शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफताब आलमको त्यो ‘ताकत’, जसले अहिलेसम्म शक्तिमान बनाइराख्यो

आइतबार, २६ असोज २०७६, २० : १९
आइतबार, २६ असोज २०७६

काठमाडौं –  २०५३ सालदेखि लगातार चुनाव जित्दै आएका रौतहटका मोहम्मद अफताब आलमको ताकत के हो त ? उनका प्रतिद्वन्द्वी समाजवादी पार्टीका नेता किरण साह भन्छन्, ‘गुण्डागर्दी’ ।

नेता साहले मात्र होइन, उनका क्षेत्रका अन्य व्यक्तिहरु पनि आलमले हालसम्म गुण्डागर्दीले मात्र चुनाव जित्दै आएका हुन् । २०७० मा उनका भान्जा मुस्ताक आलम विद्रोह गरी तत्कालीन मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव जितेका थिए । 

उनकै आफ्नै भान्जा भएका कारण मत बाँडिदा अफताब आलम चुनाव हारेका थिए । तर २०७४ मा उनी चुनाव जितेका थिए । उनका प्रतिद्वन्द्वी नेता साह भन्छन्, ‘२०७४ को चुनावमा पनि आलमले दुईटा बुथ कब्जा गरेका थिए । त्यही भएर मैले १५०० भोटले हारेको हुँ ।’ 

रौतहट चुनावी क्षेत्र २ मा ७९ हजार मतदाता छन् । त्यसमा २६ हजार मात्र मुस्लिम मतदाता रहेका छन् । जो उनको ताकत हो । अफताव आलम चुनावी राजनीतिमा आएदेखि उनका क्षेत्रका अधिकांश मतदाताले २०७० को सविधानसभा चुनावभन्दा पहिले कहिल्यै मतदान गरेका थिएनन् ।

२०७० को चुनावमा रातोपाटी टीम चुनावको समाचार संकलन गर्ने क्रममा अफताव आलमको क्षेत्र पुग्दा त्यहाँका मतदाताले चुनावको मतपत्र कस्तो हुन्छ आफूहरुले नदेखेको गुनासो गरेका थिए ।

मुस्लिम समुदायका एक अगुवाले भनेका थिए, ‘करिब १० हजारभन्दा बढी मतदाताले कहिले मतदान गरेका छैनन्, र अफताव आलमको त्यही नै जितको कारण हो । अफताब आलमका मान्छेहरु आएर तपाईको भोट हामी खासिली दिन्छौं, तपाईहरु मतदान केन्द्र जानु पर्दैन भनि थर्काएर जान्थे ।’

तीनका अनुसार चुनावको समयमा आलमका कार्यकर्ताले मतदान कसलाई गर्ने भनेर सोध्दै जाने र त्यसक्रममा ज-जसले आलमलाई मतदान गर्ने भन्थे, उनीहरुलाई 'मतदान केन्द्र जानुपर्दैन' भन्थे र मत आलमका कार्यकर्ताले नै खसाउँथे ।

आलमका कार्यकर्ताले बुथ कब्जा गरेर अरुको नामबाट मतदान गर्थे र त्यसरी नै चुनाव जित्थे । दोस्रो संविधानसभा चुनावमा पनि अफताब आलमले बुथ कब्जा गर्ने प्रयास गरेका थिए तर उनकै भान्जा मुस्ताक आलम चुनावी मैदानमा भएको कारण अफतावले चुनाव हारेका थिए । 

अफताव आलम पटक–पटक मन्त्री भए, तर विकास कहिले गरेनन् । मुस्लिम बाहुल्य क्षेत्रका जनता अशिक्षा र गरिबीबाट आक्रान्त छन् । रोग र भोक त्यहाँ मुस्लिम समुदायका लागि नौलो छैन । विकास नभएको कुरालाई लिएर अफतावमाथि गुनासै गुनासा छन् । 

अफताव आलम शेख इसरिदका भान्जा हुन् । उनकै बलमा उनले राजनीति यात्रा शुरु गरेका थिए । राजनीतिमा अगाडि बढाउनका लागि इसरिदको राम्रो सहयोग थियो । इसरिद पनि काँग्रेसमा मन्त्री भइसकेका व्यक्ति थिए र उनले रौतहटमा राम्रो प्रभाव जमाएका थिए । पछि त्यसको बिडो अफताव आलमले सम्हालेका थिए । 

भारतका मुस्लिमहरुसँग अफताव आलमको राम्रो सम्बन्ध छ । त्यसैको आडमा उनले आफ्नो क्षेत्रमा डर धम्की देखाएर बर्चस्व कायम गरेका थिए । त्यतिबेला एक मतदाताले भनेका थिए, ‘चुनावका समयमा अचानक नयाँ नयाँ व्यक्तिहरु जसलाई हामीले कहिले पनि देखेका थिएनौं त्यस्ता व्यक्तिहरु मत माग्न आउँथे, धम्काउँथे, गाली गर्थे । चुनाव सकेपछि फेरि ती व्यक्तिहरु हराउँथे ।’

२०६४ सालको सविधानसभा चुनावमा बुथ क्याप्चर गर्नका लागि बम बनाउँदा बनाउँदै विस्फोट हुँदा मृत्यु भएका अधिकाँश भारतीयहरु थिए । दुईजना मात्र नेपाली थिए । यसैबाट पुष्टि हुन्छ कि अफताव आलम 'गुण्डा' कहाँबाट ल्याउँथे ।

समाजवादी पार्टीका नेता किरण साहले भने, ‘भारतीय गुण्डाहरु प्रयोग गरेर चुनाव जित्थे उनी । तर हामी चुनावी मैदानमा आएपछि विस्तारै विस्तारै त्यो हराउँदै गइरहेको छ ।’

२०४६ सालदेखि नेपाली काँग्रेस लगातार सत्तामा रह्यो । त्यसमा उनी पटक–पटक मन्त्री पनि बने । गिरिजा प्रसाद कोइरालाका उनी विश्वास पात्र थिए । कतिपयले भन्छन्, ‘गिरिजाप्रसाद कोइरालाको आशिर्वादले अफताव त्यति शक्तिशाली भएका थिए । गिरिजाको निधन भएपछि उनको शक्ति विस्तारै विस्तारै कमजोर हुँदै गइरहेको छ । 

राजनीतिक शक्तिको दुरुपयोग गर्दै अफतावले जिल्लाका प्रहरी, प्रशासन आफ्नो हातमा लिएर जनतामाथि शासन गरिरहेको उनीमाथि आरोप लागिरहेको छ । उनले गरेका अपराधको फेहरिस्त प्रहरी कार्यालयमा छन् । तर आफ्नो राजनीतिक शक्तिको आडमा त्यसबाट बच्दै आइरहेका थिए । 

पहिलो सविधानसभा चुनावमा भएको घटनापछि उनी लुक्दै छुप्दै हिडिरहेका थिए । यद्यपी उनी प्रहरीको निगरानीमा थिए नै । आफ्नो राजनीतिक पहुँचको आधारमा पक्राउबाट जोगिदै आइरहेका थिए । तर एसपी भुपेन्द्र खत्री सरुवा भएर रौतहट पुगेपछि अफताब आलममाथि निगरानी कडा गर्दै प्रमाण संकलनमा लागेका थिए । 

उनले केही दिनपहिले समाजवादी पार्टीका एक नेतालाई भनेका थिए, ‘म माथि जस्तो सुकै दवाव आएपनि आलमलाई समात्छु, सबै प्रमाण फेला पारिसकेको छु, सर्वोच्च अदालतको एउटा पत्र आउन बाँकी छ । त्यो आउने वित्तिकै उहाँलाई समात्छु ।’

अन्ततः आइतबार बिहान उनी समातिए । सादा पोशाकका प्रहरीले उनलाई समातेको छ । अहिले उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । बाहिर उनका समर्थकहरुले प्रदर्शन गरिरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप