शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

तिहारमा नेवार समुदायका लागि कात्तिक १३ मा बिदा दिन सांसद शाक्यको माग

शुक्रबार, ०१ कात्तिक २०७६, १२ : ४९
शुक्रबार, ०१ कात्तिक २०७६

काठमाडौँ । प्रदेश ३ का सांसद डा. अजयक्रान्ति शाक्यले भाइटीका (किजापूजा)का लागि सरकारले कात्तिक १३ मा बिदा दिनुपर्ने माग गरेका छन् ।

पञ्चाङ्ग निर्णायक समितिको निर्णयअनुसार सरकारले तिहारमा कात्तिक १०, ११ र १२ गते बिदा दिने निर्णय गरेपछि सांसद् शाक्यले असन्तुष्टि जनाउँदै कात्तिक ११, १२ र १३ गते नेवार समुदायले क्रमशः लक्ष्मीपूजा, म्हपूजा र भाइटिका मनाउनु पर्ने हुनाले कात्तिक १३ गते पनि बिदा दिन सरकारसँग माग गरेका हुन् ।

‘पञ्चाङ्ग समितिले घडी, पला मिलाएर विजया दशमी, भाइटिकालगायतका चाड–पर्वको साईत निकाल्दा नेवाः समुदायको मौलिक संस्कृति र परम्परालाई मिच्ने गरेको छ,’ शाक्यले भने, ‘सरकारले पनि पञ्चाङ्गलाई नै आधार मानेर यस्ता महत्त्वपूर्ण पर्वहरुमा बिदा दिँदा नेवाः समुदाय थप मारमा पर्ने गरेका छन् ।’

सांसद शाक्यले नेवाः समुदायको परम्पराअनुसार सूर्योदयको बेला जुन तिथि हुन्छ, उक्त दिन त्यही पर्व मनाउने प्रचलन रहेको पनि प्रष्ट पारे । कात्तिक १२ गते सूर्योदय हुँदा प्रतिपदा तिथि पर्ने भएकाले उक्त दिन नेपाल संवतको नयाँ वर्ष ११४० मनाउने र बेलुकी म्हपूजा गर्नुपर्ने उनको भनाइ छ । प्रतिपदाको दिन भाइटिका मान्न नसकिने जिकिर गर्दै उनले भोलिपल्ट अर्थात् १३ गतेका दिन सूर्योदय हुँदा द्वितीया तिथि रहने र उक्त दिन नै भाइटिका मनाइने बताए ।

‘पञ्चाङ्ग समितिले कात्तिक ९ गते त्रयोदशी अर्थात् काग तिहार भनेको छ, त्यस अनुसार १० गते चतुर्दशी अर्थात् कुकुर तिहार हुन्छ र ११ गते औँसी पर्छ,’ शाक्यले भने, ‘नेवाः समुदायमा पर्व मनाउन घडी–पलाको अर्थ रहन्न । सूर्योदय जुन तिथिमा भयो त्यो पुरा दिन त्यही तिथि पर्ने र त्यसैका आधारमा नेवाः समुदायले चाड–पर्व मान्ने चलन छ ।’

पञ्चाङ्गले ११ गते ९ बजेर ४५ मिनेटसम्म औँसी र १२ गते ७ बजेर ५१ मिनेटसम्म प्रतिप्रदा तिथि भनेको उल्लेख गर्दै सांसद शाक्यले भने, ‘त्यसपछि १२ गते नै भाइटिका भनेको छ, पञ्चाङ्ग समितिको निर्णय मान्ने हो भने हाम्रो परम्परा अनुसार नेपाल संवत् र म्हपुजा नै मिल्दैन ।’

पञ्चाङ्ग समितिले निकालेको साइतमा आफ्नो कुनै आपत्ति नभएको पनि उनले जनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप