शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ

१३ जनालाई जिउँदै जलाएर मारेको आरोप
आइतबार, २६ असोज २०७६, ११ : २७
आइतबार, २६ असोज २०७६

रौतहट क्षेत्र नं २ बाट निर्वाचित काँग्रेस सांसद मोहम्मद आफताब आलम पक्राउ परेका छन् । 

आइतबार बिहान प्रहरी प्रधान कार्यालय काठमाडौँबाट सादा पोसाकमा खटिएको प्रहरीले टोलीले आलमलाई उनको निजी निवास राजपुर फरहदवा राजपुर गाउँबाट पक्राउ गरेको हो ।  

उनीमाथि पहिलो  संविधानसभाको निर्वाचनमा बुथ क्याप्चर गर्ने उद्देश्यले आफ्नै घरमा बम बनाउन लाग्दा विस्फोट भई घाइते भएकामध्ये १३ जनालाई नजिकैको इँटाभट्टामा जलाएर मारेको आरोप थियो । उनीमाथि प्रहरी पुग्दा सम्पूर्ण प्रमाण नष्ट गरेको आरोप थियो ।  मारिनेमा भारतीय र नेपाली नागरिक भएको बताइएको छ ।

रौतहटको राजपुर–४ खरहवामा भएको सो विस्फोटनमा घाइते भएपछि जलाइएका दुईजना नेपाली युवाहरु त्रिलोकप्रताप सिंहका बाबु र कौशी अख्तर मियाकी आमाले आलममाथि कार्वाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । तर, प्रहरीले आलमबिरुद्ध जाहेरी लिन नमानेपछि मृतकका अविभावकहरुले दोषीमाथिको जाहेरी निवेदन लिनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए । 

सो रिटमाथि सुनुवाई गर्दै तत्कालीन न्यायाधीशद्वय सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा दोषी आरोपित आलमसहित ५ जनालाई गिरफ्तार गरी कारवाही प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । अदालतको आदेश पछि पनि आलमलाई प्रहरीले पक्राउ गर्न सकेको थिएन । 

आलम काँग्रेसका पूर्व जिल्ला सभापति र वनमन्त्री पनि हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप