शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभूतपूर्व घटनाः अष्ट्रेलियाका सबै पत्रिकाको पहिलो पाना किन कालो ?

सोमबार, ०४ कात्तिक २०७६, १२ : ४५
सोमबार, ०४ कात्तिक २०७६

अष्ट्रेलियामा एक अभूतपूर्व घटना स्वरुप सोमबार बिहान देशका सबै पत्रिकाको पहिलो पाना कालो छापिएका  छन् ।

पत्रिकाले देशमा मिडियामाथि लगाम लगाउने कोसिसको विरोधमा यस्तो कदम उठाएको छ ।

पत्रिकाका अनुसार अष्ट्रेलियाली  सरकारको कडा कानूनले उनीहरुलाई मानिसमाझ जानकारी पुर्‍याउन रोकिरहेको छ ।

यस वर्ष जूनमा अष्ट्रेलियाको एउटा ठूलो मिडिया समूह अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (एबीसी) को मुख्य कार्यालय र एकजना पत्रकारको घरमा छापा मारेको घटनाको विरोध गर्दै पत्रिकाहरुले पाना कालो राख्ने तरिका अपनाएका हुन् ।

यी छापा ह्विसलब्लोअर्सबाट चुहिएको जानकारीको आधारमा प्रकाशित भएका केही लेखपछि मारिएको थियो ।

पत्रिकाहरुको यो अभियान – राइट टु नो कोएलिशन – लाई थुप्रै टिभी, रेडियो र अनलाइन समूहले पनि समर्थन गरिरहेका छन् ।

यो अभियान चलाउनेहरुका अनुसार पछिल्लो दुई दशकमा अष्ट्रेलियामा यस्ता कडा सुरक्षा कानून लगाइएको छ जसले खोजी पत्रकारितालाई खतरा पुर्याइरहेको छ ।

गत वर्ष उक्त नयाँ कानून ल्याइएपछि मिडिया संगठनले पत्रकार र ह्विसलब्लोअर्सलाई संवेदनशील मामलाको रिपोर्टिङमा छुट दिनका लागि अभियान चलाइरहेका छन् ।

Photo: GETTY IMAGES

छापाः

सोमबार देशकै सबैभन्दा चर्चित पत्रिका र त्यसका प्रतिस्पर्धीले एकजुटता देखाउँदै आफ्नो मुख्य पृष्ठमा लेखिएका सबै शब्दलाई कालो मसीले पोतेका छन् र त्यसमा एउटा लाल मोहर लगाइएको छ जसमा लेखिएको थियो – ‘सिक्रेट’ ।

यी पत्रिकाका अनुसार राष्ट्रिय सुरक्षा कानूनका कारण रिपोर्टिङमाथि अंकुश लगाइँदै छ र देशमा एउटा ‘गोपनियताको संस्कृति’ बनेको छ ।

सरकारले आफूले प्रेस स्वतन्त्रताको समर्थन गर्ने तर कानूनभन्दा माथि कोही पनि नहुने पनि बताएको छ ।

जूनमा एबीसीका मुख्यालय र न्यूज कर्प अष्ट्रेलियाको एकजना पत्रकारको घरमा छापा मारेपछि निकै विरोध भएको थियो ।

मिडिया संगठनका अनुसार चुहिएका जानकारीको आधारमा केही रिपोर्ट प्रकाशित भएपछि छापा मारिएको हो ।

यीमध्ये एक रिपोर्टमा युद्ध अपराधको आरोप लगाइएको थियो जबकी अन्य रिपोर्टमा एक सरकारी एजेन्सीमाथि अष्ट्रेलियाली नागरिकको जासुसीको आरोप लगाइएको थियो ।

Photo: EPA

एकजुटः

न्यूज कर्प अष्ट्रेलियाका एग्जेक्युटिभ चेयरम्यानले आफ्नो पत्रिकाको मुख्य पृष्ठको तस्बिर ट्वीट गर्‍यो र मानिसहरुसमक्ष सरकारलाई यो प्रश्न सोध्न आग्रह गरेको छ, ‘उनीहरुले हामीसँग के लुकाउन खोजिरहेका छन् ?’

यस्तै न्यूज कर्पको मुख्य प्रतिद्वन्द्वी– नाइन– ले पनि आफ्नो पत्रिका ‘सिड्नी मर्निङ्ग हेराल्ड’ र ‘द एज’ को मुख्य पृष्ठ कालो छापेको छ ।

एबीसीका एमडी डेभिड एन्डरसनले भने, ‘अष्ट्रेलियामा संसारको सबैभन्दा गोप्य लोकतन्त्र बन्ने खतरा छ ।’

तर अष्ट्रेलिया सरकारले यी पत्रिकाका तीन पत्रकारविरुद्ध अभियोग चलाइन सकिने कुरा आइतबार पुनः दोहोराएको छ ।

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले प्रेसको स्वतन्त्रता महत्वपूर्ण छ तर कानूनको राज कायम रहनुपर्ने बताएका छन् ।

उनले भने, ‘त्यो ममाथि पनि लागु हुनसक्छ, वा कुनै पत्रकारमाथि पनि, वा जो सुकैमाथि पनि ।’

अष्ट्रेलियामा प्रेस स्वतन्त्रतामाथि एक अनुसन्धानको रिपोर्ट अर्को वर्ष संसदमा पनि पेश हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप