शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रिमियर लिग राउन्ड अप : चेल्सीको संघर्षपूर्ण जीत, टोटनहम रोकियो

शनिबार, ०२ कात्तिक २०७६, २२ : १०
शनिबार, ०२ कात्तिक २०७६

एजेन्सी । मार्को अलोन्सोले दोस्रो हाफमा गरेको निर्णायक गोलको मद्दतले चेल्सीले न्युक्यासललाई पराजित गर्दै सबै प्रतियोगितामा लगातार पाँचौ जीत निकाल्न सफल भएको छ ।

ट्यामी अब्राहमको प्रहार पोष्टमा लाग्नुका साथै क्रिस्टियन पुलिसिचको प्रहारलाई मार्टिन डुब्राभ्काले रोकेपछि खेल बराबरीतर्फ अघि बढिरहेको थियो । तर, खेलको ७३ औँ मिनेटमा स्पेनिस खेलाडीले गोल गर्दै चेल्सीलाई १–० को जीत दिलाए ।

जीतसँगै चेल्सी ९ खेलबाट १७ अंक बटुल्दै इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा रहन सफल भएको छ । उता, न्युक्यसल भने समान खेलबाट ८ अंक बटुल्दै लिगको रेलिगेसन जोनमा परेको छ ।

उता, अर्को खेलमा टोटनहम हटस्पर्स भने आफ्नै घरेलु मैदानमा वाटफोर्डसँग पराजित हुनबाट जोगिएको छ ।

अब्डुलाये डोकुरेले खेलको छैटौँ मिनेटमा नै गोल गरेपछि स्पर्स पछिल्ला ६ खेलमा पाँचौ हारतर्फ अघि बढेको थियो ।

तर, खेलको ८६ औँ मिनेटमा डेली अलीले गोल गर्दै खेलमा १–१ बराबरी गर्न सफल भए ।

९ खेलपछि स्पर्स लिगको सातौँ स्थानमा सिमित बनेको छ । ४ अंकसहित वाटफोर्ड लिगको पुछारमा रहेको छ ।

त्यस्तै, एक गोलले पछि परेको स्थिति उल्टाउँदै लेस्टर सिटीले बर्नलीलाई २–१ गोल अन्तरले पराजित गर्न सफल भएको छ ।

क्रिस वुडले पाहुना टोलीलाई पहिलो हाफको २६ औँ मिनेटमा अग्रता दिलाए पनि पहिलो हाफको अन्तिम मिनेटमा जेमी भार्डीले खेल बराबरी गरेका थिए ।

खेलको ७४ औँ मिनेटमा योरी टिलेम्यान्सले गोल गर्दै लेस्टरलाई तीन अंक दिलाए ।

जीतसँगै लेस्टर १७ अंकसहित गोलअन्तरको आधारमा चेल्सीलाई उछिन्दै लिगको दोस्रो स्थानमा उक्लेको छ । यद्यपि, म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससँगको खेल जीते लेस्टरलाई उछिन्नेछ ।

अन्य खेलमा एभर्टनले वेस्ट ह्यामलाई २–० र एस्टन भिल्लाले ब्राइटनलाई २–१ गोलअन्तरले हरायो भने बोर्नेमाउथ र नर्विच र वुल्भस र साउथह्याम्पटनले बराबरी खेलेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप