शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ठूला दु:खले घेरिएका छन् जनताका गायक जीवन शर्मा

शनिबार, ०२ कात्तिक २०७६, १३ : ००
शनिबार, ०२ कात्तिक २०७६

सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको

जनगायक जीवन शर्माको कालजयी यो गीत नसुन्ने सायदै कोही नेपाली होलान् । तर, यत्तिखेर यिनै जनताका गायकलाई ‘झन् ठूला दु:खले घेरेको’ देख्नेहरु चाहिँ साह्रै थोरै मात्र भएका छन् ।

हो, जीवनभर क्रान्तिको र परिवर्तनको पक्षमा दु:खी, गरिब र निमुखा किसान, मजदुर र भरियाका गीत गाएर आफू पनि दु:खको जिन्दगी बाँचिरहेका गायक जीवन शर्मा यत्तिखेर ‘ठूला दु:खले घेरिएका’ छन् ।

मध्य दसैँमा गायक शर्माको परिवारमा एउटा भवितव्य भयो, जसको कारण उनका माइला छोरा अमृत आचार्यमाथि घटेको घटनाले शर्मा परिवारमा नसोचेको चोट आइलाग्यो । छोराको उपचारको खर्च आफ्नो औकातभन्दा बाहिरको हुँदा गायक शर्मा अहिले तनावमा छन् । 

नवमीका दिन मासु खानेक्रममा खअमृतको घाँटीमा एक्कासी च्याङ्ग्राको हड्डी अड्कियो  । चिनजानका चिकित्सकहरुको सल्लाह अनुरुप घरमै प्राथमिक औषधीमूलो गर्दा समस्या हल नभएपछि गायक शर्मा छोरा अमृतलाई लिएर तेस्रो दिन ग्रिनसिटी अस्पताल पुगे । त्यसपछि वीर अस्पताल । अनि वीरबाट मनमोहन कार्डियो थोरासिक पु-याए ।

मनमोहनका चिकित्सकले घाँटी र आमाशयको बीचको अन्ननलीमा हड्डी अड्किएको, त्यो हड्डीले भोजननलीमा प्वाल पारेको र तुरुन्तै हड्डी ननिकालिए मुटु र फोक्सोमा समेत असर पर्न सक्ने भन्दै तुरुन्त अपरेसन गरे । अपरेसनमा अमृतको अन्न नलीसम्म काट्नु प-यो ।

चिकित्सकहरुका अनुसार अमृतको अन्ननली प्रत्यारोपण गर्न मिल्दैन । आमाशयको थैली काटेर त्यसबाट अन्ननली बनाउनुपर्छ । त्यसका लागि अर्को ठुलो अपरेसन गर्न पर्नेछ र त्यसका लागि ४० लाख रूपैयाँभन्दा बढी खर्च लाग्नेछ । 

अहिलेसम्मको उपचार गायक शर्मा देशविदेशमा आयोजित सांगीतिक कार्यक्रममा सहभागी हुँदा प्राप्त भएका रकम तथा उनका साथीभाइ र आफन्तहरुको सरसहयोगबाट सम्भव भएको छ । तर, अबको उपचारको लागि कसरी रकम जुटाउने ? गायक शर्मा रनभुल्लमा परेका छन् । जीवनभर गरिब किसान-मजदुर र क्रान्तिका पक्षमा गीत गाउँदै हिँडेका गायकका लागि ४० लाख रूपैयाँ जोहो गर्नु चानचुने चुनौतीको कुरो होइन । तैपनि स्वाभिमानले होला, उनी आफ्नो अथाह दुःख मिडियासँग लुकाइरहेका छन् । 

हाम्रा देशका कतिपय नेता तथा दलका कार्यकर्ता राज्यको खर्चमा देशबिदेशका महँगा अस्पतालमा उपचार गराउँछन् । जीवनभर जनताको गीत गाएर क्रान्तिको पक्षमा, परिवर्तनको पक्षमा समर्पित जीवन शर्मा जस्ता जनगायकको पीडामा भने अहिलेसम्म राज्यको ध्यान पुग्न सकेको छैन ।

त्यसैले भोगविलास, सुख-सुविधाको पर्वाह नगरी दु:खी जनताको पक्षमा आफूलाई होमेका गायक शर्मालाई जनस्तरबाट सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । दु:खी जनतालाई सधैँ साथ दिएका उनलाई अहिले आइपरेको दु:खबाट पार पाउन, देशबिदेश जहाँ रहेका भए पनि मनकारी सहयोगी हातहरुको खाँचो छ ।
 

(जनगायक शर्मालाई सहयोगको हात बढाउन चाहनेहरुले उनका दाइको नाममा रहेको निम्न बैंक खातामा सहयोग पठाउन सकिनेछ:
ग्लोबल आइएमई बैंक लिमिटेड
कान्तिपथ शाखा
अर्जुन आचार्य
खाता नं. ०१०७०१००४६७८७
त्यस्तै, गायक जीवन शर्माको दु:खमा मल्हम लगाउन चाहनेले कमल सरगम ९८५१२२४९७० मार्फत सिधा सम्पर्कसमेत गर्न सकिन्छ ।) 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप