केन्द्रीय संस्करण

पुरेतहरुको सत्तामा अतिथि–सत्कार !

person explore access_timeअसोज २८, २०७६ chat_bubble_outline0
मुक्तिबन्धु

रातोपाटी

पुरेतहरु अतिथिबारे सुन्दर प्रवचन दिन सक्छन् । ‘अतिथिदेवो भव’ भनाइमाथि सटीक व्याख्यान दिन सक्छन् । आफू अतिथि बन्न पनि सजिलै सक्छन् । तर पनि आफूकहाँ कुनै चर्चित व्यक्ति अतिथि बनेर आइपुग्यो भने पुरेतहरु भयङ्कर अलमलमा पर्छन् । यो अलमल चानचुने हुने गर्दैन । यसलाई महान् अलमल पनि पनि भन्न सकिन्छ । यो अलमल पनि तमाम पुरेतहरुको परम्परागत सांस्कृतिक सम्पदा नै हो ।

०२८ मा नयाँ शिक्षा लागु हुँदा माध्यमिक कक्षाको अंगरेजीको नयाँ पाठ्यपुस्तकमा गम्भीरमान् मास्सापले एउटा पाठ पुरेतबारे पनि राख्नुभएको थियो । सन्दर्भ थियो   पुरेतका सांस्कतिक पहिचानको । पहिचानधारी यो पुरेत प्रौढ उमेरको थियो । परम्परागत भेषभूषामा थियो । के सुरमा हिँडेको थियो बेसुर भएर सडकनिर एउटा खाल्डोमा खसेको थियो । खाल्डो धेरै गहिरो थिएन । सजिलै माथि उत्रन सकिने अवस्थाको पनि थिएन । सडकमा हिँड्दैको एकजना  बटुवाले देख्यो । बटुवा भावनाशील थियो । यसरी खाडलमा परेकालाई माथि उतार्नु मानिसको कर्तव्य हो भन्ने सोच्यो । खाडलको डिलमा उभिएर निहुरिँदै भन्यो, “ए दाइ, हात दिनुहोस् त !” खाल्डे–मनुवाले हात दिएन । बटुवाले पटक पटक भन्यो, “हात दिनोस् !” उसले हात दिएन । यति हुँदा खाडल वरिपरि ५।७ जना मानिस जुटिसकेका थिए । सबै मुखामुख गर्दै थिए । सडकमा एकजना नयाँ मानिस आयो । उसले पनि यो सवै देख्यो । उसले मुसुमुसु हाँस्दै त्यहाँ उपस्थितहरुसँग भन्यो, “यसरी वहाँ कहिल्यै बाहिर निस्कनुहुन्न । बरु खाडलमै यत्तिकै बसिरहनुहुन्छ । वहाँलाई तपाइँको हात दिनोस् भन्ने हैन, मेरो हात लिनोस् भन्नुपर्छ । वहाँ यस भेगको ठूलो पुरेत हो । पुरेतले दिने होइन लिने मात्र हो ।” यति भन्दै त्यस बटुवाले खाडलका मानिसतिर झुकेर हात दिँदै भन्यो “मेरो हात लिनुहोस् त !” नभन्दै खाल्डे–मनुवाले त्यस बटुवाको हात चपक्क समात्यो । त्यसै आधारमा खाडलबाट बाहिर निस्क्यो ।

यस पाठको यो ‘खाल्डे–मनुवा’ सक्कली पुरेतको वास्तविक पहिचान हो । आज हाम्रो मुलुकको सत्तामा पुगेका जे जति शीर्षहरु छन् ती कि त परम्परागत सक्कली पुरेत छन् कि पुरेत प्रवृत्तिका समृद्ध सहयोगी छन् । समष्टिमा सवै पुरेत छन् । यिनीहरुको मनोवृत्ति र प्रवृत्ति उल्लिखित ‘खाल्डे–मनुवा’सँग हूबहू मिल्छ ।

यस्तो स्थितिमा छिमेकी मुलुकबाट महामहिम राष्ट्रपति अतिथिका रुपमा आउनुहुँदा आतिथ्य सत्कार कस्तो हुन सक्थ्यो र कस्तो हुन सकेको छ ? जस्तो कि हामीले देख्यौँ दिनेकुरा हाम्रो सत्ता–संस्कृतिमै छैन । जति छ लिने कुरा छ । अनुदानको कुरा छ । हामी कसैलाई सहयोगको हात दिन होइन, कसैको सहयोगी हात लिन आतुर छौँ । यो पनि आज हाम्रो मुलुकको राज्यसत्तामा हुर्केको पुरेत संस्कृतिको अन्यतम पहिचान हो ।

टपरी टक्टक्याउने धन्धामा व्यस्त रहँदा पुरेतहरुका खेतबारी बाँझो रहनु पनि स्वाभाविक हुन्छ । दान थापेका थारा गाईले गोठ भरिनु र एउटै दुहुनो गाईगोठमा नहुनु पनि स्वाभाकिक हुन्छ । पुरेतहरु हुनेखाने जजमानका अगाडि आफूलाई भिक्षुक भन्न पनि पछि पर्दैनन् । पुरेत्याइँ एक किसिमको भिक्षाटन संस्कृति नै हो । सत्तामा भिक्षाटन संस्कृति हुर्कँदा मुलुकको सिर्जनशीलता मर्छ । स्वाभिमान मर्छ ।

सत्तामा पुरेत संस्कृति आजको नेपालको ऐँजेरु संस्कृति हो । जुन संस्कृति भर्खरैको अतिथि सत्कारमा पनि हामीले देख्न पायौँ । जनप्रतिनिधिमूलक सत्तामा ऐँजेरु संस्कृति जनताको चाहना होइन । यसको समयमै उचित उपचार हुनुपर्छ ।

Title photo: https://media.gettyimages.com

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...