शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एकै दिन निस्किए नेकपाका तीन टोली चीन भ्रमणमा, देखिँदै सम्झौताको असर

मङ्गलबार, २८ असोज २०७६, १६ : १३
मङ्गलबार, २८ असोज २०७६

काठमाडाँै– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन टोली एकै दिन चीन भ्रमणमा निस्किएका छन् । संयोग कस्तो भने चिनिया राष्ट्रपति सी जिनपिङले नेपालको दुई दिने राजकीय भ्रमण सकेर फर्केको भोलिपल्टै नेकपाका नेताहरु चीन भ्रमणमा निस्किएका हुन् । राष्ट्रपति सी आइतबार स्वदेश फर्केका थिए । त्यसको भोलिपल्ट अर्थात सोमबार नेकपाका नेताहरुको तीन टोली चीनको विभिन्न प्रान्तको भ्रमणमा निस्किएका हुन् ।

चिनिया कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा नेकपाका स्थायी कमिटी सदस्य एवं स्कुल विभाग उपप्रमुखद्वय देवेन्द्र पौडेल र बेदुराम भुसाल चीनको गोन्जाओ र कुम्निङमा हुने कार्यक्रमका लागि त्यसतर्फ प्रस्तान गरेका हुन् । त्यहाँ बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) र इन्डो प्यासिफिक स्ट्रटेजीबीचको भिन्नता र समानताबारे अन्तक्र्रिया कार्यक्रम हुँदैछ । सो कार्यक्रममा सात देशबाट सरकारको नेतृत्व गरेका पार्टीका नेताहरु सहभागी हुँदैछन् । यस्तै चिनियाँ कम्युनिस्ट पार्टी र नेकपाको अन्तर्राष्ट्रिय विभागबीच संयुक्त कार्यक्रमको समेत आयोजना गरिएको बताइएको छ । उनीहरुसँग कार्यालय सचिव ईश्वरी भट्टराई पनि छन् ।

यस्तै सोमबार नै प्रदेश पाँचका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य शङ्कर पोखरेल चीनको छेन्दु प्रस्थान गरेका छन् । उनी बीआरआईसम्बन्धी एक कार्यक्रममा भाग लिन त्यसतर्फ गएका हुन् । उनी केही महिनाअघि मात्रै चीन भ्रमण गरेर फर्केका थिए । सोमबार मात्रै नेकपाका केन्द्रीय सदस्य सुरेश आलेमगर पनि चीनको तिब्बत प्रस्थान गरेका छन् । उनले आफू तिब्बतको भ्रमणमा जान लागेको बारे सामाजिक सञ्जालमा लेखेका थिए ।

पार्टी एकतापछि दुवै देशका कम्युनिस्ट पार्टीका नेताहरुका भ्रमण आदानप्रदान भइरहेका छन् । चिनियाँ नेताहरुले पनि पछिल्ला दिनमा नेपाल भ्रमण बाक्लो बनाएका छन् । यद्यपि चिनियाँ कम्युनिस्ट पार्टीका नेताको नेपाल भ्रमण नेकपाका नेताहरुको चीन भ्रमणभन्दा निकै थोरै छ । गएको डेढ वर्षमा नेकपाका धेरै नेता–कार्यकर्ताले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा चीन भ्रमण गरेका छन् । यस्तो भ्रमण गर्नेमा शीर्ष नेता पनि छन् । केही दिनअघि मात्रै नेकपाका २९ जना मेयर–उपमेयर चीनको अध्ययन भ्रमणमा गएका थिए । पछिल्लो पटक पूर्वप्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता झलनाथ खनालले चार दिने चीन भ्रमण गरेका थिए ।

सम्झौताको असर !

राष्ट्रपति सीको नेपाल भ्रमणपछि नेकपाका नेताहरु चीन भ्रमणमा निस्कनुलाई दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापित गर्न असोज ७ गते भएको सम्झौताको असर भनेर नेताहरुले व्याख्या गर्न थालेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग प्रमुख सङ् ताओ र नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपालबीच ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेकपाको स्कुल विभाग र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले असोज ६ र ७ गते संयुक्त आयोजनामा गरेको विचारधारात्मक प्रशिक्षण कार्यक्रममा सहभागी हुन ताओ नेपाल आएका थिए ।

सोही क्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध विस्तारका लागि भन्दै ६ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको थियो । दुई पार्टी एकतापछि नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीच औपचारिक रूपमा भाइचारा सम्बन्ध विकास गर्ने गरी लिखित सम्झौता भएको त्यो थियो । तत्कालीन एमाले र माओवादीसँग चिनियाँ कम्युनिस्ट पार्टीको भिन्दाभिन्दै सम्बन्ध थियो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओले समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

आगामी पाँच वर्षका लागि दुई पार्टीबीच उच्च स्तरको सहकार्य गर्ने विषयमा सम्झौता भएको थियो । उच्च स्तरीय भ्रमण, कार्यकर्ता तहको अध्ययन भ्रमण वृद्धि, पार्टी–पार्टी अनुभव आधारित सहयोग आदान–प्रदान, युवा र स्थानीय नेताहरूबीच भ्रमण आदान–प्रदान, जनस्तरको सम्बन्ध (बुद्धिजीवी, नागरिक संस्था, मिडिया) अभिवृद्धि र विचार सिद्धान्तमा आधारित वार्षिक कार्यक्रम सञ्चालनजस्ता विषय सम्झौतापत्रमा थिए । यही सम्झौताअनुसार चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाका नेताहरुलाई चीन भ्रमणको निमन्त्रणा गरेको रूपमा बुझ्दा गलत नहुने नेकपाका एक केन्द्रीय सदस्यले बताए ।

यस्तै नेपालको राजकीय भ्रमणमा रहेकाबेला भएका चिनियाँ राष्ट्रपति सीले दुई कम्युनिस्ट पार्टी तहमा राजनीतिक सम्बन्धको दायरा र आयामलाई विस्तार गर्न नेकपाका शीर्ष नेताहरुलाई आग्रह गरेका थिए । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी महासचिवको हैसियतमा राष्ट्रपति सीले सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डसहित सचिवालयका सदस्यसँग छलफल गरेका थिए । उक्त छलफलमा सीले दुई कम्युनिस्ट पार्टी भएकाले राजनीतिक तहमा सम्बन्धका दायरा र आयामलाई अगाडि बढाउनुपर्ने बताएका थिए । छलफलमा नेकपाका अध्यक्ष दाहालले चीन र चिनियाँ कम्युनिस्ट पार्टीसँगको मित्रतालाई नेकपाले धेरै महत्त्व दिएको बताएका थिए । भेटवार्तामा नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल, सचिवालयका सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम, प्रवक्ता श्रेष्ठ र महासचिव विष्णुप्रसाद पौडेल एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप