केन्द्रीय संस्करण
मानव तस्करी

एउटा ‘रङ नम्बर’ जसकै कारण बेचिँदै थिइन् किशोरी

जब ‘प्रेमी’ दलाल बनेर निस्किए

person explore access_timeकात्तिक ३, २०७६ chat_bubble_outline0
मदन ढुङ्गाना

रातोपाटी

१७ वर्षकी एक किशोरी । परिवर्तित नाम सिर्जना माझी ।

नवलपरासी स्थायी घर भएकी १७ वर्षीय किशोरी पुरानो दिल्लीको आनन्द बिहान रेल्वे स्टेसनमा रुँदै गरेको अवस्थामा भेटिन्छिन् । रेलवे स्टेसनको प्रतीक्षालयमा रुँदै गरेको अवस्थामा एक्लै एक किशोरी भेटिएपछि चाइल्ड वेलफेयर कमिटीका सदस्यहरूले उनलाई भेट्छन् ।

त्यसपछि सिर्जनालाई रेलवे स्टेसनबाट उद्धार गरिन्छ, ३९ दिन आफ्नो सेल्टरमा राखेपछि नेपाल फिर्ता गरिन्छ ।

सिर्जना यतिबेला आफन्त नेपालको सेल्टरमा आश्रय लिइरहेकी छिन् ।

शुक्रबार रातोपाटीको टोली चितवनस्थित आफन्त नेपालको सेल्टरमा पुग्दा त्यहाँ १३ जना किशोरी तथा महिलाहरू थिए ।

त्यसैमध्ये एक थिइन्, १७ वर्षीय किशोरी सिर्जना माझी ।

कुराकानी गर्नका लागि अग्रिम अनुमति लिएर गएकाले उनले हामीलाई चिनिहालिन् ।

त्यसपछि सुरु भयो कुराकानीको सिलसिला ।

सुरुवातमै उनले भनिन्, ‘धन्न म सकुसल नेपाल आइपुगेँ ।’

‘मतलब ?’ रातोपाटीको प्रश्नमा थोरै मुस्कुराएर सिर्जनाले भनिन्, ‘म बेचिनबाट जोगिए नि ।’

यी तिनै किशोरी थिइन्, जुलाई पुरानो दिल्लीको आनन्द बिहार रेलवे स्टेसनबाट उद्धार गरिएको थियो । बेचिन लागेकी एक नेपाली किशोरीलाई त्यहाँको महिला सेलको पहलमा उद्धारमा गरिएको थियो ।

सिर्जनाको दिल्ली कथा

नवलपरासी स्थायी घर भएकी सिर्जनाले कक्षा ६ सम्म पढेकी छिन् । ६ कक्षा पढ्दै गर्दा स्कुलमा ‘स्पष्टीकरण’ सोधेपछि उनले स्कुल जानै छाडिदिइन् ।

‘कस्तो स्पष्टीकरण ?’ रातोपाटीको प्रश्नमा सिर्जनाले बेलिबिस्तार लगाइन् ।

‘६ कक्षामा पढ्दा अर्को स्कुलबाट एउटा केटा हाम्रो स्कुलमा पढ्न आएको थियो । त्यो केटा म्याथमा अलि कमजोर थियो । म म्याथमा राम्रो विद्यार्थी थिएँ । म चाँडै नै क्लास वर्क सक्ने भएकाले म्याथ पढाउन शिक्षिकाले पनि त्यो केटालाई म्याथ सिकाइदिन भन्नुहुन्थ्यो । म त्यो केटालाई म्याथ सिकाइदिन्थेँ ।’

‘त्यही क्लासमा मेरो एउटी केटी साथी थिई । त्यो साथी मसँग अलि बढी जल्थी । त्यो केटालाई म्याथ सिकाएको र त्योसँग नजिक भएको साथीलाई मन पर्दैनथ्यो । त्यही साथीले म र त्यो केटाको बारेमा स्कुलको प्रिन्सिपललाई नराम्रो नराम्रो भनिदिइछ । त्यसपछि मलाई र त्यो केटालाई प्रिन्सिपल सरले बोलाउनुभयो र के के कुरा सोध्नुभयो । स्पष्टीकरण दिन लगाउनुभयो । हुँदै नभएको कुरा लगाएर मेरो बेइज्जत गर्न खोजेपछि मैले स्कुल जानै छाडिदिएँ ।’

विद्यालय जान छाडेपछि सिर्जना आफ्नो घरमा नै बस्न थालेकी थिइन् ।

घरकै सामान्य काम गर्ने उनको दैनिकी थियो ।

यहीबीचमा विदेशमा रहेका उनका बुबा नेपाल आएका थिए । छोरीको विवाह गरेर फेरि विदेश जाने उनको सोच थियो ।

यही सोचमा गएको मङ्सिरदेखि सिर्जनाको बिहेको कुरा चल्न थाल्यो । बिहेको कुरा अगाडि पनि बढ्यो । तर वैशाखताका कुरा चलेको ठाउँबाट विवाह नगर्ने भन्ने कुरा आयो । बिहेको कुरा सेलायो ।

...

सिर्जनाको फुपूको घर भारतको उत्तरप्रदेशस्थित पैकौलीमा थियो । उनी पहिले पनि कहिलेकाहीँ फुपूको घर जाने गरेको थिइन् ।

फुपूको छोराको बिहे जेठको ४ गते गर्ने निर्णय भएछ ।

त्यसपछि फुपूको छोरा विवाहको कार्ड लिएर सिर्जनाको घर आएका थिए । त्यही बेला सिर्जना पनि दाइसँगै फुपूको घर पैकौली गइन् । त्यो वैशाख २६ गतेको कुरा थियो ।

त्यसपछि बिहेको काम सकियो । तर सिर्जना नेपाल आइनन् । फुपुको घरमै बस्न थालिन् ।

सिर्जनासँग एउटा स्क्रिन टच मोबाइल थियो । त्यही मोबाइलमै उनले भारतीय सिमकार्ड हालेर चलाउन थालिन् ।

भाउजुको एउटा सिमकार्ड एक्सट्रा थियो । उनले त्यही सिमकार्ड चलाउन थालिन् । फोनसँगै उनले त्यही नम्बरबाट वाट्सएप पनि चलाउन थालिन् ।

...

मोबाइल चलाउन थालेको केही समयमा उनको मोबाइलमा एउटा ‘कल’ आयो । एक युवकले उनको मोबाइलमा फोन गरेका थिए र सरितासँग कुरा गर्न चाहेका थिए । सिर्जनाले आफू सरिता नभएको प्रष्टीकरण दिँदै ‘रङ नम्बर’ भन्दै फोन राखिदिइन् । तर ती युवक ‘तिमी सरिता नै हो, म आवाज चिन्छु’ भन्दै पटक पटक फोन गर्न थाले ।

सिर्जनाले आफू सरिता नभएको बताए पनि ती युवकले फोन गर्न छाडेनन् । बरु युवकले तिम्रो आवाज कति मीठो भन्दै सिर्जनालाई फुर्काउन थाले । वाट्सएपमा आफ्नो फोटो पठाउन थाले । अनि वाट्सएपमै भिडियो कल पनि गर्न थाले । युवकले सिर्जनालाई प्रेम गर्ने भन्दै बिहे गर्ने कुरा बताए ।

ती युवकको नाम नन्दन थियो । सिर्जनालाई त्यो युवकको घर, ठेगाना, काम आदिबारे केही जानकारी नै थिएन । यद्यपि सिर्जना आफू पनि सायद युवकको ‘प्रेम’मा परेकी थिइन् ।

त्यसो त एक पटक फुपूले सिर्जना र त्यो युवकबीच फोन र वाट्सएपमा कुरा हुने गरेको थाहा पाएपछि सिर्जनाको बुबालाई भनिदिएकी थिइन् । बुबाले त्यही विषयलाई लिएर सिर्जनालाई गालीसमेत गरेका थिए । त्यतिबेला सिर्जनाले आफूले नचिनेको र प्रेम नभएको बताइन् । अनि सिर्जनाको बुबा आफैले त्यो केटालाई फोन गरेर अब फोन नगर्न भनेका थिए । सिर्जनाले पनि फोन नगर्नका लागि त्यो केटालाई भनेकी थिइन् ।

त्यसपछि केही समय नेपाल आइन् । करिब एक साता नवलपरासीस्थित आफ्नै घरमा आइन् ।

तर नेपाल आएको एक सातामै सिर्जना बिरामी परिन् । अनि उपचारका लागि भन्दै उनलाई उत्तरप्रदेश लगियो । के भएको हो भनेर थाहा पाउन सिर्जनालाई लामाको लगियो । लामाले भूत लागेको भन्दै पन्छाउने कुरा गरे । सिर्जनालाई लागेको भूत पन्छाइयो ।

तर पनि सिर्जना फुपूको घरमै बस्न थालिन् ।

त्यो युवकसँगको कुराकानी फेरि सुरु भयो । अझ भन्ने हो भने झनै बाक्लियो ।

यहीबीचमा युवकले सिर्जनालाई विवाह गर्ने बतायो । आफू दिल्लीमा रहेको र लिनका लागि उत्तरप्रदेशको सिंस्वा बजार रेलवे स्टेसनमा आउने कुरा बतायो । सिर्जना युवकसँगै दिल्ली जान तयार भइन् ।

...

२१ अगस्ट २०१९ अर्थात् भदौ ४ गते उनी फुपूको घर पैकौलीबाट युवकलाई भेट्न हिँडिन् । उनी फुपूको घरबाट सिंस्वा रेलवे स्टेसनसम्म बसमा गइन् ।

पहिले नै कुराकानी भएर युवकसँग दिल्ली जान तयार भएकी सिर्जना युवकलाई भेट्न सिंस्वा बजारको रेलवे स्टेसनमा पुगिन् ।

युवक पहिले नै त्यहाँ पुगिसकेका थिए । भेट भएपछि उनीहरू त्यहीँबाट दिल्ली जान तयार भए ।

रेलवे स्टेसनबाट दुवै जनाले रेलको टिकट काटे । तर सिर्जनाले आफ्नो भाडा आफै दिइन् ।

‘किन आफ्नो भाडा आफैले दिएको नि भन्ने हाम्रो प्रश्नमा सिर्जनाले उसलाई तिराउन मन नलागेको बताइन् ।

...

२२ अगस्ट २०१९ । अघिल्लो दिन अपरान्ह १ बजे सिंस्वा बजार उत्तरप्रदेशबाट गुडेको रेल भोलिपल्ट अर्थात् २२ अगस्टका दिन बिहान ११ बजे पुरानो दिल्लीको आनन्द बिहार स्टेसन आइपुग्यो ।

स्टेसन आएपछि उनीहरू दुवैजना ओर्लिए । नन्दन नाम गरेका ती युवक नास्ता लिन भन्दै बाहिरिए । सिर्जनालाई प्रतीक्षालयमै बस्न भनियो । एकछिन भनेर गएका युवक आधा घण्टासम्म पनि आएन । सिर्जनाको मनमा अनेक कुरा आउन थाल्यो । उनी त्यहीँ रुन थालिन् । बिहे गर्ने भनेर दिल्ली आएकी सिर्जनालाई रेलवे स्टेसनमा एक्लै छाडेर युवक लामो समयसम्म पनि आएन । बिहे गर्ने व्यक्तिले नास्ता खान किन सँगै लगेन ? सिर्जनाको मनमा यस्तै कुरा खेल्न थाले ।

एक १७ वर्षकी किशोरी रेलवे स्टेसनमा एक्लै रोइरहेको देखेपछि भारतकै महिला सेलको टोलीले सिर्जनालाई सोधपुछ गरे ।

उनले आफू नेपालदेखि आएको र आफूलाई ल्याउने युवक नास्ता लिन गएको कुरा बताइन् । तर लामो समयसम्म पनि युवक हराएपछि करिब एक घण्टापछि ती युवकको मोबाइलमा फोन हानियो । सिर्जनाले आफूलाई डर लागेकाले छिटो आउन भनिन् । तर युवक भने ‘किन’ भन्दै एकछिन कुर्न भने ।

फोन गरेको केही समयपछि युवक रेलवे स्टेसनमा आइपुगे । तर युवकको साथमा नास्ता थिएन ।

युवकको गतिविधि शङ्कास्पद लागेपछि महिला सेल र बाल समितिको टोलीले उनीहरू दुवै जनालाई नजिकको प्रहरी कार्यालयमा लगे ।

प्रहरी कार्यालयमै सोधपुछ भएपछि सिर्जनाले आफ्नो सबै बेलिबिस्तार लगाइन् । युवकले बिहे गर्छु भनेर दिल्ली ल्याएको कुरा पनि बताइन् ।

जब प्रेमी केटी बेच्ने दलाल निस्किए

तर प्रहरी कार्यालय पुगेपछि कथाले यु टर्न लियो । आफूलाई बिहे गर्ने भन्दै दिल्ली ल्याइपुराउने युवक त प्रेमी नभएर केटी बेच्ने दलाल पो रहेछ । यसभन्दा अगाडि नै ती युवकले ३–४ जना किशोरी तथा युवतीलाई प्रेम र बिहेको बाहाना बनाएर बिक्री गरिसकेको रहेछ ।

प्रहरी चौकीका प्रहरीले शङ्का लागेपछि युवक बस्ने स्थानका केही स्थानीय र युवकलाई चिन्ने केहीलाई प्रहरी कार्यालयमै बोलाए । युवकलाई देखेपछि उनीहरूले युवक केटी बेच्ने दलाल भएको बयान दिए । त्यसपछि युवकमाथि प्रहरी कार्यालयमै प्रहरी र बाल कल्याणका उद्धारकर्ताहरूले सामान्य कुटपीटसमेत गरे । सिर्जनालाई भने ठूलो दुर्घटनाबाट बाँचेको त्यतिबेला मात्रै थाहा भयो ।

युवक अझै बिहे गर्छु भन्दै थिए

प्रहरी कार्यालयमा पुर्याएपछि युवकले अझै पनि सिर्जनासँग बिहे गर्ने हो भन्दै थिए । सिर्जना आफ्नो प्रेमिका भएको भन्दै उनीसँग बिहे गर्ने बताइरहेका थिए ।

तर जब युवकबारे जानकारी पाइन्, सिर्जनाले बिहे नगर्ने बताइन् भने युवकले झुक्याएर आफूलाई दिल्ली ल्याइपुर्याएको बयान दिइन् । सिर्जनाको त्यस्तो बयानपछि युवकको फुत्कने प्रयास असफल भयो । युवकलाई अनुसन्धानका लागि हिरासतमा पठाइयो भने सिर्जनालाई बाल कल्याण समितिको जिम्मा लगाइयो ।

त्यसपछि ४० दिन सिर्जनाको दैनिकी बाल कल्याण समितिको संस्कार आश्रम र प्रहरी कार्यालय धाउँदैमा बित्यो ।

प्रहरीमा बयान दिन जाने र आश्रममै बस्ने हुन थाल्यो सिर्जनाको दैनिकी । सिर्जनाले आफू नेपाल जान चाहेको बताएपछि भारतमा मानव तस्करीमा परेकाहरूको उद्धारमा खटिएको संस्था र आफन्तलाई नेपाललाई खबर आयो । आफन्त नेपालका दिल्ली प्रमुख नवीन जोशीलाई जानकारी आएपछि जोशीले लगत्तै किशोरीलाई जिम्मा लिए र कागजात तयार भए पनि असोज १५ गते नेपाल ल्याए । अहिले सिर्जना आफन्त नेपालकै सुरक्षित आवासमा बसिरहेकी छिन् ।

विवाह भइसक्यो भन्दा पनि युवकले पिछा छाडेन

युवकले निरन्तर फोन गर्न थालेपछि सिर्जनाले आफ्नो विवाह भइसकेको भन्दै युवकलाई पिछा नगर्न र फोन नगर्न पनि भनेकी थिइन् । तर युवक भने विवाह भइसकेको भन्दा पनि सिर्जनालाई फोन गर्न छाड्नुको सट्टा झन बढी फोन गर्न थालिरहेको थियो । विवाह गरेको भए पनि विवाह गर्ने भन्दै युवक सिर्जनालई फकाउन उद्यत थियो ।

त्यतिबेला केही त गडबड छ भन्ने लागे पनि बिहे नै गर्ला नि त भन्ने लागेको थियो सिर्जनालाई । त्यसकारण उनी युवकसँग नजिक थिइन् । तर युवकको ‘नियत’ र ‘धन्दा’ गलत भएको कुरा सिर्जनाले पुलिस स्टेसन पुगेपछि मात्रै थाहा पाइन् । त्यसपछि भने सिर्जनालाई बल्ल ‘बाँचेको’ जस्तो अनुभव भयो ।

मासु काट्ने तालिम लिएर व्यवसाय गर्ने सोच

६ कक्षा मात्रै पढेर छाडेकी सिर्जनालाई यतिबेला भने केही नयाँ गर्ने सोच पलाएको छ । बुबाले पहिले विवाह गरिदिने कुरा राख्दा ठीकै लागेको सिर्जनालाई अहिले भने विवाह गर्नेबेला भएको छैन जस्तो लाग्न थालेको छ । बरु फेरि अध्ययन गर्ने वा केही व्यवसाय गर्ने हो कि भन्ने सोच पनि पलाएको छ ।

अहिले आफन्त नेपालले सिलाई कटाई र पुतली बनाउने तालिम दिइरहेको छ । तर सिर्जनालई त्यो पेसा मन परिरहेको छैन । बरु मासु काट्ने तालिम लिएर मासुजन्य व्यवसाय गर्ने सोच पलाएको छ ।

मोबाइल नचलाउन आग्रह

सिर्जनाले आफूले यो भूलबाट ठूलो पाठ सिकेको भन्दै अन्जानका व्यक्तिसँग कुराकानी नै गर्न नहुने बताउँछिन् । कुनै व्यक्तिको रङ नम्बरले सिर्जनाको जीवन झण्डै सकिएको थियो । यदि समयमै सिर्जनाको उद्धार हुन सकेको थिएन भने सायद उनी यतिबेला कुनै वेश्यालय वा घरमा बन्धक हुन्थिन् । तर समयमै उद्धार भएको कारण सिर्जनाले ‘नयाँ जीवन’ पाएकी छिन् ।

त्यसकारण पनि सिर्जना साना बालबालिकाले मोबाइल बोक्नु ठीक नहुने बताउँछिन् । त्यसबाहेक नचिनेको मान्छेसँग धेरै नजिक हुनु गलत भएको भन्दै मोबाइल वा सामाजिक सञ्जालबारे सजग हुनुपर्ने बताउँछिन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...