बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा चियापानबारे राजेन्द्र महतो: ‘चित्त दुःखेपछि के चिया खान जाने ? चिया पनि जहर जस्तो लाग्छ’

बुधबार, २९ असोज २०७६, १८ : ४६
बुधबार, २९ असोज २०७६

काठमाडौं– बुधबार काठमाडौंको भृकुटीमण्डपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले निकै ठूलो तामझामका साथ चियापान कार्यक्रम ग¥यो । साथै दशैं, तिहार, नेपाल संवत, छट पर्वका अवसरमा शुभकामना आदान प्रदान गर्दै यसप्रकारको कार्यक्रमले आपसी सद्भाव र एकतालाई बलियो बनाउने सन्देश पनि दियो । 

कार्यक्रममा संसदमा एक मात्र सिट भएको दल राप्रपा अध्यक्ष कमल थापादेखि प्रमुृख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवादेखि काँग्रेसका सामान्य कार्यकर्ता पनि चियापान कार्यक्रममा सहभागी भए । यसका साथै विभिन्न देशका कुटनीतिक नियोगका अधिकारीहरु राजदूतहरु पनि कार्यक्रममा सहभागी थिए । ठूलो उपस्थिति रहेको र झन्डै ३५ हजारका लागि चियापानको व्यवस्था गरिएको भव्य कार्यक्रममा प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका नेताहरुको भने अनुहार देखिएन । 

राजपाका केही नेताहरु काठमाडौं बाहिरका जिल्लामा भएपनि केही नेताहरु राजधानीमै थिए । काठमाडौंमै रहेका राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले नेकपाको सरकारसँग चित्त दुःखाई भएकोले चियापान कार्यक्रममा सहभागी नभएको बताए । रातोपाटीसँग कुरा गर्दै उनले नेकपाले निम्तो गरेपनि सरकारको निरंकुश शैली बढ्दै गएकोले सहभागी हुन मन नलागेको प्रतिक्रिया दिए । 

उनले जनकपुर विमानस्थलमा तोडफोड गरेको आरोपमा सांसद प्रमोद शाह प्रक्राउको प्रसंग निकाल्दै रातोपाटीसँग भने– ‘सरकारको व्यवहार ठीक देखिएन । देशमा सरकारको निरङ्कुशताको व्यवहार झन बढ्न थालेको छ । लोकतन्त्रमा सरकारले अहिले जुन गतिबिधी देखाइरहेको छ, प्रतिपक्षीलाई कसरी पेल्ने, कसरी सताउने भनेर लागिरेहेको छ यसमा हाम्रो चित्त दुःखाई छ । जनकपुर विमानस्थलमा घण्टौं फ्लाइट डिले गरेपछि टेबुलमा मुक्का हानेको हो नी । मान्छेलाई त हैन नी । बिरामी मर्ने अवस्थामा पुगेपछि मानवीय संबेदनशीलतालाई हेरेर त्यसो गर्नु गल्ती थियो ?’

उनले बिरामीको संवेदनशीलतालाई बिचार नगरी सामान्य घटनामा प्रतिपक्षीलाई सरकारले पेल्ने काम गरेको बताए । नेता महतोले लोकतन्त्रमा जनताले र जनप्रतिनिधिले बोल्ने नपाउने भन्दै प्रश्न गरे ।  उनले भने– ‘मानवीय संवेदनशीलतालाई नहेर्ने ? टेबुल ठटाउँदा फौजदारी मुद्धा लगाइदिने ? सांसद पद धरापमा पार्दिने ? कम्युनिष्ट सरकारले यो के गर्न खोजेको ? फ्लाइट डिले कहिले पनि सुधार हुँदैन, प्यासेन्जर मरोस कि बाँचोस, दिनभरी फ्लाइट डिले गर्दा जनताले बोल्न नपाउने ? लोकतन्त्रमा जनताको मुख बन्द गर्ने ? यस्तो निरङ्कुश पार्टीले गरेको चिया पान कार्यक्रममा जान मलाई इन्ट्रेस लागेन  । चित्त दुखेपछि के चिया खान जाने ? चित्त दुखेको बेला दिएको चिया पनि जहर जस्तो लाग्छ ।’

नेता महतोले नेकपाको चियापान कार्यक्रम बहिष्कार गर्ने पार्टीको निर्णय नीति नभएपनि सरकारसँगको चित्त दुःखाईका कारण चियापानमा सहभागी नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप