शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विभेदविरुद्ध ‘निहारिका’

शुक्रबार, ०१ कात्तिक २०७६, २१ : १९
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौं– उपन्यासकार प्रकाश तिवारीको तेस्रो उपन्यास ‘निहारिका’ विमोचन भएको छ । शुक्रबार सर्वनाम थिएटरमा आयोजित कार्यक्रममा समीक्षक राजकुमार बानियाँ, कथाकार उमा सुवेदी र पत्रकार एवं कथाकार विमल नेपालले ‘निहारिका’ विमोचन गरे ।

उपन्यासमाथि बोल्दै कथाकार विमल नेपालले निहारिकाको माध्यमबाट लेखकले सामाजिक विभेदको यथार्थ उजागर गरेको बताए । नेपालले लेखकले उटाएको वर्गीय असमानताको चित्रण प्रभावशाली रहेको दाबी गरे । 

यस्तै अर्का वक्ता उमा सुवेदीले नारी पात्रको अन्तरजातीय प्रेम र नारी पात्रको सामाजिक संघर्षलाई निहारिकाले सशक्त ढङ्गले उठाएको बताइन् । समीक्षक राजकुमार बानियाँले भने लेखक तिवारीले परम्परागत शैली पछ्याए पनि दलित जनजीवनको स्वर उठाउन सक्नु नै ठूलो कुरा रहेको बताए । 

 ‘उपन्यासमा केही फिल्मी शैलीले पात्रहरूलाई चित्रित गरिएको छ’ बानियाँले भने, ‘तर पनि गण्डक क्षेत्रको आञ्चलिक स्वादले निहारिका पठनीय भएको छ । ’ 

लेखक तिवारीको यो तेस्रो उपन्यास हो । यसअघि उनको २०७२ सालमा ‘परित्यक्त’ र २०७४ सालमा ‘निलोफर’ उपन्यास प्रकाशित भइसकेको छ । यस्तै विभिन्न पत्रपत्रिकामा फुटकर कथा प्रकाशित गराइसकेका तिवारी नेपालको सामाजिक जीवनलाई आधार बनाएर आख्यान लेख्ने गर्छन् । ‘निहारिका’मा पनि उनले अन्तरजातीय प्रेमसम्बन्ध र जातीय छुवाछुतको मुद्दा उठाएका छन् ।
 
‘इन्डिगो इन्क’ले प्रकाशन गरेको उपन्यासको मूल्य २ सय ९९ राखिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप