केन्द्रीय संस्करण

व्यङ्ग्य : यमराजमार्गका धराप र जनताको सुरक्षा

person explore access_timeकात्तिक ३, २०७६ chat_bubble_outline0

नेपालमा  गणतन्त्र आएछि कतिपय संस्था, मार्ग, गल्ली, चोकहरूको आपूmखुसी नाम परिवर्तन गरेर केही मान्छेहरू साँढे भएको बेला मजस्ता पाँडेले पनि स्वच्छन्द हुँदै सबै खाले बाटालाई गमाजीमा ‘यमराजमार्ग’ नाम  राख्ने निधो गरेँ । राजमार्ग, राजपथ, हरियाली पन्था, हाइवे,  विकासे पन्था, जेसुकै भनेर कौलासे पनि पछिल्लो समय नेपालीलाई संहार गर्ने भयकारी धराप, कथित विकासे बाटा र रैथाने जीर्ण राजमार्ग भनौँ वा बाजमार्ग रैतीका जिब्रो टोकाउने ज्यानमारा महाकालमार्ग बनेका छन्  ।

यही डाँडो, खाल्टो, हिलो, धुलो र पोखरीले कुरूप हाउगुजी  सडकमा  तडकभडक गरी अल्लारे, ओठ निचोर्दा दूध आउने वा नशाले बेसुर लग्गूहरूमा सवारी साधनका स्टेयरिङ थमाउने कुकामले यात्रुहरू सधैँ परमधाममा राम ! राम ! भन्दै कालको माम वा हाम बन्ने नियतिमा समृद्धिको सगरमाथा आरोहण गरेको गर्यै छन् गाँठे ! 

सरकारी मिथ्याङ्क र मोफसलको तथ्याङ्क  हेर्दा नेपालको यातायात कालको सहोदर भाइ भएर छँटाएको छँटायै छ बा ? ‘पथ सात फुटे बस नौ गजको’ भनेर भैरव अर्याल धेरै अगाडि कालभैरव नै बनेर कलमे कोर्रा नहानेका हैनन् सामन्त सत्तालाई, अब त हालको नव सामन्त सत्तालाई त्यसको डबल कोर्रा हान्नुपर्ने भएको छ । मोफसलको तथ्याङ्कमा नेपालमा दैनिक ४० वटा दुर्घटना हुन्छन् । यस्तो दुर्घटनामा दैनिक आधा सय पर्छन् भने, असमयमै यमपुरी  काजमा खटिने  १५ जना । बाँकी अरु अङ्गभङ्ग र घाइते अपाङ्ग भएर कहरिलो जीवन काट्न बाध्य हुन्छन् । हरि नभएका प्रहरीहरूको  निर्देशनालयको अर्ध तथ्याङ्कअनुसार नब्बे प्रतिशत दुर्घटना मानवीय कमजोरी र कट्मिरा बालक चालकका प्रतापले हुन्छन् रे । तर तिनीहरूलाई पास गराउने त्यही प्रहरी प्रशासन घुसमा नाना थोक भकुरेर ग्यास्टिकले डकारिरहेको हुन्छ अक्षमलाई प्रमाणपत्र सिउरिदिएर । 

दुर्घटनाको गन्थन र ललना भारहँकुवाकै टाउकामा मात्र सिउरिन हुँदैन भनी कतिपय पर्यवेक्षक यातायात व्यवसायीको घिन लाग्दो सिन्डिकेटलाई तारो बनाउँछन् पनि । रजत जयन्ती मनाइ सकेको ‘सवारी तथा यातायात व्यवस्था ऐन’ले चैनको सासै फेर्न अझै पाएको छैन । ‘स्वच्छ प्रतिस्पर्धात्मक ढङ्गबाट यातायात व्यवसायको विकास गर्न सार्वजनिक सवारीलाई चक्रीय प्रणाली अन्तर्गत सेवा सञ्चालन गर्ने गरी इजाजत पत्र प्रदान गरिने छैन ।’ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि त्यसलाई लागू गर्न नदिने नाफाखोर व्यवसायीलाई लुटेरा, ठग तस्कर नभने के भन्ने ? सरकार यहाँ तन्दुरुस्त छ र प्रतिपक्ष कायामा पनि श्वासप्रश्वास चल्दैछ भने तिनीहरू कस्ता व्यवसायी हुन् ? परिभाषा गर्नु पर्यो ।

सिन्डिकेटमा रहेका जीर्ण बसहरू नेपालका नेताजस्तै कबाडी भइसकेका छन्, विवेकले बोल्ने हो भने  मित लगाउन सुहाउँछन् पनि ।  अनि आफ्ना समकालीन मित्रहरूलाई नेताले पनि आउटडेटेड भन्न मनोवैज्ञानिक कठिनाइ भएकैले सडकमा बहर भएर पर परका बस्ती नै डिस्टर्ब गर्दै भएभरको नक्कली इन्धनको धुँवा छरेर ताजा कार्बनडाइ अक्साइडको सेवा हामीलाई पुर्याइरहेका छन् ।

उकालो बाटोमा ठसठस गरेर बलै घिस्रिने र ओरालो बाटामा थाम्नै नसक्ने गरी बत्तिने अनि धेरै बेरसम्म ‘ह्वाँ ह्वाँ’ गर्दै प्राणपखेरु नै उँड्न आँटेझैँ थैथैमा धरापयात्रा जारी राखेका छन् ।  ब्रेक, एक्सिलेटर, गेयर सबै बेठेगान बनेका जराजीर्ण गाडीमा दसैँ, तिहार, तीज र छठका आवत जावत गर्ने यात्रुहरूलाई गुन्द्रुक खँदाइमा बलबुताले भ्याएसम्म कुदाएका छन् बा ! यात्रु र सामान ओभरलोड गरी ढलपल ढलपल  बिरामीझैँ हिँड्दा थकित सवारी गलिताम भएर कहिले  नदी, कहिले भीर,  कहिले जङ्गल जता मेसो पर्छ त्यतै विश्राम लिन आतुर हुन्छन् ।

परिणाम भोलिपल्ट त्यही ब्यानरन्युज बनेर दुर्घटनामा यति जना बेपत्ता, यतिको अवस्था चिन्ताजनक, यतिको मृत्यु, यति जना अस्पताल लाँदालाँदै अवसान भनी समवेदनाका फिचर, पिक्चर र जाँचबुझ समिति खडा भएको समाचार छरपष्ट हुन्छ  । विडम्बना ! सडकमा सिँगारिएर बसेका ट्राफिक प्रहरी, जनसेवकको जामा भिरेर बसेको प्रशासन, कुर्कुस्त दाम हाम गर्ने व्यवसायी भने दर्शक बनेर भागशान्ति दामकै थुक निलिरहेका हुन्छन् जबाफदेहीपनलाई विश्राम दिएर । 

नेपालमा स्थानीय मन्त्रालयले निर्माण गरेको बाहेक  झन्नै तीस  हजार किलोमिटर सडक छ रे । सवारी साधन भने दुई पाग्रेदेखि सोह्र पाङ्ग्रेसम्म बत्तीस लाख पुगेको छ भन्छन् । नानीभन्दा  के जात्ति ठूलो भनेझैँ सवारी साधनको चाप धेरै खापाखाप हुँदा प्रायः जामले ‘थाल खाम् कि भात खाम्’ बनाएर यात्रुहरूलाई सबारी चढ्ने काम निल्नु न ओकल्नु भइरहेको छ । चार पाङ्ग्रे सवारी साधनको डिलरै चार दर्जन जिल्लामा हार लागेर जनतालाई बेकुप बनाइरहेका छन् अरे । सडक निर्माणको नाममा पहाडी बाटोमा ट्र्याक मात्र खोलेर लाटा जनतालाई चपरचट्टु बाठा अगुवाले गाउँगाउँमा विकास ल्याएको कुरा बाँडी भोट कुम्ल्याउँने विचौलिया फौजी कीराझैँ सलबलाएको विरूप तस्बिरले दिक्कै बनाउँछ गाँठे ? नेताका भरौटे, लँगौटे र पछौटेहरू सडक निर्माणका ठेकेदार बनेर प्रशासक भनौँ कि दुःशासकमा कमिसन र घुसको जुस पिलाउने रमिता खोकतन्त्र, गाणतन्त्र र भङ्गीयतन्त्रमा झन् सिस्नोझैँ मौलायो भनेर मिडियाहरू अनलाइन यन्त्रमा बजिरहेका छन्  । 

यतिखेर त गाउँगाउँ  धुलो, हिलो र धुँवा बाँडेर डिही, कौसी, बरन्डा, पिँडी, प्रदूषित बनाई डेङ्गो र त्यसका हजुर्बाउहरूले जनस्वास्थ्यमा सङ्क्रामक रोगहरू उरालिरहेका छन् ।  कोप्चेरो र साँगुरो नामधारी सडकमा भीमकाय बस, ट्रक बेपर्बाह कुदाएर कैयौँ यात्रुका जीवनमा तुच्छ खेलबाड चलेको चल्यै छ बा ? भयावह दुर्घना भइसकेपछि सरकार, व्यवसायी सङ्घ, उपभोक्ता मञ्च गोहीको आँसु चुहाउँदै समवेदनाका भीषण वक्तव्य निकाली टोपल्छन् । साँच्चै अब त यी नराधम उत्तम भएर तातेकै हुन् क्या र सरोकारविहीन सरकार पनि झैँ लाग्छ । दुर्घटनाका कारण पत्ता लगाउन कालक्रममा जाँचबुझ समिति बनाएर आफ्ना मान्छेलाई रोजगारी दिइन्छ र झाराको पारामा नाट्यमञ्चन पनि हुन्छ । परन्तु सम्बन्धित अधिकारीले आयोगको प्रतिवेदन बुझेर धमिरा तथा कमिलाको गतिलो वासस्थान बनाई काम भने फुट्टी  पनि गर्दैनन् पाखन्डवादका काइते र आइतेहरू । 

सबारी साधनको जाँच नारा मात्र बनेर यात्रुहरूलाई घाँस हाल्ने काम भएको छ यो नारै नाराले सत्ता मारा ! गर्ने लोकमा  । लागू पदार्थ मापसे चालकले गरेको छ छैन भनेर बुझ्ने ट्राफिक प्रहरी अलिकति चाट्न पाउने बित्तिकै तातेर बाई बाई गरिहाल्छ । हरामको ओखती हुँदैन भनेको यही होला ? चालक मस्तसित फोनमा  गर्लफ्राइन्डसित गफ दोचार्दै यात्रुलाई खाल्टाखुल्टीमा थचार्दै बेपर्बाह कुदिरहेको हुन्छ । भल्गर टेपका गानामा मानाका माना रौसी पिएर दिवाना बनेको चालकले कता लगेर यात्रुहरू समाधिस्थ गर्ने हो भनी यात्रुहरू  त्राहिमाम्  भइरहनुपर्ने थिति छ ।  

एक्कासि  भएको कुनै पनि कुरो वा कारबाही, काण्ड पर्व र घटना हो  भने ‘दुर्घटना’ भनेको अपर्झट आइपरेको कष्टपूर्ण अशुभ अवस्था हो । नेपाल दुर्घटनै दुर्घटनाको देश हो भन्दा अदना ललना भनाइ पक्कै हुँदैन । आधिदैविक, आधि—भौतिक र आध्यात्मिक तापका रापले च्यापाच्याप पारी सखाप पार्ने जनता विश्वमै बढी मात्रामा नेपाली बन्न पुगेका छन् । विभिन्न खाले दुर्घटनामा सडक  र सगर दुर्घटना नेपालको दीर्घ रोगैजस्तो  बनेको छ । त्यसैले नेपालको थलमार्ग वा आकाश मार्ग  यमराजमार्ग र  यात्रालाई ‘चित्रगुप्त भेट यात्रा’ भन्न पर्ने  थिति आएको छ ।

 अझै कोचाकोच गरी अव्यवस्थित सवारी साधनमा यमराजपुरीको यात्रा कथित राजमार्ग, राजपथ, विकासे बाटो र समृद्धि पन्था यममार्ग वा मृत्यु मार्ग भएर  निरन्तर चालु छ । गुनासा, प्रतिक्रिया र सुझाबका टौवामा बोकाहरूको दाइँबरादो चलिरहनु बासीहरूलाई काशी सम्झिएकाले हो कि ?  मुर्दावाद ! यमराजमार्गका व्यूहकारहरू । यसैले यममार्गका  धराप, दुर्घटनाका सराप बनिरहेछन् ।  धिक्कार ! कस्तो विकृति र विकार ! कहिले हुने यसको चिरफार पत्रकार ऋषि धमलाले भनेझैँ जनता जान्न चाहन्छ ! 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...