शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गढीमाई मेला आयोजनाबारे प्रदेश २ सरकार र स्थानीय तहबीच विवाद

धार्मिक आस्थामाथि खेलवाड नगर्न मेयरको मुख्यमन्त्रीलाई चेतावनी
बिहीबार, ३० असोज २०७६, ११ : ००
बिहीबार, ३० असोज २०७६

बारा । गढीमाई मेला व्यवस्थापन तथा रेखदेख गर्ने अधिकारबारे प्रदेश नम्बर–२ का मुख्यमन्त्री लालबाबु राउत र भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले विवादास्पद अभिव्यक्ति दिएको भन्दै एक जनप्रतिनिधिले प्रतिवाद गरेका छन् ।

बाराको महागढीमाई नगरपालिका बरियारपुरका मेयर उपेन्द्रप्रसाद यादवले प्रदेश २ का मुख्यमन्त्री राउतलाई चेतावनी दिँदै पदको गरिमालाई ध्यानमा राखेर बोल्न आग्रह गरेका हुन् ।

मुख्यमन्त्री राउत र मन्त्री जितेन्द्र सोनलले महागढीमाई नगरपालिका वडा नम्बर–१ स्थित बरियारमा रहेको गढीमाई मेलाको व्यवस्थापन तथा रेखदेख गर्ने अधिकार महागढीमाई नगरपालिकालाई नभएको भन्दै मेला हेर्ने अधिकार गढीमाई सञ्चालन तथा विकास समितिलाई मात्रै रहेको जिकिर गर्दै सार्वजनिक भाषणमै बोलेका थिए ।

सोको बिरोधमा बुधबार पत्रकार सम्मेलन आयोजन गर्दै मेयर यादवले प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुलाई स्थानीय तहको काम, कर्तव्य र अधिकारको बारेमा पढेर र बुझेर मात्र बोल्न सुझाए ।

मेयर यादवले स्थानीय कानुन देखाउँदै भने, ‘स्थानीय स्वायत शासन नियवमाली २०७४ मा स्थानीय तह अन्तर्गत रहेको मठ, मन्दिर, धर्म, जात्रा, पर्व र संस्कृतिको संरक्षण तथा नियन्त्रण गर्ने अधिकार स्थानीय तहलाई दिए पनि प्रदेशको मुख्यमन्त्री राउत र मन्त्री सोनलले सार्वजनिक कार्यक्रममा स्थानीय तहले गर्ने कार्यको विरोध गरेर पदीय मर्यादा गिराउने कार्य गरेका छन् ।

मुख्यमन्त्री र मन्त्रीले संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले गर्ने कामहरुको बारेमा अध्ययन नै नगरी जथाभावी बोल्दै जनतामा भ्रम सृजना गरेको आरोप उनले लगाए । यसले प्रदेश सरकारको छविलाई नै खराब बनाएको यादवले दाबी गरे ।

पञ्चवर्षिय गढीमाई मेलालाई प्रदेश नम्बर–२ का मुख्यमन्त्री राउत र मन्त्री सोनलले भाँडभैलो गर्न खोजेको बताए  ।

मुख्यमन्त्रीले कुनै देशीविदेशी शक्तिसँग परिचालन भई गढीमाई मेलालाई विवादित बनाएर मेलालाई समाप्त पार्न खोजेको आरोप समेत उनले लगाए ।

उनले भने, ‘मुख्यमन्त्री राउतज्युलाई थाहा हुनुपर्ने हो कि गढीमाई सञ्चालन तथा विकास समिति कुनै ट्रष्ट नभइ जिल्ला प्रशासनमा दर्ता भएको एउटा समिति मात्रै हो,’ अघि कुरा थप्दै नगर प्रमुख यादवले भने, ‘समितिलाई मेला लगाउने, कर उठाउने, बाटोघाटोको निर्माण गर्ने जस्तो अधिकार संविधानको कुन धारामा उल्लेख गरिएको छ, मुख्यमन्त्रीज्यूले प्रष्ट पार्नुपर्छ ।’

स्थानीय सरकारलाई नीति निर्देशन दिनुको सट्टा मुख्यमन्त्रीले एक गैरसरकारी संस्थालाई बोकेर हिँडेकोमा मेयर यादवले आपत्ति जनाउँदै मुख्यमन्त्रीले स्थानीय सरकारको अस्तित्व स्वीकार नगरी प्रदेशमा अराजकता मच्चाएको आरोप पनि लगाए ।

गढीमाईको मन्दिर रहेको वडा नम्बर–१ को वडा अध्यक्षको अध्यक्षतामा गढीमाई पञ्चवर्षीय मूल समिति नगरपालिकाले बनाएपछि गढीमाई सञ्चालन तथा विकास समितिका पदाधिकारीहरुले मेला नगरपालिकाले नभएर समितिले आयोजना गर्नुपर्ने माग गर्दै आएका छन् । समितिलाई प्रदेश सरकराको मुख्यमन्त्री राउत र मन्त्री सोनलले सहयोग गरेका छन् ।

आगामी मंसिर १ गतेदेखि एक महिना लाग्ने पञ्च वर्षीय गढीमाईको मेला करिब ६० लाख श्रद्धालु भक्तजन आउने अनुमान गरिएको छ भने मेलालाई व्यवस्थित गर्न महागढीमाई नगरपालिका दुई महिना अघिदेखि सक्रिय रहेको मेयर यादवले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप