शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको तेस्रो जागरण अभियानबारे छलफल

आइतबार, ०३ कात्तिक २०७६, १६ : १४
आइतबार, ०३ कात्तिक २०७६

काठमाडौं । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको निवासमा नेपाली काँग्रेसको राष्ट्रिय जागरणको उद्देश्यका कार्यक्रमका बारेमा  छलफल भएको छ ।  काँग्रेसको पहिलो र दोस्रो राष्ट्रिय जागरणको कार्यक्रम सकिएको छ । पहिलो वैशाख, दोस्रो भदौमा भयो भने अब तेस्रो जागरण पुसमा १० दिनको कार्यक्रम हुँदैछ । तेस्रो कार्यक्रम गर्दा पहिलो र दोस्रोमा के अपुग भयो, त्यसको समीक्षा गरेर पुसमा हुने कार्यक्रम पूरा हुने गरेर जाने बारेमा छलफल भएको छ । 

नरहरि आचार्य, नेता नेपाली काँग्रेस

यो अभियानले सुरुमा नै १५ बुँदे उद्देश्य राखेको थियो । त्यो उद्देश्य पूरा भयो कि भएन ? केही पूरा भएकै होला । उद्देश्यको पहिलो नम्बरमा नेपाली काँग्रेस पार्टीको महासमितिको बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीका स्थानीय तहसम्मकै नेता तथा कार्यकर्तालाई र आम शुभचिन्तकलाई समेत व्यापक ढङ्गले सुसूचित गर्ने भन्ने थियो । अहिले जति पनि कुरा आएका छन्, आउने कुरामा महासमितिले पारित गरेकै विषयमा विवाद हुन्छ । यस्तो देखिएपछि महासमितिले पारित गरेको कुरा अहिलेसम्म पनि पु¥याउन सकेका रहेनछौँ भन्ने देखियो । 

हाम्रो सिद्धान्त काँग्रेस स्थापना हुँदा जे थियो त्यही नै छ । हाम्रो सिद्धान्त परिवर्तन भएको छैन । हाम्रो सिद्धान्त भनेको मुख्य लोकतन्त्र हो । त्यसले राष्ट्रियतालाई समातेर लोकतन्त्रको संरक्षण गर्ने, संवद्र्धन गर्ने, सिद्धान्त हो । हाम्रो कार्यक्रम समाजवाद हो । यो कुरा विसं. २०१२ सालमा पनि यही भनिएको थियो । संवैधानिक राजतन्त्र थियो, गयो । त्यो पनि हाम्रो नीति नै हो । यो नीति थियो हाम्रो, त्यो नीति परिवर्तन भयो । हाम्रो सिद्धान्त परिवर्तन भएको होइन, सिद्धान्त लोकतन्त्र नै हो । यो ढङ्गले व्यापक रूपमा सुसूचित गर्ने भनेका छौँ । 

दोस्रो तिनै तहका सरकारलाई नागरिक हित र मुलुकको समृद्धि सम्बन्धमा निर्वाचनमा मतदातालाई विश्वास दिलाएको काम गर्न अपिल गर्दै आवश्यक दबाब बढाउन भनिएको छ । यतिखेर सङ्घीय सरकार र प्रादेशिक सरकार हाम्रो जिम्मामा छैन । पालिका सरकार एक तिहाइ काँग्रेसकै जिम्मामा छ । त्यसलाई कसरी चलाउने भन्ने केही निर्देशन दिन पर्ने हो कि होइन ? यसका बारेमा कतै, कुनै चर्चा छैन । स्थानीय सरकारलाई कसले कसरी चलाउँदैछ सैद्धान्तिक रूपमा ? व्यावहारिक रूपमा जो निर्वाचित छन्, तिनले नै चलाएका छन्, सिद्धान्त कसले दिन्छ । पार्टीले के गरेको छ ? भन्ने कुरा मानिसको मनमा उठेको छ ।

विपक्षीको छ भने पनि भन्नु पर्यो, हाम्रो छ भने पनि कसरी चलाउनुपर्छ भन्नुपर्छ । गर्ने काम निर्वाचित प्रतिनिधिहरुले नै गर्छन् । यो सैद्धान्तिक आलोकमा, यो ढङ्गमा चलाउनु प¥यो भन्ने हाम्रो उद्देश्य हुन्छ । हामीले कति गर्न सकेका छौँ, मूल्याङ्कन गर्नुपर्छ । 

जीवन परियार काँग्रेस केन्द्रीय सदस्य 

नरहरि दाइको स्वास्थ्य दिनानुदिन राम्रो हुँदैछ । अझ स्वस्थ्य लाभको कामना गर्छु । दाइले पछिल्लै समयमा पनि बौद्धिक किसिमले जसरी पार्टीलाई योगदान पु¥याउनु भएको छ, यो हामी सबैले सिक्नै पर्ने कुरा हो । दाइको अगाडि बोल्न धक लाग्छ, डर लाग्छ । किनभने नेपाली काँग्रेस पार्टी र सिङ्गो राजनीतिमा नरहरि आचार्य भनेपछि तरङ्ग आउँछ । यो २३औँ कार्यक्रममा सहभाागी हुने अवसर मिलेको छ । काँग्रेस पार्टीलाई सुदृढीकरण गर्न यो छलफल महत्त्वपूर्ण छ । नेपाली काँग्रेसको राष्ट्रिय जागरण हाम्रो महासमिति बैठकले पारित गरेकै नीतिका आधारमा तयार गरिएको हो ।

केन्द्रीय प्रतिनिधिले जानुभन्दा पहिला के गर्नुपर्छ र गइसकेपछि के गर्नुपर्छ भन्नेसम्मको निर्देशन छ । पहिलो अभियान ७७ जिल्लामा १ महिने कार्यक्रम सुरु गरियो । दोस्रो अभियान ३३० प्रदेश निर्वाचन क्षेत्रमा केन्द्रीय प्र्रतिनिधि साथीहरु खटिनुभएको थियो । जागरण भनेको उद्बोधन, जागृति, होसियारीपन, स्मरणले रातभर बस्ने काम, भजन कीर्तनले रातभर बस्ने काम र रातभर जाग्राम बस्ने काम भन्ने जनाउँदो रहेछ । काँग्रेसले जागरण अभियान चलाएको पार्टीभित्र र जनतालाई होसियार, जागृत हुनुपर्छ भन्ने उद्देश्यका साथ यो जागरण भन्ने शब्द लिइएको लाग्छ ।

जागरणमा केन्द्रीय प्रतिनिधिहरुले कम बोल्ने बढी सुन्ने पनि भनिएको थियो । जागरणको समीक्षा सकारात्मक थियो । पार्टीमा शून्य अवस्था थियो, त्यसलाई चलायमान बनाएको छ । पार्टी कार्यकर्तामा नैरास्यता थियो, गतिशील बनाएको छ, पार्टीले केही गर्छ भन्ने सन्देश दिएको छ । यसले विपक्षीहरुलाई झकझक्याएको छ । 

सरकारले गरेका जनविरोधी कदम बाहिर ल्याउने काम भएको छ । सुशील दाइ प्रधानमन्त्री, नरहरि दाइ मन्त्री हुँदा हामीले संविधान जारी गरेको हो । तर हाम्रो पार्टीको सङ्घीय संरचना नै बन्न सकेन । कार्यकर्ताको गुनासो धैयर्तापूर्वक सुनिएको छ । अब जनतामा जाने कार्यक्रम चाहिन्छ भन्ने आम कार्यकर्ताको भनाइ छ । अहिले हाम्रै नेताहरुको गतिविधि, निर्णय क्षमता, सरकारमा हुँदा गरेका काम र वर्तमान सरकारको काण्डैकाण्ड घटेका छन् । त्यसमा प्रश्न उठिराखेको छ । 

तेस्रो चरणको जागरणमा गर्नुपर्ने काम ७५३ पालिकामा हामीले केन्द्रीय प्रतिनिधि पठाउने कुरा भइराखेको छ । त्यहाँ जाने प्रतिनिधि झन् धेरै दक्ष र विज्ञ हुन जरुरी छ । अब हाम्रो मुद्दा केके हुने हो ! अब हामी पालिका स्तरमा जाने हुँदा करको मारमा नेपाली जनता परेका छन् भनिरहेका छौँ । करको विषयमा काँग्रेसको दृष्टिकोण के हो ? कतिपय ठाउँमा काँग्रेसकै नेतृत्व छ ।

हामीले जितेको ठाउँमा करका विषयमा के भन्ने हो ? हाम्रो धारणा बनाऔँ । काँग्रेसको स्थानीय सरकार कसरी चल्ने ? त्यसको खाका बनाउन जरुरी छ । नमुना पालिकाको विकासको अवधारणा हामीले बनाउनुपर्छ । हामीले सङ्घीय सरकारका बारेमा मात्रै बोलेका छौँ । हामीले प्रदेश सरकारका बारेमा पनि बोल्नुु पर्छ । वैचारिक, राजनीतिक र साङ्गठनिक रूपमा हामी बलियो हुनुपर्छ । अबको कार्यक्रममा काँग्रेसको विचार स्पष्ट हुनेगरी जनतालाई मन पर्ने गरी कार्यक्रम बनाउन जरुरी छ । 

विकास लामा, काँग्रेस सभापति, सिन्धुपाल्चोक 
राष्ट्रिय जागरण कार्यक्रम सुरु हुँदा अत्यन्त खुसी भएका थियौँ । जागरण कार्यक्रमको उद्देश्य पूर्ति गर्ने किसिमले भने हुन सकेन । 

पहिलो जागरणको उद्देश्य गुटगत राजनीतिलाई कम गर्ने थियो । केन्द्रीय प्रतिनिधिहरुमा धेरै अस्पष्टता पनि देखियो । सिन्धुपाल्चोकमा अलि विवाद पनि रह्यो । केन्द्रीय प्रतिनिधिले केन्द्रबाट दिएको १५ बुँदालाई स्थानीय तहको समेत समावेश गरेर बढाउन पनि सकिन्थ्यो । स्थानीय मुद्दा पनि समावेश गर्नुपर्ने हुन्छ । 

दोस्रो जागरणको कार्यक्रम अझ बढी अव्यवस्थित रह्यो । तेस्रो जागरण कार्यक्रममा कम्युनिस्टसँग मानिस निरास छन्, काँग्रेसप्रति आकर्षित हुने बनाउनुपर्छ । तेस्रो जागरणको एजेन्डामा तल्लो तहका कार्यकर्ता उत्साहित हुने, आन्तरिक रूपमा समूह होला तर बाह्य रूपमा एकता रहेको अवस्था विश्वस्त बनाउन सक्ने एजेन्डा बनाउनुपर्छ । जागरण मार्फत युवालाई आकर्षित हुने एजेन्डा ल्याउनु प¥यो । काँग्रेसमा युवाको भविष्य छ, आउने चुनाव जित्छौँ भन्ने आधार देखाउन सक्नुपर्छ काँग्रेसले पाँच, दस र पन्ध्र वर्षको एजेन्डा सहित अघि आउनुपर्छ ।

डा. सुभाषचन्द्र यादव, काँग्रेस महासमिति सदस्य (सिरहा)

दोस्रो जागरण कार्यक्रममा केन्द्रीय प्रतिनिधि भएर महोत्तरी जाने अवसर मिल्यो । त्यसैले प्रतिनिधिका रूपको भूमिका र नेता, कार्यकर्ताको भनाइलाई मैले साक्षात्कार गर्ने अवसर पनि मिल्यो । प्रतिनिधिहरुको एउटै स्वर बनाउन छोटो समयको भए पनि प्रशिक्षण जरुरी देखिन्छ । अन्यथा आफूले बुझेको अनुसार नै राख्ने कुरा आउँछ ।

जागरण कसको लागि हो, किन हो भन्ने प्रश्न पनि छ । यी गम्भीर प्रश्न हुन् । क्रियाशील सदस्य साथीहरु पनि सबै परिचालन गर्न अझै सकिएको छैन । जागरण कार्यक्रमको उद्देश्यसँग धरातलको यथार्थ अवस्थासँग मेल खाएको छैन । हामी जागरणमा गएका ठाउँमा विषयवस्तुको चासो हुनुपर्छ । राष्ट्रिय विषय सबैको एउटै हुनसक्छ । 

हामी प्रदेश स्तरमा जाँदा प्रदेश प्रदेशका फरक बुँदाहरु पनि प्रस्तुत हुनुपर्छ । अहिले जागरणमा आरक्षणका कुरा उठिराखेको छ । हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा गइसकेका छौँ । संविधानमा आरक्षणका कुरा स्पष्टसँग छ ।

त्यसमा पार्टीका कुनै सदस्यलार्ई राम्रो नराम्रो लाग्दैमा समावेश नहुने त होइन ? यस्तो कुरा आपत्ति जनक हो । यस्तो गरेर गरिएको जागरणले जनतालाई सही सन्देश दिन सक्दैन, जसले गर्दा काँग्रेसलाई राम्रो गर्दैन । संविधान हामीले बनाएको हो । संविधानमा भएका आरक्षण लगायतका कुरा स्पष्ट रूपमा हामी भनौँ । विगतमा संविधानलाई कागजको खोस्टो हो भन्दै नागरिकताको विषयमा चर्को विरोध गर्नेहरु अहिले केही कुरै आएको छैन जसरी बसेका छन् । 
जागरण पार्टी सदस्यलाई हो भने त्यही रूपमा जानु पर्यो । जनतालाई गर्ने हो भने त्यही रूपमा जानु प¥यो । काँग्रेसको विचारलाई ध्यानमा दिएर तेस्रो चरणको कार्यक्रम आउँदा स्थानीय मुद्दा, प्रादेशिक मुद्दा र राष्ट्रिय मुद्दा तीनवटैलाई समावेश गरेर जानुपर्छ । नेपाली काँग्रेसले संविधान संशोधनका लागि गरेको प्रस्ताव र नागरिकतासम्बन्धी विधेयक बनाउँदा हाम्रो बोर्डरलाइन २०६३ हो भनिएको छ, यसको सराहना भएको छ । हामीले शोषित, पीडित, सीमान्त वर्गलाई आकर्षित र समावेशी गर्न जरुरी छ ।

रामचन्द्र घिमिरे, नेपाली काँग्रेस काठमाडौँ सदस्य 
राष्ट्रिय जागरणका दुई चरणका कार्यक्रम सकिएका छन् । त्यसमा सक्रिय रूपले काम गरियो । हाम्रो जागरण कार्यक्रममा महासमितिले पारित गरेको नीति, कार्यक्रम र विधानसम्बन्धी कतै चर्चासम्म पनि आएको छैन । सरकारको विरोध गरेका छौँ ।

नेकपा भ्रष्टाचारी भयो, नेकपाले अनैतिक काम गर्यो भनेका छौँ । त्यसैगरी हाम्रो पराजय र हारको कुरा पनि गरेका छौँ । यिनै काम गरेर पहिलो र दोस्रो जागरण सकेका छौँ । पार्टीको उद्देश्य अनुरूप हामीले काम गर्न सकेको भए अहिलेसम्म हाम्रो सङ्गठनको अवस्थामा नै फरक आइसक्थ्यो । 

अर्को, पालिका सरकार कसरी चल्छ ? भनेर मोडलका रूपमा सञ्चालन गर्न पाएको भए हाम्रो अवस्था धेरै फरक हुन्थ्यो । अहिले उठिरहेका जति पनि प्रश्न छन्, तिनको उत्तर दिन सकिन्थ्यो । अब हुने तेस्रो जागरण कार्यक्रममा केन्द्रीय प्रतिनिधिलाई पहिला प्रशिक्षण दिएर पठाउनु पर्यो ।

विगतका दुई कार्यक्रममा इतिहासका कुरा धेरै भए । अबको कार्यक्रम भविष्यमुखी हुनुपर्यो । काँग्रेस  महासमितिले थप व्याख्या गरेरको सङ्घीय लोकतान्त्रिक गणतन्त्र बताउने र धेरै परिवर्तन भएको पार्टी विधानका बारेमा राम्रोसँग बताउने गरी केन्द्रीय प्रतिनिधि आउनुपर्छ । काँग्रेससँग विद्यार्थी, तरुण, महिला, दलितको कमी छैन तर काँग्रेससँग यिनलाई सक्रिय बनाउने कार्यक्रम छैन ।

त्यसैले तेस्रो जागरणमा काँग्रेस सदस्यका परिवारमा रहेका विद्यार्थी, युवा, महिला र दलितलाई छुनेगरी कार्यक्रम आउनुपर्छ । मुलुकमा उठिरहेका विषयमा तत्काल काँग्रेसको धारणा बाहिर आउनु पर्यो । यस्तो धारणा तल्लो निकायसम्म पुग्ने संरचना बनाउन जरुरी छ ।

शिक्षक शिवचन्द्र घिमिरेले काँग्रेसले चलाएको जागरण भन्नाले काँग्रेस निदाएको, बेहोसी अर्थ लाग्ने, फेरि जगाउन भनिएको होला अथवा बाहिर गएका काँग्रेसी, कम्युनिस्टलाई काँग्रेस बनाउने लगायतका धेरै पक्षबाट हेर्नु पर्छ भन्ने लाग्छ । 

२०४६ सालपछि काँग्रेसको रजगज चल्यो । २०६३ मा माओवादीको बलमा आन्दोलन भयो । त्यसपछि कम्युनिस्टहरु हाबी हुन थाले । जनता यिनै हुन्, हिजो काँग्रेस भए, आज कम्युनिस्ट भएका छन् । हिजो बयलगाडा भन्नेलाई देश सुम्पिएको छ । यी कसरी सफल भए भन्दा बोलेर नै सफल भएका  हुन् । यिनले बोल्न जाने त्यो मान्नै पर्छ, काँग्रेस हारेकै हो त्यो मान्नै पर्छ । काँग्रेसले ती बोल्नेसँग कसरी काउन्टर गर्ने त ? बोल्नेसँग बोलेर नै काउन्टर गर्नुपर्छ । प्रतिपक्ष भएपछि काम गर्ने अवसर भएन । काँग्रेससँग बोल्ने वक्ता खोइ ? अध्ययन खोइ ? 

मैले हेर्दा काँग्रेसका नेताहरु गुटमा रमाउने, आफूलाई एउटा पद भए भयो । नरहरि आचार्यको पुस्तक  विमोचन पोखरामा हुँदा एकजना नेताले भन्नुभएको थियो, ओहो नरहरि दाइले त २०५१ सालमा नै भन्नु भएको रहेछ सङ्घीयता ! हामीलेत भर्खरै थाहा पाइयो भन्नु हुन्छ । नरहरिले भनेको काँग्रेसका नेताले भर्खरै थाहा पाउँछ भने काँग्रेस नेतृत्वको अवस्था कस्तो छ, स्पष्ट हुन्छ । 

त्यसैगरी गणतन्त्र भन्ने नरहरि आचार्य अर्थात गणतन्त्र काँग्रेसको हो कि प्रचण्डको ! कम्युनिस्टहरुसँग प्रतिस्पर्धा गर्न काँग्रेसको ठूलै तयारी चाहिन्छ । केपी वली अगाडि देखिए पनि मुख्य खेलाडी प्रचण्ड हुन् । प्रचण्डले केपीलाई मन पराएर मानेका होइनन् ! हिजो गिरिजालाई मन पराएर मानेका होइनन् ! यिनी व्यक्ति समाउँदैै हिँड्छन् र आफ्नो रणनीतिमा सफल पनि देखिएका छन् । जागरण भनेको काँग्रेस ब्युँझने हो । काँग्रेस ब्युँझने भनेको कम्युनिस्टलाई काउन्टर गर्ने हो, प्रतिवाद गर्न सक्ने हुनु हो । अब त्यो कार्यनीति, सिद्धान्तले हुन्छ कि बोलेर हुन्छ कि यो अपेक्षा नेतृत्व तहसँग प्रत्येक काँग्रेसले गरेका छन् जस्तो लाग्छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिभि मनिष जोशी, वसन्त गौतम, गोकर्ण पौडेल, कान्तिपुर क्याम्पसका स्ववियु सभापति पावल बज्राचार्य, श्याममणि आचार्य, सकुन्तला घिमिरे, स्मृति अर्याल, करुणा स्वाँर, यमुना लिम्बु, विनोद परियार, सविन भेटवाल, टोपेन्द्र रानामगर लगायतको उपस्थिति थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप