बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

इथियोपियाका ‘मण्डेला’

आइतबार, २६ असोज २०७६, ०८ : ५१
आइतबार, २६ असोज २०७६

बीबीसी । सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथियोपियाका प्रधानमन्त्री अबी अहमदलाई दिने घोषणा गरिएको छ ।

अन्तराष्ट्रिय शान्ति र सहयोगमा अहमदले गरेका प्रयास र खास गरेर छिमेकी शत्रु राष्ट्र इरिट्रियासँग शान्ति स्थापना गर्नको लागि उनले गरेका कामका लागि नोबेल पुरस्कार दिने निर्णय गरिएको हो ।

सन् २०१८ मा प्रधानमन्त्री बनेपछि अबी अहमदले इथियोपियामा ठूलो मात्रामा उदारीकरण ल्याए । त्यस्तै अहमदले प्रधानमन्त्री बनेपछि हजारौँको सङ्ख्यामा विपक्षी कार्यकर्ताहरुलाई जेलमुक्त गराए । देशमा बस्न नसकेर निर्वासित भएकाहरुलाई पनि उनले देश फर्किने स्वीकृति दिए ।

यी सम्पूर्ण कामका बावजुद अहमदलाई नोबेल पुरस्कारको लागि चुनिनुको मुख्य कारण छिमेकी देश इरिट्रियासँग दुई दशकभन्दा लामो समयदेखि चलिरहेको संघर्षलाई अन्त्य गरेर शान्ति स्थापित गरेकोमा दिइएको हो ।

इथियोपियाले अघिल्लो वर्ष इरिट्रियासँग शान्ति सम्झौता गरेको थियो । योसँगै सन् १९९८–२०००मा सुरु भएको सैन्य गतिरोध २० वर्षपछि समाप्त भएको छ ।

त्यस्तै सन् २०१८ सेप्टेम्बरमा अबी अहमदले इरिट्रिया र जिबूटीबीच कयैन वर्षदेखि चलिरहेको राजनीतिक शत्रुता अन्त्य गरेर कूटनीतिक सम्बन्धलाई सामान्य बनाउन पनि सहयोग भयो ।

यसको अतिरिक्त अबीले केन्या र सोमालियामा समुन्द्री क्षेत्रमा चलिरहेको विवादलाई अन्त्य गर्न पनि मध्यस्थता गरे ।

नोबेल शान्ति पुरस्कार पाउने १०० औँ व्यक्ति

नोबेल शान्ति पुरस्कार पाउने अबी अहमद १०० औँ व्यक्ति हुनेछन् । ओस्लोमा डिसेम्बर १० को दिन उनलाई ९० लाख डलरसहित पदावी प्रदान गरिनेछ ।

सन् २०१९ को नोबेल पुरस्कारका लागि ३०१ जनालाई मनोनयन गरिएका थिए । तीमध्य २२३ मानिसको नाम थियो भने ७८ संस्थाहरु सामेल थिए ।

यो पटक यो पुरस्कार कसलाई दिइनेछ भनेर कयैन अड्कलबाजी चलिरहेको थियो । तर अन्तिम सूचिमा कसलाई लिइएको थियो भन्ने कुराको पनि खुलाइदैन । नोबेल फाउण्डेशनको नियम अनुसार पुरस्कारका लागि समितिले छान्ने अन्तिम सूचि ५० वर्षसम्म प्रकाशित गरिँदैन ।

इथियोपियाका ‘मण्डेला’

४३ वर्षिया अबी अहमदलाई इथियोपियाका ‘नेल्सन मण्डेला’ पनि भनिन्छ ।

नोबेल समितिले अबी अहमदको नाम घोषणा गर्दै भनेको छ, ‘अबीलाई छिमेकी इरिट्रियासँग सीमा विवादलाई अन्त्य गर्नको लागि उनको निर्णायक पहलको लागि सम्मानित गरिएको छ ।’

अहमदको छनौटबारेमा थप भनिएको छ, ‘शान्ति केबल एउटै पक्षको प्रयासले स्थापित हुँदैन । प्रधानमन्त्री अबीले आफ्नो हात बढाउँदा राष्ट्रपति अफवर्कीले यसलाई दुवै हातले समाते । यसरी दुई देशबीच शान्ति प्रक्रियाको शुरुवात भयो । नर्वेको नोबेल समिति यो विश्वास गर्छ कि यो शान्ति सम्झौतबाट इथियोपिया र इरिट्रियाको सम्पूर्ण जनसंख्याको जीवनमा सकारात्मक बदलाव आउनेछ ।’

अबीको कार्यालयले यो पुरस्कार एकता, सहयोग र सह–अस्तित्वको आदर्शको प्रमाण भएको र प्रधानमन्त्रीले यसमा लगातार सफलता हासिल गरिरहेको बताएका छन् ।

को हुन् अबी अहदम ?

अबी अहमदको जन्म दक्षिण इथियोपियाको जिमा जोनमा सन् १९७६ मा भएको हो । उनका पिता ओरोमो मुस्लिम थिए र आमा अम्हारा इसाई थिइन् ।

उनले कयैन विषयमा डिग्री हासिल गरेका छन् । यसमा अदिस अबाबा विश्वविद्यालयमा शान्ति एवम सुरक्षामा पिएचडी गरेका छन् । त्यस अतिरिक्त उनले लण्डनको ग्रिनविच विश्वविद्यालयबाट ट्रान्सफरमेशनल लीडरशिपमा पनि मास्टर डिग्री हासिल गरे ।

किशोरावस्तामा उनी दग्र्यू शासनविरुद्ध सशस्त्र संघर्षमा सामेल भए र अन्तिममा गुप्तचर र सञ्चार सेवाहरुमा ध्यान केन्द्रीत गर्दै लेफ्टिनेन्ट कर्नेलको पदसम्म पुगे ।

सन् १९९५ मा उनले रुवाण्डामा संयुक्त राष्ट्रका शान्तिदूतका रुपमा काम गरे । इरिट्रियासँग सन् १९९८–२००० मा सीमा विवादको दौरान उनले इरिट्रियाको सुरक्षा फौजको क्षेत्रमा आफ्नो देशको जासूसी टिमको नेतृत्व गरेका थिए ।

सन् २०१० मा अबी राजनीतिमा प्रवेश गरे र ओरोमो पिपल्स डेमाक्रेटिक अर्गनाइजेशनको सदस्य बने र संसद सदस्य चुनिए ।

संसदमा उनका कार्यकालमा मुसलमान र इसाईबीच संघर्ष सुरु भयो । उनले यो समस्याको समाधानको लागि ‘शान्तिको लागि धार्मिक मञ्च’ नामक फोरमको स्थापना गरेका थिए ।

हाल उनी अफ्रिका महादेशका सरकार प्रमुखमध्य सबैभन्दा कान्छा नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप