शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुर्द विद्रोही र दमास्कसबीच समझदारीको घोषणा

सोमबार, २७ असोज २०७६, १३ : ४०
सोमबार, २७ असोज २०७६

सिरिया– टर्की–सिरिया सीमाक्षेत्रमा टर्कीले सिरियाली भूमिभित्र आक्रमण गर्न थालेपछि त्यस क्षेत्रमा सक्रिय सिरियाली कुर्दहरुले सिरियाको सत्ता पक्षसँग सम्झौता गरेका छन्। सिरियाको उत्तरी सीमावर्ती क्षेत्रमा कुर्दहरुको बाक्लो बस्ती छ । टर्कीले पृथकतावादीको आरोप लगाउँदै कुर्द–लक्षित भिषण आक्रमण थालेपछि अप्रत्यासित रुपमा नयाँ सम्झौताको घोषणा गरिएको हो । 

टर्कीको उक्त सैन्य कारबाहीप्रति अन्तर्राष्ट्रिय समुदायले पनि आपत्ति जनाएको छ । सिरियामा जारी गृहयुद्धका कारण कमजोर अवस्थामा रहेको सिरियाले टर्कीको आक्रमणप्रति खासै रुचि देखाएको छैन । सिरियाली कुर्दिस लडाकूहरुसँग मिलेर इस्लामिक स्टेट्स विरुद्ध लडिरहेको अमेरिकी फौज पनि अमेरिकी राष्ट्रपतिको आदेशमा उक्त इलाकाबाट फिर्ता हुने तयारीमा छ । कुर्दिस इलाकामा हाल करिब एक हजार अमेरिकी सेना रहेको बताइएको छ ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले सोचेभन्दा बढी नै शक्ति लगाएर टर्कीले सिरियाली भूभागभित्र आक्रमण थालेपछि आफूहरु पनि उक्त इलाकाबाट बाहिरिन थालेको बताएका छन् । टर्कीले सिरियाभित्र करिब ३० किलोमिटरको क्षेत्रलाई केन्द्रित गरी हवाई आक्रमण, बमबर्षा र सिरियाली लडाकूहरुको सहयोगमा पैदल सैनिक परिचालन गरी आक्रमण गरिरहेको छ । यस आक्रमणबाट ठूलो संख्यामा सर्वसाधारण र कुर्दिस लडाकूहरु मारिएका छन् ।

सिरियाली कुर्दहरुले आफूलाई अमेरिकी प्रशासनले धोका दिएको बताउन थालेका छन् । इस्लामिक स्टेट्स विरुद्ध लड्न अमेरिकाले कुर्दहरुलाई प्रयोग गरे पनि अहिले अलपत्र छाडेको आरोप अमेरिकामाथि लागेको छ ।  कुर्दहरुले वर्षौंदेखि अलग कुर्दिस्तान (मुलुक) बनाउन सशस्त्र छापामार युद्ध गरिरहेका छन् जसमा सिरिया, टर्की, इराक समेतका कुर्दहरु एकमत छन् । तर पछिल्लो पटक सिरियासँग गरिएको अप्रत्यासित सम्झौता भने कुर्दहरुमाथि टर्कीबाट भइरहेको आक्रमण रोक्नका लागि हो । 

कुर्दिस प्रशासनले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– सिरियाली अतिक्रमणसँग जुध्न सिरियाली सरकारसँग सम्झौता गरिएको छ ताकि सिरियाली सैनिकलाई सिरिया–टर्की सीमाक्षेत्रमा खटाउन सकिने छ र सिरियाली भूमिमा टर्कीले गरिरहेको आक्रमण रोकिने छ ।  सिरियाली समाचार संस्था सानाले टर्कीको अतिक्रमणलाई रोक्न सिरियाली सेना परिचालन हुन लागेको समाचार प्रकाशन भएलगत्तै नयाँ सम्झौताको खबर बाहिर आएको छ ।
 
टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानले सिरियाली भूमिमा आक्रमण गर्नुको मुख्य उद्देश्य नै सुरक्षित इलाका निर्माण गर्नु मात्र रहेको बताएका छन् । उनले यो क्षेत्र सिरियाभित्र करिब ३० देखि ३५ किलोमिटरमा मात्र केन्द्रित हुने जानकारी दिए । 

मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले टर्कीको आक्रमणबाट आइतबारमात्र कम्तीमा २६ जना सर्वसाधारणको मृत्यु भएको बताएको छ । हालसम्म टर्कीको कारबाहीबाट ६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । –एएफपी/photo: AFP
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप