केन्द्रीय संस्करण
विज्ञान जानकारी

मासुखाने अचम्मका विरुवाहरु !

जनावरहरुले जस्तै विरुवाले पनि कीरा खान्छ भन्ने सुन्दा हामीलाई अचम्म पनि लाग्न सक्छ

person explore access_timeअसोज २९, २०७६ chat_bubble_outline0

कसैले विरुवाले कसरी खानेकुरा प्राप्त गर्छ भनेर सोध्यो भनो हामी जराबाट पोषक तत्वहरु साेसेर प्राप्त गर्छ भनेर फट्ट जवाफ दिन्छौ । तर त्यो नै मात्र सत्य होइन । किनभने, यस संसारमा सबै विरुवाहरुले जराबाट मात्रै खाने कुरा प्राप्त गर्दैनन् । केही जातका यस्ता विरुवाहरु पनि हुन्छन्, जसले जराबाट हैन, पातबाट खानेकुरा प्राप्त गर्छन्, त्यो पनि ज्यूँदो कीरा फट्याङ्ग्रा तथा ससाना जीावजन्तुहरु पचाएर ।

हुन त जनावरहरुले जस्तै विरुवाले पनि कीरा खान्छ भन्ने सुन्दा हामीलाई अचम्म पनि लाग्न सक्छ । किनकि,सामान्यतः विरुवाले न त जनवारले जस्तै खाने कुरा खान्छ न त तिनीहरुको खाने मुख नै हुन्छ । तर लाखौं प्रकारका विरुवाहरुमध्ये केही जातका विरुवाहरुले चाहिँ झण्डै झण्डै जनावरले जस्तै गरी खाने कुरा खाने गर्दछन् भन्ने कुरा ध्रुवसत्य नै हो ।

http://blogs.discovermagazine.com

पिचर नामक विरुवा त्यस्तै जातको एक विरुवा हो । पिचर विरुवामा चिप्लो र घैंटो जस्तो माथि मुख सुकेको तथा मुनि अलि फुकेको आकारको पात हुन्छ । त्यस घैटो आकारको पातमा बिर्को रहेको हुन्छ । सामान्य अवस्थामा त्यसको बिर्को खुला अवस्थामा रहेको हुन्छ ।

त्यो पातमा कीरा-फट्याङग्रालाई आकर्षित गर्ने सुगन्धित च्यापच्यापी लाग्ने तरल पदार्थ हुन्छ । यही तरल पदार्थको सुगन्धित बासनाको कारणले कीरा-फट्याङग्राहरु त्यहाँ झुम्मिन आउँछ र त्यहाँ तिनीहरु सजिलै फँस्दछन् । जब कुनै कीरा-फट्याङग्रा पिचरको त्यस घैंटो आकारको पातमा पर्न आउँछ, तब त्यसको पात बिर्को बन्द हुन्छ । र त्यो कीरा-फट्याङग्रा बाहिर निस्कन नसक्ने गरी फस्न जान्छ । पिचरको पातमा भित्री भाग चिप्लो हुन्छ  भने त्यसमा तलतिर झुकेको मसिनो रौं पनि हन्छ । ती रौंले कीरालाई कुनै पनि हालतमा माथितिर उडेर वा सरेर आउन दिदैन । पातको त्यो चिप्लोपनले गर्दा त्यसमा फसेको कीरा–फट्याङग्रा चिप्लेर झन तलतिर झर्न थाल्छ र पातको फेदैमा पुग्छ । त्यहाँ रहेको प्रकारको पाचन रस (जुस) ले त्यसरी फँसेको शिकारलाई टुक्रा टुक्रा गरी पचाइदिन्छ ।

https://www.sciencemag.org

अर्कोथरि एउटा यस्तै विरुवा हुन्छ । जसको नाम हो भेनस फ्लाइट्रयाप । करीब १ फुटसम्मको उचाइ हुनै यो विरुवामा मसिनो सेतो फूल फुल्छ । यो विरुवाको डाँठसँगै जोडिएको फूल निस्केको पातको भाग ब्लेडजस्तो हुन्छ र पातको माथिल्लो भागचाहिँ फन्दाजस्तो दुई भागमा विभाजित हुन्छ । यसको दुवैभागमा लामा र तिख्खर मेरुदण्ड हुन्छन् भने बीच भागमा मसिना रौंहरु हुन्छन् । जब त्यस रौंमा रहेको गुलियो सुगन्धित तरल पदार्थले आकर्षित भएर कुनै कीरा फट्याङ्ग्रा वा अन्य मसिना जीवजन्तुहरुले त्यो रौंलाई स्पर्श गर्न पुग्छन्, यो विरुवाको पात स्वतः बन्द हुन्छ र शिकारको जिउँमा वरिपरिबाट फुत्किन नमिल्ने गरी बलियोसँग च्याप्छ । त्यसमा रहेको पाचन रसले त्यो शिकारलाई नपचाएसम्म पात बन्दको बन्द नै रहन्छ । तर शिकार पचाइसकेपछि भने त्यो पात आफै खुल्छ ।

https://animals.sandiegozoo.org

यसरी कीरा फट्याङग्र तथा अन्य स–साना खाएर बाँच्ने अर्को विरुवा सनडेउस (sundews) हो । यसको पातमा पनि मसिना तर प्रष्टै देखिने हरियो रातो रंगका रौंहरु हुन्छन् । ती रौंहरुमा पारदर्शी तर च्यापच्याप लाग्ने तथा घामको प्रकाशले समेत नसुक्ने खालको सुगन्धित खालको तरल पदार्थ हुन्छ । त्यसमा कुनै कीरा फट्याङग्र टाँसिएपछि पातमा रहेका रौंले पनि शिकारलाई च्याप्छ । र, त्यो तरल पदार्थमा रहेको पाचन रसले त्यसलाई पचाउँछ ।

https://cdn.britannica.com

त्यस्तै किसिमको अर्को विरुवा हो ब्लाडरवोर्ट्स (Bladderworts) । यस्ता विरुवाको प्रजातिहरुमध्ये केहीको जरा हुन्छ भने केहीको हुँदैन । जरा नहुने पानीमा स्वतन्त्र रुपले तैरिरहेको हुन्छ । आकारमा अति सानो (करीब आधा सेमी मात्र) ब्लाडर जस्तो पात हुने यस विरुवाको प्रत्येक पातमा मसिना प्वाल हुन्छन् र त्यसको मुख मसिना रौंहरुले ढाकिएको हुन्छ । जब कुनै कीरा र काहिले काही त माछाको मसिना भुरा पनि यसको सम्पर्कमा आउँछ, यसको पात भित्र पट्टि खुम्चिन्छ । यस अवस्थमा शिकार त्यसमा फँस्न र च्यापिन पुग्छ । यसले फन्दामा पारेको शिकार पचाइसकेपछि त्यो पात फेरि पहिला जस्तै खुल्छ ।

यसरी कीरा-फट्याङग्रा तथा ससान जीव जन्तुहरु खाएर बाँच्ने विरुवालाई मांसहारी विरुवा अर्थात् कार्निभोरस प्लान्ट्स (Carnivorous plants) भनिन्छ। माथि उल्लेख गरिएका मांसाहारी विरुवाहरुको पनि विभिन्न प्रजातिहरु हुन्छन् । ती विरुवाहरु प्रायः सांसारभरि नै पाइन्छ ।

त्यस्ता मांसाहारी विरुवाहरु प्रायः भिजेको, हिलाम्य र दलदले जमीनमा उम्रने र बढने गर्दछ । त्यस्तो दलदले जमीनको माटोमा स्वभावतः अम्लीयपन बढी हुन्छ र त्यसमा विरुवाको लागि चाहिने नाईट्रोजन तथा अन्य पोषक तत्त्वहरु पर्याप्त मात्रामा हुँदैनन् । त्यसैले त्यो अभावपूर्तिको लागि त्यस्ता विरुवाहरुले त्यसरी कीरा-फट्याङग्रा तथा ससान जीवजन्तुहरु खाद्य पदार्थको रुपमा लिनु परेको हो ।

त्यस्तो त यस्तो विरुवाहरुको पोषक पदार्थ वा खाद्य पदार्थ ग्रहण गर्ने तरीका मात्रै भिन्न हो । त्यसबाहेक खानेकुरा पचाउनका लागि सूर्यको प्रकाश संश्लेषण गर्ने, वातावरणबाट कार्बोहाइड्रेट ग्रहण गर्ने तथा अक्सिजन निष्काशन गर्ने जस्ता कार्यहरु गर्नका लागि यसले अन्य सामान्य विरुवाले जस्तै पातलाई नै प्रयोग गर्ने गर्दछ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...