वाइसीएल महाधिवेशनमा दीपशिखाको चर्चा
काठमाडौं– माओवादी पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वर चोकबाटभित्र पर्छ । यो कार्यालय पनि कम बलवान छैन । हो सिङ्गो माओवादीलाई भित्र्याएको यो कार्यालयले विभाजनको पीडा पनि भोग्नुपर्यो ।
गरिब, किसान मजदुरको आसाको केन्द्र बनेको दावी गर्ने पेरिसडाँडाको घर । पछिल्लो समय यसले धेरै पीडा भोग्दै आएको छ । यसले छोटै समयमा पार्टी विभाजनको मार खेप्यो । जति यसमा आउनेले आरोप खेप्यो त्यति नै यो घरले पनि ।
ती आरोप र पीडाको साक्षी यो भवन मात्र होइन, अरु पनि धेरै छन् । आगनको अलि पर्तिर भएको सहिद स्तम्भ । मेन ढोकाभित्र छिर्दा बायाँतर्फ लहरै राखिएका माक्र्सदेखि माओसम्मका । यी सबैले सुने, भोगेँ । त्यही तर्फको भुइँ तलामा छ, वाईसीयलको केन्द्रीय कार्यलय । यसको बैंस पनि पार्टीको जस्तै छ । कुनै समयमा पार्टी जसरी फैलिएको थियो यो पनि त्यसरी नै फैलिएको थियो ।
बीचमा यसलाई खोज्नै पर्ने अवस्था त नभनौँ तर पनि चहलपहलविहीन बन्यो । कुनै समयमा वाईसीयल भनेपछि भ्रष्टाचारी, अपराधीको सातो नै जान्थ्यो । तर एक समय यस्तो आयो वाईसीयल आफै बिमारी भएको लक्का जवान जस्तो ।
अहिले बिहानैदेखि पुनः पेरिसडाँडाको त्यही घरमा चहलपहल छ । युवाहरुको आवत जावत छ । दुई पाङ्ग्रेको त लकै लाग्छ । यसको कारण हो एकताको राष्ट्रिय सम्मेलन । हो पछिल्लो समयमा माओवादीमा विभाजन मात्र होइन, एकता पनि भएको छ । भातृसङ्गठनहरु पनि एकताको माहोलप्रति धेरै खुशी भएका छन् ।
यही घरमा रहेको वाईसीयलको कार्यलयमा हुन्छन् युवा नेता दीप शिखा । बहुदल आएको अहिले पनि सम्झन्छन् । उनले अध्ययन गरेको गाउँको स्कुल कालिकादेवी निमावि हो । हो त्यही ठाउँ र त्यही स्कुल र शिक्षकले उनलाई राजनीति यात्रामा प्रवेश गराएको थियो ।
बहुदल उनको स्कुलको आगनमा बामे सर्दै थियो । शिक्षकले बनाए सूर्य चिन्ह । आकासको सूर्य झण्डामा सजिएर उनको हातमा आयो । हो त्यहीबाट उनले रोजे राजनीतिको यात्रा । पढाइ भने केवल ३ कक्षा थियो । तर नेता नै बने बहुदलसँगै, उनको हुर्काइ र बहुदलको हुर्काइ सँगसँगै भयो । उनी कक्षा ३ मा पढ्दा नै अखिल स्कुलको एकाइको अध्यक्ष बने । एमाले निकट अखिल । पछि अखिलको नै इलाकको सचिव भए । पछि काठमाडौँ सिन्धुपाल्चोक सम्पर्क मञ्चको सचिव बने ।
तर घरमा राजनीति नगरोस् भन्ने चाहन्थे । त्यही कुराले विद्रोह गरे । उनी राजनीति गर्ने भन्दै घर छोडेर भागे अर्थात राजधानी छिरे । काठमाडौँ उनका लागि अहिलेको जस्तो सहज थिएन । दिनभरि काम गरे । राति नक्सालको नन्दी रात्री माविमा पढे ।
उनलाई विस्तारै एमाले त्यति प्यारो लाग्न छोड्यो । एमाले प्यारो नलाग्नुको अर्को कारण हो, देशमा चलेको जनयुद्ध । जनताको मुक्ति, समानता, उत्पीडनमा परेकाहरुको मुक्ति तर एमाले यी सबै कुराबाट टाडा थियो उनको नजरमा । राजधानीमा सत्ता स्वादले विस्तारै लठ्ठिँदै थियो एमाले, उनलाई लागेको थियो ।
उनी सामेल नहुने निर्णयमा पुगे । तर पनि आवरण त्यही एमालेको लिए । काम माओवादीको गर्न थाले ।
गाउँका दाइ कृृष्ण सापकोटाको सम्पर्कमा उनी अब जनयुद्धका सहयात्री बने । भूमिगत काम गरे । ०५४ सालमा पूर्ण रुपमा भूमिगत भए । अब उनका लागि राजधानीको साहुको काम र नन्दी मावि भौतिक रुपमा टाडा भए ।
जनयुद्ध भइरहेको भूमि सिन्धुपाल्चोकतर्फ उनी हिँडे । हिजोसम्म काठमाडौँमा दिनभरि काम गर्ने राति स्कुल पढ्ने व्यक्ति अब माओवादी जनयुद्धको रनर अर्थात् सञ्चारको संवाहक बने । उनी सम्झन्छन्, ‘सञ्चार अहिलेको जस्तो सहज थिएन ।’
चिठीपत्र आदान–प्रदान गर्न माओवादीभित्र नै मान्छेहरु हुन्थे । तिनलाई रनर भनिन्थ्यो । मैले पनि सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुलगायतका धेरै जिल्लामा यही काममा दुई वर्ष बित्यो ।
युद्धको समयमा झोलामा ६ वटा पेस्तोल बोकेर त्योबेलाका चर्चित नेता रितबहादुर खड्काको गाउँतर्फ हिँडेका थिए । प्रहरीसँग जम्काभेट हुने अवस्था आयो । उनी नजिकै आएको प्रहरीको हातमा पनि पेस्तोल रहेछ । उनीले जुक्ति निकाले अलि तल झरे र यसो झ्याङतर्फ दिशा गर्न बसे । प्रहरीले टाडाबाट सोध्यो ए केटा के गर्दै छस् । उनी जुरुक्क उठेर भने सर दिशा गर्न थालेको । उसले पनि प्रहरी पारा देखायो यो केटा त ... बसेको रहेछ । प्रहरी आफ्नो बाटो दीपशिखा आफ्नो बाटो लागे ।
२०५८ मा उनी माअोवादी सेनामा गए । माओवादी सेनामा हुँदा नै दोलखाको सदरमुकाम चरिकोटमा रेक्की गर्न जाँदा पक्राउ परे दीपशिखा । नौ महिना जेल बसे । त्यतिबेला बामदेव गौतम गृहमन्त्री थिए । गौतमले भेटेका माओवादीलाई नमार्ने एउटा अभियान ल्याएका थिए । प्रहरीले गोली हानेन र उनी बाँचे ।
नौ महिनापछि पहिलो शान्तिवार्तामा जेलबाट छुटे तर घर गएनन्, पार्टी काममा नै लागे । पार्टीको काममा खटे । पार्टीका जिल्ला सेक्रेटरी बने । जिल्लामा अस्थायी प्लाटुन बन्यो त्यसमा काम गरे । तर उनको सेनासँगको सम्बन्ध पनि छुट्ने अवस्ता आयो । उनको टाउको दुख्ने बिमारीले सेनाको फर्मेसनबाट पार्टीमा आए ।
तर उनमा सेना हुने रहर भने मरिसेको थिएन । जिल्लामा हँुदाहुँदै माओवादीले भ्यालीमा फोर्स पठाउने निर्णय गर्यो । उनले पार्टीसँग म पनि भ्याली जान्छु भनेर माग राखे । पार्टीले उनको कुरा मान्यो ।
उनी प्लाटुन कमान्डर भएर भ्याली आए । त्यो समयमा भ्यालीमा नेतृत्व कम थियो । सेना प्रहरीले हत्या गरेर नेतृत्वलाई जोगाउन नै गाह्रो थियो । यो जनआन्दोलनको तयारी गर्दैगर्दाको समय हो ।
माओवादीको सहयोगमा सात राजनीतिक दलहरु मिलेर आन्दोलनको तयारीका लागि हो । त्यो समयमा माओवादीको ‘रिङ नेतृत्व’ अनन्त थिए । उनले काभ्रेको गोकुलेमा भ्याली पस्ने टिमलाई प्रशिक्षण दिए । त्यो दिन यसरी सम्झन्छन् ‘रिङ क्षेत्रको इन्चार्ज अन्नत हुनुहुन्थ्यो । हामी भ्याली छिर्ने टिमलाई अब हुने जनआन्दोलनका बारेमा पूरा प्रशिक्षण दिनुभयो । त्यही परीक्षण लिएर जनआन्दोलनको तयारीका लागि भ्याली पसेका थियौँ ।’
भ्याली पसेको केही दिनमै उनी गिरफ्तार भए । एक्लाएक्लै भ्याली पसेको टिम गिरफ्तार भयो । उनी जोरपाटीबाट गिरफ्तार भए । लामाको घरमा सेल्टर थियो ।
उनी जनआन्दोलन सफल भएपछि छुटे । पछि उनी ललितपुरको बटालियन कमिस्नार भए । जनमुक्ति सेना क्याम्पमा बस्ने भएपछि उनी भ्यालीमा नै बसे । यहीँ बसेर हतियारसहितको काँठमा एक महिना अभियान चलायो । यशोदा सुवेदीले राजनीतिक नेतृत्व गरिन् भने दीपशिखाले सेनाको नेतृत्व लिए । काँठमा माओवादीको चहलपहल सुरु भयो । यो अभियानले माओवादीलाई काँठमा स्थापित नै गर्यो ।
उनी भक्तपुरमा अध्यक्ष हुँदा लाल रक्षक मासिक निकाले । त्यो समयमा वाईसीयलको मात्र नभएर माओवादीको मुखपत्र जस्तै भनेको थियो ।
त्यति मात्र होइन भक्तपुरमा सामूहिक खेतीको पनि अभ्यास गर्नु भयो । तर कम्युनिस्टमा यस्ता काम धेरै लामो समयसम्म नटिक्ने उनको अनुभव नै छ । उनी भ्यालीको सहसंयोजक र वाईसीयलको संयोजक बने । उनी अहिलेसम्म कुनैतर्फ पनि लागेका छैनन् ।
उनी भन्छन्– ‘म वाईसीयलभित्रको एक्लो पात्र हुँ । कहीँकतै नगएर वाईसीयलमा बसेको, न निर्वाचनमा टिकट मागँे न कुनै ठाउँमा नियुक्ति नै । यो सङ्गठनलाई बनाउनमा नै समय दिए ।’
अब उनको लक्ष्य वाईसीयललाई नयाँ तरिकाले लैजानुपर्छ भन्ने छ । सुरुको जस्तो पनि होइन, बीचको जस्तो पनि होइन । अबको वाईसयल फौजी पनि हँुदैन । परिभाषा नयाँ बनाउनुपर्छ । यो सङ्गठन मिनी माओवादी पार्टी हो । अहिले पनि चीनमा वाईसीयल छ । यो सङ्गठन अरु जस्तो भातृ सङ्गठन होइन । मिनी कम्युनिस्ट पार्टी हो र त्यस्तै बनाउनु पर्छ ।
उनी भन्छन्– ‘अब वाईसीयल राज्यसँग मिले काम गर्छ । पार्टीसँग मिलेर नयाँ पार्टी बनाउने । अझै सङ्गठन र पार्टीबीचको नयाँ अध्याय बनाउनु पर्ने छ ।’
उनले भने– ‘युवाहरुमा आएको राजनीतिप्रतिको वितृष्णा कम गर्नुपर्ने छ । यसका लागि वाईसीयलले अभियान चलाउने छ । पार्टीमा पनि कसरी जीविकोपार्जन गर्ने । राजनीति र जीविकोपार्जन सँगसँगै कसरी लैजाने भन्ने बहसको विषय बनेको छ ।’
दीपशिखा अहिले वाईसीएलको अध्यक्षको दावेदार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा