शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

महिला क्रिकेटः काठमाडौंको पहिलो जित

बिहीबार, ३० असोज २०७६, १७ : ३५
बिहीबार, ३० असोज २०७६

काठमाडौं– कप्तान रुविना क्षेत्रीले उत्कृष्ट प्रदर्शन गरेपछि क्याट क्विन्स काठमाडौंले वुमन्स च्याम्पियन्स लिग ‘डब्लुसिएल’ टी–२० क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा बिहिबार भएको खेलमा काठमाडौंले पोखरा पल्टनलाई ८२ रनले हरायो । यसअघि बुधबार भएको उद्घाटन खेलमा काठमाडौं चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।

एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पोखरा १६.५ ओभरमा सवै विकेटको क्षतिमा ७० रनमा समेटिएको थियो । पोखराका लागि कप्तान सिता रानामगरले सर्वाधिक १७ रन बनाइन् । विन्दु रावलले १३ र रुबी पोदर नौ रन बनाए । अन्य खेलाडीले राम्रो रन जोड््न सकेनन् । काठमाडौंकी सरस्वती कुमारी र अप्सरी वेगमले दुई दुई विकेट लिए । लक्ष्मी साउदले एक विकेट झारिन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ५२ रन बनाएको थियो । काठमाडौंको जितमा कप्तान रुविना क्षेत्रीले अविजित ८३ रन बनाइन् । रोमा थापाले १९, शोभा आलेले १२ र इश्वरी विष्टले अविजित १० रन बनाए । पोखराकी अनुराधा चौधरीले चार विकेट लिइन् । कविता कुवरले एक विकेट लिएकी थिइन् ।

यसैगरी बिहिबारनै भएको अर्को खेलमा विराटनगर टाइटन्सले विजयी सुरुवात गरेको छ । विराटनगरले ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको हो । एक सय २३ रनको विजयी लक्ष्य पाएको विराटनगरले १६ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । विराटनगरको जितमा ओपनर ज्योती पाण्डेले सर्वाधिक ६५ रन बनाइन् । सोनु खड्काले २४ र अस्मिना कर्मचार्यले अविजित १२ रन बनाइन् । ललितपुरका लागि सम्झना खड्काले दुई र करुणा भण्डारीले एक विकेट लिएका थिए । 

यसअघि टस हारेर ब्याटिङ थालेको ललितपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय २२ रन बनाएको थियो । ललितपुरकी ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् । करुणा भण्डारीले २१, सम्झन खड्का र कृति सेनले अविजित समान १३ रन बनाए । विराटनगरका लागि सवनम राई र आरती विडारीले एकएक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप