शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आधुनिक बैङ्किङ सेवा प्रयोग गर्नेहरु ह्वात्तै बढे :

६७ लाखको हातमा डेबिट कार्ड

बुधबार, २९ असोज २०७६, १२ : ३३
बुधबार, २९ असोज २०७६

पछिल्लो समय वित्तीय सेवामा प्रविधिको प्रयोग बढ्दै गएको एउटा अध्ययनले देखाएको छ । अध्ययन अनुसार ६७ लाख ८ हजार ५ सय २१ जनाको खल्तीमा डेबिट कार्ड रहेको देखाइएको छ । नेपालमा वित्तीय पहुँचको स्थितीसम्बन्धी राष्ट्र बैङ्कले गरेको अध्ययले यस्तो देखाएको हो ।

बैङ्क तथा वित्तिय संस्थामा एटिएमको संख्यामा निकै बृद्धि भएको छ । २०७६ असार मसान्तसम्म एटिएमको संख्या ३ हजार ३ सय १६ पुगेको छ । जबकी गत वर्ष यस्तो संख्या २ हजार ७ सय ९१ रहेको थियो । उसो त क्रेडिट कार्ड लिनेहरुको संख्यामा पनि उल्लेख्य बृद्धि भएको छ । क्रेडिट कार्ड लिनेको संख्या १ लाख २३ हजार १ सय ४६ पुगेको छ ।

मोबाइल बैङ्किङ प्रयोगकर्ताको संख्या पनि ३ वर्षमा ५ गुणाले बृद्धि भएको छ । अहिले मोबाइल बैङ्किङको प्रयोगकर्ता ८३ लाख ४७ हजार छन् । यस अवधिमा इन्टरनेट बैङ्किङ्ग प्रयोगकर्ताको संख्या समेत ५ लाखबाट बढेर ९ लाख पुगेको छ । त्यसैगरी, शाखा रहित बैंकिङ्ग केन्द्रको संख्या पनि बढ्दै गएको छ  ।

बैङ्क तथा वित्तीय संस्थाको शाखा विस्तारसँगै यी संस्थाहरुमा निक्षेप र कर्जा खाताको संख्या उल्लेख्य बढ्दै गएको छ । २०७६ असार मसान्तमा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा गरी १४ लाख ४० हजार कर्जा खाता रहेको देखिन्छ । २०७५ असार मसान्तमा यस्तो संख्या १३ लाख १ हजार रहेको थियो । त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैङ्क, विकास बैङ्क र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार पुगेको छ । २०७५ असार मसान्तमा यस्तो संख्या २ करोड ३५ लाख ४५ हजार रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप