शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी म्यान्मार प्रस्थान: विमानस्थलसम्म हेलिकोप्टर प्रयोग, सर्वसाधारणले झेल्न परेन सास्ती

बुधबार, २९ असोज २०७६, ११ : ३२
बुधबार, २९ असोज २०७६

राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा यही असोज २९ देखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी छन्  । भण्डारी हेलिकोप्टरमार्फत् विमानस्थलसम्म पुगेकी थिइन् जसका कारण भीभीआइपी सवारीका कारण सर्वसाधारणले जुन सास्ती खेप्नुपर्छ, त्यो भने यसपटक झेल्नु परेन ।

भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ  सान सु चीले भेट गर्नेछिन् । राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् ।

म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नाका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्ने जनाइएको छ । यङ्गोनमा राष्ट्रपति भण्डारीले ऐतिहासिक एवं सांस्कृतिक महत्त्वका स्थानको भ्रमण गर्नेछिन् ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र  राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयबाट सोमबार जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्मारको राजधानी नेपित पुग्नेछ । 

दक्षिण एशियाको नेपाल र दक्षिणपूर्वी एशियामा पर्ने म्यान्मा र दुवै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास९बिम्स्टेक०का सदस्य हुन् । नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० ९सन् २०१४ मार्च ४० मा भएको  बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप