्टडिजमा लेक्चरर टिम स्नेलसन सिनेमा र मानसिक स्वास्थलाई लिएर एक परियोजनामा काम गरिरहेका छन् । 

टिम स्नेलसन भन्छन्, ‘हलिउडले मानसिक रोग र हिंसालाई जोडेर एक मिथक तयार गरेको छ । खासमा कुनै खराब अनुभवले गर्दा नै मानसिक रोग उत्पन्न हुन्छ । तर जोकर फिल्मले मानसिक रोगी सम्बन्धमा एक बहस पनि सिर्जना गरेको छ । यसलाई सकारात्मक रूपमा लिनुपर्छ । यस्तो बहसले थप चेतना निम्त्याउन सक्छ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप