बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

मनाइयो कोजाग्रत पूर्णिमा

आइतबार, २६ असोज २०७६, २२ : ११
आइतबार, २६ असोज २०७६

काठमाडौं-आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाइँदै छ ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँं पर्व आज कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ । विजया दशमीका दिनदेखि शुरु भएको मान्यजनबाट दुर्गा देवीको प्रसाद टीका र जमरा ग्रहण गर्ने क्रम पनि आजैबाट अन्त्य भएको छ ।  

आजको दिन राति जाग्राम बसेकाको घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा आज मध्यराति महालक्ष्मीको पूजा आराधना गरी जाग्राम बसिन्छ । माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ । नवरात्र विजया दशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा अर्थात् आजै समाप्त हुन्छ ।

आज मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । सबै बलि दिने काम भने शनिबार नै सम्पन्न भएको उनले बताए । पूर्णिमा ब्रत, आकाशदीप दान र कात्तिक स्नान पनि आजैदेखि शुरु भएको छ ।

बाँस, बाँस नपाएमा पलाँस, खयर, पीपल, आदिको लिङ्गो ठड्याई आकाशदीप दान गरिन्छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म घर घरमा विशेषरुपमा गरिने तुलसी पूजा पनि आज बिहानदेखि नै शुरु भएको छ । आइतबारदेखि तुलसी पूजा गरी कात्तिक शुक्ल एकादशीका दिन दामोदरसँग तुलसीको विवाह गरिन्छ ।

विवाहपछि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म विधिपूर्वक यज्ञ गरेर चतुर्मासा व्रत समापन हुन्छ । आषाढ शुक्ल एकादशीदेखि शुरु भएको तुलसी पूजा आजदेखि कार्तिक स्नान एवम आकाशदीप दानसहित विशेष रुपमा गर्ने शास्त्रिय विधान छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप