सांसद साह पक्राउ प्रकरण : राजपाले गृहमन्त्री बादल र पर्यटनमन्त्री भट्टराईको पुत्ला दहन गर्ने

जनकपुर – जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधि सभा सदस्य प्रमोद साहको रिहाइ माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
प्रदेश नम्बर २ को सरकारको सहयात्री राजपा धनुषाले २ बुँदे माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । बुधबार जनकपुरमा बसेको राजपा धनुषाको बैठकबाट धनुषा जिल्ला बन्ददेखि सङ्घिय सरकारका मन्त्रीको पुत्ला दहन गर्ने निर्णय गरेको छ ।
राजपा नेपाल धनुषाका अध्यक्ष मण्डलका सदस्य ज्ञानेन्द्र झा ज्ञानुले बुद्ध एयरले जनकपुरमा दिँदै आएको सेवा सुविधा अन्तर्राष्ट्रिय सम्झौता अनुसार अनुसारण नगरेको बताए । राजपाले बुद्ध एयरको दर्ता सम्झौता खारेजीको माग गर्दै सांसद साहमाथि लगाइएको मुद्दा फिर्ता लिन माग गरेको छ ।
राजपा नेपाल धनुषाले बिहिबार दिउँसो ४ बजे जनक चोकमा गृहमन्त्री राम बहादुर थापा बादल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको पुत्ला दहन गर्ने ज्ञानुले बताए ।
त्यस्तै शुक्रवार जनकपुर स्थित रामानन्द चोकबाट बेलुका ५ बजे मसाल जुलुस प्रदर्शन र शनिबार धनुषा जिल्ला बन्द गर्ने घोषणा गरेको छ ।
सर्लाही क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य साहले बुद्ध एयरको काउन्टरमा तोडफोड गरेपछि प्रहरीले उनलाई पक्राउ गरि अनुसन्धानका लागि अदालतले ४ दिनका लागि हिरासतमा राख्ने अनुमति दिएको छ । यता सङ्घिय सरकारको प्रतिनिधि सभाले साहको सेवा सुविधा रोक्का गरिसकेको छ ।